पत्रकार गजेन्द्र राईको रिहाइको माग
उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुरले पत्रकार गजेन्द्र राईको रिहाइको माग गरेको छ ।
महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राईको रिहाईको माग गरेको हो । रेडियो नेपालका जिल्ला संवाददाता एवं निगरानी पोष्ट अनलाईनका सञ्चालक राईलाई प्रहरीले समाचार लेखेकै भरमा पक्राउ गरेको महासंघका सचिव विश्वराज तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
‘समाचार लेखेको कारण पत्रकार राईलाई साइबर क्राइम मुद्दा दर्ता भएको छ । यो आफैँमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कार्य हो ।
पत्रकार राई माथिको मुद्दा नितान्त समाचार लेखेकै आधारमा भएकोले राज्यले प्रेस जगतलाई हेर्न स्थापना गरेको अर्धन्यायिक निकाय प्रेस काउन्सिलबाट कानूनी उपचार खोजी निष्कर्षमा पुर्याउन समेत जोडदार माग गर्दछौँ’ विज्ञप्तिमा उल्लेख छ।
’पत्रकार राईलाई भिडियो रिपोर्ट प्रकाशन र समाचार लेखेकै भरमा बिना पक्राउपूर्जी पक्राउ गरिएको भन्दै आपत्ति जनाइएको छ । राईलाई प्रहरीले मंसिर १० गते उदयपुर गाईघाट बजारको बी पी चोकबाट पक्राउ गरेको हो ।
त्यस्तै किरात राई पत्रकार संघ काठमाण्डौ र किरात राई पत्रकार संघ उदयपुरले समेत विज्ञप्ति मार्फत उहाँको रिहाईको माग गरेको छ ।





