आंखामा झलझली आइरहन्छ (कथा)
वाल्यकाल एउटा कालखण्ड नै हो हरेक व्यक्तिको लागि । जो कोहिका आ- आफ्नै स्मरण र इतिहासहरु हुन्छन् आफ्नै परिवेशका ।आज एउटा घटनाक्रमले फेरि दिमाख कोट्यायो र लेख्न विवश पार्यो । एउटा यथार्थपरक घटना समझिदै कपी रङ्गाउन मन जाग्यो र सन्जालमा राख्न इच्छा भयो ।जब म प्राथमिक विद्यालय शिक्षा उमेर समुहमा हुँदा विद्यालयको भद्र विद्यार्थी , घरको जेठो र प्यारो नाति , मामलीको ज्ञानी भान्जो र फुपुहरुको आखांको नानी थिए । घरमा दुहुना हुंदा प्राय सब्जी खान इच्छा गरिन्नथ्यो । खाना संग दूध , महि , घ्यु यस्तै यस्तै भए छिटोमिठो लाग्थ्यो । दुहुना थाकेको बेलाचाँहि खाना खानेबेला मज्जै नआउने । घरमा दुहुना गाई बन्दोबस्त गर्न उद्दत हुन्थे घरकाहरु नातीनातिनाले मन पराउछन् भनेर । हजुरआमा पनि दुई घुट्की महि भए दुई गाँस बढि रुच्छ भन्नुहुन्थ्यो ।
मलाई अहिले जस्तो लाग्छ त्यो दिन जो कठ्याङ्रिदो समय यानिकी जाडो महिना । हाम्रो घरको गाई साँझविहान भएको थियो । आज हो कि भोलि भन्ने थियो । गोठ घरभन्दा लामो र फराकिलो थियो । त्यहि गोठको वरिपरि गाई, गोरु , बाख्राको खोर र कुखुराको खोर चटक्क मिलाएर बनाइएको थियो । म वैनी र भाईलाई प्राय सधै विहान अथवा बेलुका केही घाँसका मुठा अनिवार्य गरिएको थियो । त्यसपछि झुम्राको बल खेल्ने , डन्डीवियो , खोप्पी , चुङ्गी र लुकामारी खेलेर समय बित्थ्यो । राती होमवर्क सक्नुपर्ने र विहान स्कुलले सोध्छु भनिएको कुराहरु पढेर कन्ठ पार्ने । दिनचर्या यस्तै थिए । विहान सखारै आमाले खाना तयार गरेर मेला र अन्य काममा लाग्नुहुन्थ्यो । हामी मुगाबाट हिडेर १ घन्टा लाग्ने पाख्रिबास जान्थ्यौ । आउदा जाँदा ज्यान सिथिल हुने । दिउँसो स्कुलमा खेल नखेलेको दिन प्राय हुदैनथ्यो । बेलुका घरमा पनि वरिपरिका भेला भएर आखाँ देख्नेबेलासम्म खेलिन्थ्यो ।
गाई सुत्केरी हुने भएपछि हामी राती गोठमै सुत्थ्यौ । राती राती उठेर हेरिरहनुपर्थ्यो ।गोठमा खोल्मो थियो ; खोल्मामा खोस्टा र पराल हुन्थियो । बुवाले विदेशवाट ल्याउनुभएका ताता ब्लान्केट ओढेर सुतिन्थ्यो । आमा छिनछिनमा उठेर हेरेको चाल पाइन्थ्यो तर निन्द्राले आखाँ खोल्नै मन लाग्दैनथ्यो फेरि गाईले सुरसार गरेको भएत आमाले उठाउनुहुन्थ्यो होला त भन्दै मस्त सुतिन्थ्यो आमा जतिबेलै बोलाए पनि पहिलो चोटिमै : हँ भनिहाल्नुहुन्थ्यो यस्तो लाग्थ्यो सधै हामी निदाएको देखेर आमा त्यसै निन्द्रा पुर्याउनुहुन्थ्यो ।
सदा झै एक दिन म साझमा तल्लो घरमा बास बस्दै जाने भए । आमाले नजा भन्दाभन्दै म जबर्जस्त हिडे । होमवर्क आएन सोध्नपर्ने छ बाहना भएपछि जान पाइयो । संयोग पनि कस्तो त्यहि दिन गाई ब्याउनुपर्ने । हामी त एकछिन पढ्यौ, गफ गर्यौ र वल्लो घरको पालीमा सुत्यौ भन्डारी दादाहरुसँग । उता गाइले बाच्छी पाएछ । आमाले छेउमा आगो बालेर खोले पकाएर दिनुभएछ । परालको तातो ओछ्यान बनाएर बाच्छीलाई आराम गर्न मिल्ने चेपाउरो ठाँउ बनाउनुभएछ ।
भाइ वैनी पनि उठेछन् । सबैलाई घरमा नयाँ सन्तान आए भन्दा बढि खुशी मिल्यो क्यार सबै आ – आफ्नै ध्यानमा ।
कसोकसो खोले पकाएर ननिभाएको आगो सल्केर नजिकैको खोस्टा र परालमा टिपिसकेछ । आमाहरुले देखेपछि हतार हतार निभाउने प्रयास गर्नुभएछ तर आगो पुरै सल्किएछ । छानो खरको थियो माथि टिपिहालेछ । भाइवैनी सानै थिए र पनि काल्लिएर कराउन थालेपछि मुलघरबाट उठेर आउनुभएछ । आगो निक्कै सल्किसकेको थियो रे । सबैको सातो गयो होला अब बर्वाद हुनेभयो भन्दै आतिएछन् । आमा र काकीहरु गोठका वस्तु बाख्रा फुकाएर खेद्न लागेछन् । कोहि परतिर डाडाबाट मान्छे बोलाउन चिच्याउन थालेछन् । समय रातको १,२ बजेको बेला यो कस्तो विडम्बनापूर्ण आइलाग्यो । नभन्दै राती सुनसानमा ठुलो आवाजमा चिच्याएपछि डाडोखोलो हल्लिदोरहेछ भन्ने कुरा मैले त्यतिबेलै थाहा पाए । एकैछिनमा गाउभरिबाट मान्छे दौडेर आएछन । म यतिबेला सम्म निदाइरहेकै थिए । अचानक हजुरआमाले मेरो नाम लिएर कराएको सुने । पालीको ढोकामा आएर आत्तिदै कराइरहनुभएको रहेछ ।
आ’गो लाग्यो उठ ……तिमीहरु उठ….. आ’गो लागेछ घरमा । आ’गो लागेछ घरमा म फुत्तै उठेर ढोका खोले पालीबाट भर्याङ प्रयोग नगरि तल हाम फालेर माथि हेर्दा हाम्रो घरमा आगाको मुस्लो यति सल्किरहेको थियो कि कतै विराट युद्दमा बमवारुदले सबै वस्ती भग्नाबशेसमा परिणत बनिसक्यो ।त्यो देखेर म यति दौडिए लाग्छ १२ मिनेटको बाटो पु्गन १ मिनेट पनि लागेन । सम्झन्छु आजसम्म त्यसरी दौडिएको छैन ।बाटोमा …. हे भगवान… ? यो के भयो ! भगवानको पुकार गर्दै कुद्नुकुदियो । घर के भयो होला घरकालाई के भयो होला यो सोचेर सोचिसक्नु थिएन । यद्यपि म घर पुगे । पुग्दा सबैजना लगभग आ’गोको मुस्लो निभाउन सफल भइसक्नुभएको रहेछ । घरतलतिरको बारीको गर्हामा घरभित्रका सबै जिनिसहरु यत्रतत्र छरिएका थिए ।
पछि थाहा पाए घर बचाउन नसकिने भइयो भनेर केहिलाई सबै सामान निकाल्न भनिएको रहेछ । पारी कार्की गाउँ र राउत गाउँ देखि वरिपरिका सबै मान्छेहरु पौडेलनिवास वरिपरि भरिभराउ देखेर म अचम्ममा परे । जेठो छोरो भएर नि कहाँ हिड्दोरहेछ लखरलखर रातमा भनेहोला भन्ने मनमनै सोचे । घरको अलिकति छानो अङ्गार बनिसकेको देखे । बाँकी लाग्न नपाई निभाउनुभएछ । घर र गोठको छेउमा स्कुसको ठुलो झ्याङ थियो सबैजना भन्दैथिए धन्न यो स्कुसको झ्याङ नभएको भए सबै सकिने रहेछ । गोठ देखि घर ; आगनमा परालको ठुलो कुन्यु अनि मुलघर ।
आज नजान छोरा भन्दा भन्दै हिडेकोले आमाले मार्ने भइन आज भन्ने परिरह्यो । नौ नाडी गले । हातमा केही काम आएन । आमाले धन्न बाँचियो छोरा भन्दै आखाँभरि आशु पार्नुभएको देखेर म रुदैरुदै परतिर लागे र मेरो घर र परिवार बचाइदिएकोमा भगवानलाई धन्य छौ भगवान भन्दै धन्यवाद दिए ।जे होस् घरबारविहिन हुनुपरेन । नत्र हाम्रो कस्तो बिजोग हुन्थ्यो होला ।ती दुखित दिनहरुमा अभावले कुन रुप लिन्थ्यो होला सम्झदा पनि मुटु पिरो भएर आउछ ।झिसमिसे उज्योलो भयो । कुखुरा चाहि त्यहि खरानी भएछन । एक दुई ओटा बाख्रा निकाल्न सक्नुभएनछ । घरको भित्तो कालो पर्दाले छोपेको जस्तो थियो लाग्छ घरभित्र केहिनभए पनि धेरै थोक छ ।
आज म आ’गलागीका घटना र बीभत्स आ’गलागीबाट भोग्नुपरेका मान्छेहरुको दिनचर्याको भोगाइले उत्पन्न जो पीडाहरु देख्छु मलाई त्यहिँ आफ्नो वाल्यकालमा भोगेको घटना आजपनि आखाँमा झलझली आइदिन्छ ।
–ध्रुव पौडेल”एलेक्स”,पाख्रिबास-४,धनकुटा


