‘नेतालाई दिएर भोट, हिँडे युवा कमाउन नोट’

सिबी अधिकारी/काठमाडौँ, ९ मङ्सिर । पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८)ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गरुङ्गो बनाउँदै ।

यही मङ्सिर ४ मा भएको आम निर्वाचनको सरगर्मीमा रमाउँदै आफ्नो कर्मथलोतर्फ उहाँ लाग्नु भएको हो । कोइरालासँगै खाडी मुलुक जाने अन्य युवा श्रमिकहरु पनि त्यसरी नै हात हल्लाउँदै विमानस्थलभित्र पसे । सबैका आँखा रसिला थिए, व्यथा एउटै थियो । परिवारसँगै बसेर रोजगारी गर्ने चाहना हुँदाहुँदै केही उपाय नदेखेपछि घर व्यवहार चलाउन उनीहरु विदेशी भूमिमा पसिना बगाउन हिँडेका थिए ।

श्रमिकका रुपमा मलेसियामा आठ वर्ष बिताएपछि केही महिनाअघि कोइराला नेपाल फर्कंदा मुलुकभर चुनावको माहोल गर्मराउँदै थियो । उहाँको गाउँ सङ्खुवासभाको बाना पनि राजनीतिक दलका चर्का चुनावी नाराले गुल्जार बन्दै थियो । केही समयपछि उहाँ मलेसिया फर्कने समय आयो ।

गाउँमा चुनाव पनि आयो, आफन्त, छिमेकीहरु कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने छलफलमा जुट्दै गर्दा उहाँलाई भने खल्लो अनुभव भयो । कारण उहाँ मतदाता हुनुहुन्थेन । त्यसैले भोट हाल्न पाउनु भएन । लामो समय परदेश बसेकाले उहाँले मतदाताको सूचीमा नाम लेखाउन पाउनु भएन । विदेशबाटै नाम लेखाउने व्यवस्था थिएन । “चुनावका दिन मत हाल्न नपाउँदा मन खिन्न त भयो नि”, उहाँले भन्नुभयो, “मत हाल्न नपाए पनि केही छैन, तर राम्रो उम्मेदवारले जीत हासिल गर्न सकोस् भन्ने उहाँको चाहना थियो ।”

बुधबार दिउँसो एयर अरेबियाको विमानबाट मलेसिया जाने तरखरमा कोइराला लाग्दै गर्र्दा मुलुकभर जोडतोडका साथ मतगणना चलिरहेको छ । मतपेटिकाभित्र देशभरबाट सङ्कलित मतपत्रमा उहाँ र उहाँ जस्तै कैयन युवाले दिएको मत भने परेको थिएन ।

मतको तथ्याङ्कमा उहाँहरुको हिस्सा नभए पनि बुधबार श्रमका लागि विदेशिने करिब १५ सयको सूचीमा उहाँहरुको नाम सरकारले सुरक्षित राखेको छ । किनभने सरकारले त्यही सूची हेरेर अर्को महिना रेमिट्यान्स बढ्ला कि घट्ला भन्ने प्रक्षेपण गर्नेछ र सोहीअनुसार नीति बनाउने छ ।

चुनावका दिन भोट हाल्न नपाउँदा मन खिन्न भए पनि मतगणना हुँदै गर्दा देखिएका सुरुआती नतिजाले भने उहाँलाई खुसी बनाएको छ । “पुराना नेताले केही गरेनन्, यो चुनावबाट नयाँ नेता आइदिएहुन्थ्यो भन्ने लागेको थियो, त्यस्तै हुन्छ कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “नयाँ नेताले यहीँ बस्ने र काम गर्ने वातावरण बनाइदिए उताभन्दा आधा तलब भए पनि आफ्नै देशमा काम गर्न पाए पुग्थ्यो ।”

कोइरालासँगै श्रम गर्न मलेसिया जाँदै गर्नुभएका जनकपुरका दिलचन मुखियालाई पनि चुनावमा मतदान गरेर खाडीमा श्रमदान गर्न जानपुर्दा निको लागेको छैन । “हामी त भोट न हाल्ने हो, नेतालाई भोट चाहिएको छ र हामीलाई नोट”, मुखियाले भन्नुभयो, “हामीसँग भएको भोट दियौँ, अब नोट कमाउन मलेसिया जाँदैछु ।” उहाँको भाइ स्वास्थ्य सहायक विषय पढ्दैछन् । मलेसियामा कमाएको केही पैसा उनको पढाइ खर्च र बाँकी परिवारलाई पठाइदिने उहाँले सुनाउनुभयो ।

पाँचथर निक्लाजुङ–६ का निलम राई पनि बुधबार विमानस्थलभित्र पस्ने श्रमिकहरुको लाइनमा भेटिनुभयो । उहाँ श्रम भिसामा दोस्रो पटक दक्षिण कोरिया जाँदै हुनुहुन्थ्यो । कोरियाको कमाइले सन्तुष्ट मिले पनि दुःख सम्झँदा थोरै तलब भए पनि देशमै बसौँ भन्ने लाग्छ उहाँलाई । “कोरियामा त दुःख कति छ भनेर कुरा नगरौँ होला, त्यही तलब चार लाखसम्म हुन्छ भनेर मात्रै चित्त बुझाउने हो”, उहाँले भन्नुभयो ।

राई चुनावपछि बन्ने नयाँ सरकारले आफू जस्ता युवाका लागि स्वदेशमै जागिर खाने नीति ल्याइदिए हुन्थ्यो भन्ने आशा राख्नुहुन्छ । “मुलुक रेमिट्यान्सले धानेको छ, रेमट्यिान्स आएन भने पेट्रोलदेखि खाद्यान्न किन्ने पैसा पनि हुन्न, यही रेमिट्यान्सले गाडीदेखि सबै किन्नु परेको छ,” राईले भन्नुभयो, “अबको सरकारले सस्तो ब्याजदरमा ऋण दिएर उद्यमशीलताका लागि काम गरे हुन्थ्यो, जागिर खाने वातावरण बनाइदिए हामी जस्ता युवा विदेशिन पर्दैनथ्यो होला ।”

राईजस्तै दोस्रो पटक कोरिया जान लाग्नुभएका बाग्लुङ भिमपोखराका विष्णुप्रसाद शर्मा (३१)ले आफू रहरले नभई बाध्यताले विदेश जानु परेको बताउनुभयो । “गाउँमा चुनावको माहोल बढ्दै थियो, तर मङ्सिर १ मा काठमाडौँ आउनु परेकाले मतदान गर्न पाइन”, उहाँले भन्नुभयो, “मतदान गर्न पाएको भए रमाइलो हुन्थ्यो तर केही छैन कोरियामा श्रमदान गरेर भए पनि देशका लागि सहयोग पु¥याउने छु ।”

पाँचथरका राईको जस्तै सोच रामेछापका सूर्यबहादुर कार्कीको पनि छ । चार वर्ष मलेसियामा कमाएको १० लाख रुपैयाँ खर्चेर गोकर्णेश्वरमा सुरु गरेको गोलभेडा खेतीमा लगानी डुबेपछि उहाँ बुधबार फेरि मलेसिया जान लाग्नु भएको थियो । “अघिल्लो वर्ष कोरोना महामारीले केही गर्न सकिएन भने गत वर्ष समयमा बिउ पाइएन”, उहाँले भन्नुभयो, “समयमै काम हुन नसक्दा उत्पादन कम भयो, त्यही उत्पादनले पनि बजारमा राम्रो भाउ पाएन, अनि लगानी डुब्यो ।”

बुधबार एयर अरेबियाको विमानमार्फत् मलेसिया जान लागेका २७ जनाको समूहका कार्की कृषिमा राम्रो गर्न सकिने भए पनि सो अनुसारको सरकारले वातावरण बनाउन नसकेको बताउनुहुन्छ । “अर्बौं रकमको डलर खर्चेर तरकारी खानु परेको छ, त्यही पैसा कमाउन हामी विदेश हिँडेका छौँ तर स्वदेशी उत्पादनलाई प्रोत्साहन नै गरेको देखिन्न”, उहाँले भन्नुभयो, “सकेसम्म विदेश नजाऔँ यतै केही गरौँ भनेर व्यावसायिकरुपमा गोडभेंडा खेती सुरु गरेँ तर काम गर्ने उपयुक्त वातावरण नहुँदा बीचमै व्यवसाय छाडेर विदेश पलायन हुनुप¥यो ।”

परिस्थितिले खाडी जाने श्रमिकका पीडा बुझ्न खोज्ने नेताहरु नभएको कञ्चनपुरका नरेश बोहोराको बुझाइ छ । मलेसिया जान अघिल्लो दिन मात्रै काठमाडौँ आउनुभएका उहाँले भन्नुभयो, “हाम्रो कुरा राजनीति गर्नेले बुझ्दैनन्, बुझ्ने भए यसरी विदेशिनु पर्ने बाध्यता नै हुँदैन होला ।” बोहोरा चुनावलाई लिएर त्यति उत्साही पनि हुनुहुन्न । “चुनाव त आउँछ जान्छ, नेताहरु फेरिन्छन्, सरकार बनाउनेहरु फेरिन्छन्,” उहाँले भन्नुभयो, “तर हाम्रा दुःख फेरिन्नन्, विदेश जानुपर्ने अवस्था बदलिन्न ।”

चुनावपछि मतगणना चलिरहँदा राजनीतिक दलहरुबीच कसले सरकार बनाउने भन्ने गृहकार्य सुरु भइसकेको छ । तर विमानस्थलमा झोला बोकी पैसा कमाउन विदेशिने श्रमिकहरुका बारेमा कमैले ध्यान दिएको पाइन्छ । चुनावका दिन मतदान गरेर श्रमदान गर्न विदेशिने युवाहरु अबको सरकारले आफ्नाबारेमा पनि ध्यान देओस् र स्वदेशमै बस्ने वातावरण बनाइदिओस् भन्ने चाहेका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।