उदयपुर–१ मतगणना पुनः सुरु
उदयपुर, १३ मङ्सिर । उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ । सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो ।
गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा भेटिएको र केहीमा तथ्याङकानुसारको मतपत्रभन्दा बढी पाइएपछि मतगणनामा विवाद उत्पन्न भएको थियो ।
नेकपा (एमाले)सहितका केही स्वतन्त्रका उम्मेदवारले पुनः मतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध हुन पुगेको थियो ।(रासस)
पाल्पा उद्योग वाणिज्य सङ्घमा भट्टराई
रामपुर (पाल्पा), १३ मङ्सिर (रासस)ःपाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । सोमबार तानसेनमा भएको मतदानमा उहाँले छ सय ४१ मत हासिल गर्नुभएको थियो ।
सङ्घमा कुल एक हजार एक सय ३५ मतादाता रहेका थिए । सङ्घको उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य एक सय सात मतसहित निर्वाचित हुनुभएको छ ।
सङ्घको वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै क्षेत्र नं ११ को दुई सदस्यका लागि भएको निर्वाचनमा तीन जना चुनावी मैदानमा रहेकामा कमल पाण्डे र लक्ष्मण बस्याल निर्वाचित हुनुभएको छ ।
कुल २५ पदका लागि हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र क्षेत्र नं ११ को दुई सदस्यका लागि मात्र निर्वाचन भएको थियो । अन्य पदमा भने समिति निर्विरोध निर्वाचित भइसकेका छन् ।
एशोेसिएट सदस्यमा विष्णुप्रसाद पाण्डे, क्षेत्र नं २ को सदस्यमा सञ्जयकुमार श्रेष्ठ, क्षेत्र नं ३ को एक सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र नं ४ को दुई पदमा नारायण पछाईँ, मञ्जु रेग्मी, क्षेत्र नं ५ को सदस्य दुई सिटमा विनायक महर्जन, किशोरदर्शन बज्राचार्य, क्षेत्र नं ६ मा दुुई सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र नं ७ को दुई सिटमा सविन मल्ल, महेश शर्मा आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै क्षेत्र नं ८ मा दुई सिटका लागि रञ्जनाकुमारी थापा अर्याल, प्रज्वलराज शाक्य, क्षेत्र नं ९ को एक सिटमा समिरमान सिंह, क्षेत्र नं १० को दुुई सिटमा विदुर घिमिरे, सुरेश गोदार, क्षेत्र नं १२ को दुई सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र नं १३ को एक सिटमा समता मियाँ निर्विरोध हुनुभएको छ ।


