तोरी खेतीमा किसानको आकर्षण बढेन

रेसुङ्गा, २० मङ्सिर (रासस)ःपछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन ।

रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नुभएको छ । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उहाँले भन्नुहुन्छ, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भन्नुभयो । आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले सोचेजस्तो उत्पादन नहुने ६२ वर्षीय पन्थीले बताउनुभयो ।

तीनमहिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेहेनत पनि गर्नुपर्दैन । असोजमा तोरी छरेपछि मङ्सिरमा तोरी छिन्ने समय हुन्छ । तोरीलाई झार गोड्ने, बारम्बार सिँचाइ गर्ने, धेरै मल राख्नुपर्ने र लगातार हेरचाह गर्नुपर्ने आवश्यक पर्दैन ।

सोही स्थानका किसान चन्द्रकला मरासिनी बजारमा तेलहनजन्य पदार्थको मूल्य आकाशिएको बखत आफ्नो खेतबारीमा तोरी खेतीको उत्पादन घट्ने पिरलोमा हुनुहुन्छ । “असोजमा तोरी छरियो, कात्तिक अन्तिमसम्म पनि पानी परेन”, उहाँ भन्नुहुन्छ, “बजारबाट किनेर तेल खान सक्ने अवस्था छैन”, उहाँले दुःखेसो गर्नुभयो । समयमा मल पाउने, बीउ पाउने र सिँचाइको सुविधा भएमा तोरी खेतीमा आकर्षण हुने मरासिनीको भनाइ छ ।

रेसुङ्गा–४ का दीननाथ भण्डारीले आकाशे पानीको भरमा तोरी खेती गर्नुपर्ने बाध्यता भएकाले व्यावसायिकतर्फ नगएको बताउनुभयो । समयमा पानी परे राम्रो हुने र पानी नपरे लगानी खेर जाने जोखिमका कारण सबै किसान तोरी खेतीतर्फ आकर्षित नभएको भण्डारीको भनाइ छ । “अघिल्लो वर्ष समयमा पानी परेकाले राम्रै तोरी उत्पादन भयो तर यसपटक लगानी खेर जानेजस्तो छ”, उहाँ भन्नुहुन्छ, “मौसमी वर्षाका भरमा गरेको खेती एकनाश हुँदैन”, निराश हुँदै उहाँले भन्नुभयो ।

यति मात्र होइन, जिल्लाका सबै ठाउँमा व्यावसायिक तोरी खेतीतर्फ कसैको ध्यान पुगेको छैन । अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नेहरू बढी भेटिन्छन् । बजारमा मूल्य आकाशिएको भए पनि तेलहन आयातकै भरमा रहेको छ । तोरी खेतीमा पनि पर्याप्त मात्रामा किसानको आकर्षण छैन । आंशिकरूपमा खेती गरिरहेका किसान पनि विभिन्न समस्याबाट हैरानी खेप्न बाध्य छन् ।

कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जलवायु परिवर्तनका कारण समयमा पानी नपरेकाले यो वर्ष तोरी उत्पादन घट्न सक्ने जानकारी दिनुभयो । तेलहनको बजारभाउ बढेकाले तुलानात्मकरूपमा तोरी खेती गर्ने बढेको र अघिल्लो वर्ष समयमा परेको पानीका कारण उत्पादन पनि बढेको उहाँले बताउनुभयो ।

गत वर्ष गुल्मीको पाँच सय ८३ हेक्टर क्षेत्रफलमा पाँच सय ८९ मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष दुई प्रतिशतले उत्पादन घट्न सक्ने ज्ञान केन्द्रको प्रारम्भिक अनुमान छ । “समयमा पानी पनि परेन, हुर्किन लागेको तोरीमा लाही किराको समस्या बढ्यो”, उहाँले भन्नुभयो । तोरी खेतीको क्षेत्रफल केही बढे पनि विषादी प्रयोग गर्न नहुने कारणले उत्पादनमा ह्रास आएको उहाँले बताउनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।