रौतहटका नयाँ सिडिओ पौडेलले सम्हाले जिम्मेवारी, शान्ति–सुरक्षा र सुशासन मुख्य चुनौती
सञ्जय मिश्रा/रौतहट, २५ भदौ ।
रौतहटका नयाँ सिडिओ लक्ष्मीप्रसाद पौडेलले जिम्मेवारी सम्हालेका छन्। पौडेलले बुधबार साँझ ५ बजे जिल्ला प्रशासन कार्यालय रौतहटमा आयोजित एक कार्यक्रमबीच औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणका क्रममा सहायक सिडिओ हेमराज फुयाँलसहित जिल्ला प्रशासन कार्यालयका कर्मचारी, कर्मचारी मिलन केन्द्रका पदाधिकारी तथा जिल्लास्थित सुरक्षा अधिकारीहरूले नयाँ सिडिओ पौडेललाई स्वागत गरेका थिए।
यसअघि रौतहटका सिडियो रहेका दिनेश सागर भुसालको सरुवा भएपछि पौडेललाई रौतहटको जिम्मेवारी दिइएको हो। गृह मन्त्रालयले भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरेको छ।
पौडेल यसअघि पर्वत जिल्लाको सिडियोको रूपमा कार्यरत थिए। गृह मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको थियो।
पौडेलसामु रौतहटमा चुनौतीको चाङ
नयाँ सिडिओ पौडेलले रौतहटको प्रशासनिक नेतृत्व सम्हाल्दै गर्दा उनका अगाडि जिल्लाको शान्ति–सुरक्षा, सुशासन, प्रभावकारी सेवा प्रवाह र प्रशासनिक व्यवस्थापन प्रमुख चुनौतीका रूपमा रहने देखिन्छ।
सामाजिक तथा धार्मिक रूपमा संवेदनशील मानिने रौतहटमा सम्भावित विवाद तथा तनावलाई समयमै पहिचान गरी समाधानतर्फ लैजानु पौडेलका लागि महत्वपूर्ण जिम्मेवारी हुनेछ। यसका लागि राजनीतिक दल, स्थानीय तह, नागरिक समाज तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने देखिन्छ।
त्यसैगरी सीमावर्ती जिल्लाका रूपमा रौतहटमा हुने सीमा अपराध, तस्करी, लागूऔषध नियन्त्रण तथा आपराधिक गतिविधि न्यूनीकरण पनि नयाँ सिडिओको प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ।
यसअघि सिडिओ भुसालले अघि बढाएको समन्वय, संवाद र सामाजिक सद्भावको अभ्यासलाई निरन्तरता दिँदै प्रशासनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिकमैत्री बनाउनु पौडेलका लागि प्रारम्भिक प्राथमिकताको विषय बन्ने देखिन्छ।
नागरिकले सहज र छिटो सेवा पाउने वातावरण निर्माण गर्नुका साथै स्थानीय तहसँगको समन्वय, विकास निर्माणमा देखिएका प्रशासनिक समस्या समाधान र जिल्लामा सुशासन कायम गर्नु पनि पौडेलको कार्यकालको महत्वपूर्ण परीक्षण हुनेछ।
अब रौतहटको प्रशासनिक नेतृत्वमा पौडेलको कार्यशैली, सुरक्षा व्यवस्थापन र नागरिक सेवामा देखाउने प्रभावकारिताले उनको कार्यकालको मूल्यांकन गर्ने आधार तय गर्नेछ।

