तीन जिल्ला बाहेकको मत परिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

काठमाडौँ, ११ मङ्सिर । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।

त्यस्तै नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात÷सात, जनता समाजवादी पार्टी नेपालले छ स्थानमा जित हासित गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् ।

बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मतगणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन । बाजुरा, दोलखा र स्याङ्जाबाहेक अरु सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आज साँझ अथवा भोलिसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राससलाई जानकारी दिनुभयो ।

हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मतपरिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने उहाँले बताउनुभयो । बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मतपरिणाम आइसक्ने आयोगको दाबी छ । अन्तिम मतपरिणाम प्राप्त भएपछि त्यसको सम्पूर्ण विवरण आयोगले राष्ट्रपतिलाई बुझाउने कानुनी प्रावधान छ ।

संविधानमा के छ, सरकार बन्ने प्रावधान ?

नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ । प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको हालसम्मको मतपरिणाम हेर्दा कुनै पनि दलको बहुमत नआउने स्पष्ट छ । प्रतिनिधिसभाको कूल दुई सय ७५ सिटमध्ये बहुमत ल्याउन एक सय ३८ सिट ल्याउनुपर्छ ।

सोही धाराको उपधारा (२) मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

त्यस्तै उपधारा (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

उपधारा (४) मा उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । उपधारा (५)मा उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

उपधारा (६)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्नेछ । त्यस्तै उपाधारा (७)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।

उपधारा (८)मा संविधानबमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।