स्थान अभाव झेल्दै सार्वजनिक पुस्तकालय

सन्तोष थारू/काठमाडौँ, १५ मङ्सिर । मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय जानुहुन्छ । इतिहासका कुरा थाहा पाउन उहाँ त्यहाँका पत्रपत्रिका अध्ययन गर्नुहुन्छ ।

“यहाँ निःशुल्क पढ्न पाइन्छ । समय मिलेमा म त्यहाँ पुगिहाल्छु”, उहाँ भन्नहुन्छ, फुर्सद निकालेर त्यहाँ पढ्न पाउँदा मलाई खुसी लाग्छ । वरपर खाजा खाने राम्रो ठाउँ नभएकाले आफैँ खाजा लिएर भृकुटीमण्डपस्थित पुस्तकालयमा प्रायः आइरहन्छु ।”

बानेश्वरका भोजराज कार्की पनि विद्यालय बिदा भएका दिन सधैँ सो पुस्तकालयमा जाने गर्नुहुन्छ । “बानेश्वरदेखि धेरै टाढा पनि छैन, त्यसैले स्कुल भएका दिन म यहीँ जाने गर्छु । छुट्टीका दिन धेरै विद्यार्थी आउने गरेकाले ठाउँ पाउनै मुस्किल हुन्छ”, बाह्र कक्षा अध्ययनरत कार्की भन्नुहुन्छ, “घरमा पढ्न गाह्रो हुन्छ, टिभी हेर्न मन लाग्छ, मोबाइलमा गेम खेल्न मन लाग्छ, तर यहाँ टिभी पनि छैन, साथीहरूलाई देखेर पनि पढ्न मन लाग्छ ।”

सबैका हातमा मोबाइल र ल्यापटप कम्प्युटर नाचिरहेका बेला सो पुस्तकालयमा भने परियार र कार्की जस्तै अध्ययनार्थीको भिड देखिन्छ । पुस्तक पढ्ने शान्त वातावरण खोज्दै पाठक उक्त पुस्तकालय पुग्ने क्रम बढ्दो छ । लोकसेवा आयोगका परीक्षा तयारी गर्नेदेखि कलेजका विद्यार्थीसहित दैनिक करिब ५० जना उक्त पुस्तकालय पुग्छन् ।

पुस्तकालयमा अपाङ्गता भएका, बालबालिकालगायत हरेक उमेर समूहका मानिस किताब पढिरहेका देखिन्छन् । आफूले खोजेका किताब÷पत्रपत्रिका निःशुल्क पढ्न पाउने भएपछि पुस्तकालयमा मानिसहरूको सधैँ भरिभराउ हुन्छ । मोबाइलमा फिल्म हेरेर र गेम खेलेर बिताउने पुस्ता पनि पुस्तकालयमा पुगेर ज्ञान बटुलिरहेको हुन्छ । पुस्तकालयमा इतिहास, साहित्य, राजनीतिकका साथै अनेक विषयका नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक राखिएको छ ।

विभिन्न देशका राजदूतले पुस्तकालय अवलोकन गरेर सहयोग पनि दिने गरेका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता सुवास नेम्वाङले पनि पुस्तकालय अवलोकन गर्दै सहयोग गर्नुभएको थियो । पुस्तकालयले भने अझैसम्म आफ्ना लागि स्थायी घर भेटेको छैन ।

चारैतिर बजार क्षेत्र भए पनि पुस्तकालयलाई असर गरेको छैन । एकातिर किनमेलका लागि आउने मानिस हुन्छन् भने अर्कातिर किताब पढ्नैका लागि खाजा बोकेर आउने पनि छन् । कोलाहलयुक्त वातावरण नभएकाले शान्तसँग बसेर पढ्नैका लागि पुस्तकालय मानिसको आकर्षणको केन्द्र बनेको छ ।

राम्रो सुविधा भनेको पुस्तकालयको सदस्य बनिसकेपछि घरमै लगेर पनि पुस्तक पढ्न पाउनु पनि हो । यहाँ बाहिरबाट पुस्तक बोकेरसमेत पढ्न आउनेहरू छन् । लोकसेवा आयोगको परीक्षाको तयारी गर्दै गर्नुभएका ब्रज पटेल भन्नुहुन्छ, “म घरबाट किताब लिएर आउँछु, दिनभरी यहाँ मज्जाले पढ्न पाइन्छ । कोठामा अरू साथीहरू पनि बस्छन्, घरमा पढ्ने वातावरण हुँदैन । त्यसैले बिहान खाना खाएर आउँछु, दिनभरी किताब पढेर साँझ मात्रै कोठा फर्किन्छु ।”

स्थापनाको कथा
विसं २०६० मा वर्तमान परराष्ट्रमन्त्री डा नारायण खड्काबाट रु १० लाख योगदान भई स्थापित पुस्तकालयले अहिले सरकारबाट वार्षिक रु ५० लाख अनुदान पाउने गरेको छ । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापितले राष्ट्रियसभा गृहमा एउटा कोठा उपलब्ध गराएर सो पुस्तकालय सुरु गराउनु भएकामा पछि भृकुटीमण्डपमा सारी विस्तार गरिएको हो ।

ब्रिटिस स्कुल र ब्रिटिस काउन्सिलले आठ हजारभन्दा बढी पुस्तक उपलब्ध गराएपछि यसले अझै धेरै पाठकलाई तान्न सक्यो । पुस्तक बढेसँगै पुस्तकालयले ज्ञानको विस्तार पनि गर्न पायो । त्यस्तै एसिया फाउन्डेसनले पनि सुरुआती अवस्थादेखि नै किताब उपलब्ध गराई सहयोग गरेको थियो ।

प्रविधिको विकाससँगै हाल पुस्तकालयलाई कम्युटराइज्ड पनि गरिएको छ । विसं २०६४ मा पुस्तकालयको सदस्यता दिने निर्णय भएको थियो । अहिले रु एक हजार धरौटी राखेर सदस्य बन्ने नियम बनाइएको छ । हाल दुई हजार दुई सय जनाले यसको सदस्यता लिएका छन् । वार्षिक रु ३०० शुल्क तिरेपछि घरमा लगेर किताब पढ्न पाइने सुविधाले धेरैलाई आकर्षित पनि गरेको छ । सो अभियान सुरु गरिएपछि सदस्यता लिनेहरू बढ्दै गएको पुस्तकालयका व्यस्थापक जुजुभाइ डङ्गोल बताउनुहुन्छ ।

साठी जना साधारण सदस्य रहेको उक्त पुस्तकालयमा दुई–दुई वर्षमा कार्यसमितिको चुनाव गरेर नेतृत्व छनोट गरिन्छ । हालको आठ सदस्यीय कार्यकारी समितिका अध्यक्षमा मन्त्री डा खड्का, उपाध्यक्षमा पूर्वराज्यमन्त्री याङ्किला शेर्पा, महासचिवमा मोहनकुमार इङ्नाम र कोषाध्यक्षमा महेशकुमार अग्रवाल रहनुभएको छ ।

चुनौती
दैनिक पाठकको भिड लाग्न थालेपछि अहिले यहाँ ठाउँ अभाव भई नयाँ पाठकलाई राख्न समस्या भएको व्यवस्थापक डङ्गोल गुनासो गर्नुहुन्छ । सुरुमा भवनको भाडामा ७५ प्रतिशत छुट भएकामा अहिले १०० प्रतिशत भाडा तिर्दा आर्थिक चुनौती थपिएको छ ।

यहाँ शनिबार सबैभन्दा धेरै भिड हुन्छ । आइतबार भने बन्द हुन्छ । व्यवस्थापक डङ्गोल भन्नुहुन्छ, “हामी विद्यार्थीलाई चिसो मौसमा तातोपानीसमेत उपलब्ध गराउँछौँ । सकेसम्म धेरै पढ्न सहज वातावरण बनाएका छौँ । चिसो मौसममा मिलेसम्म चिया पनि दिन्छौँ, तातोपानी छुटाउँदैनौँ, “सकेसम्म धेरै पढ्ने वातावरण मिलाएका छौँ तर हामीसँग जनशक्तिको अभावले समस्या भएको छ ।”

“कोरोनाको महामारीभन्दा अगाडि हरेक महिनाको १५ गते यहाँ डा सनतकुमार बस्ती सम्मिलित ‘सिर्जना संवाद’ कार्यक्रम हुने गरेको थियो तर अहिले स्थान अभावका कारण त्यसलाई निरन्तरता दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।