नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै

लक्ष्मी गारु, भादगाउँ, २२ मङ्सिर (रासस) :लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ ।

हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ ।

नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाडपर्व हुने गर्दछन् । मौसमअनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पकवानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्हि पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ ।

“यस पर्वमा विशेष गरी चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो”, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भन्नुभयो । कृषि कर्म गर्नेका लागि मार्ग शुक्ल पूर्णिमा ठूलो पर्व हो । यस दिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन् । त्यस्तै उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् । खसआर्य समुदायले पनि यस दिनलाई ठूलो दिनको रुपमा कुलपूजा, देवाली पूजा गर्ने प्रचलन रहेको छ ।

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्निको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।

नयाँ धान भित्र्याएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ । भर्खरै भित्र्याइएको नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा याःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।

धानका भकारीलगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रहिआएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन रहेको छ ।

यःमरी पुन्हिको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योःमरी माग्ने प्रचलन पनि रहेको छ । यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ ।

यःमरी माग्दा यसरी गीत गाउने गरिन्छ ।

त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यःमरी छगः ती यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा

अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देउ, यो सालको बाली भित्रियो यःमरी एउटा देउ, यःमरी दिए तरुनी नदिए चाउरी बूढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देउ, यःमरी मीठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बूढी ।

उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु सो भाका गाउँदै यःमरी माग्न भने जान छाडेका छन् । युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोक संस्कृतिबाट विमुख हुँदै जाँदा यःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदै गएको संस्कृतिकर्मी बताउँछन् ।

यःमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ । चामलको पिठोलाई शुद्ध घ्यू हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ ।

त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ । आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि रहेको छ ।

यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँधमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा यःमरी राखेर बाफले यःमरी पकाइन्छ । करिब पाँच मिनेट जति बफाएपछि यःमरी तयार हुन्छ । अचेल मः मः पकाउने भाँडाको प्रयोग गरिन्छ ।

पानीको बाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम यःमरी अर्थात् मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्रा डा पुर्षोत्तमलोचन श्रेष्ठ बताउहुन्छ ।

नेवार समुदायमा यःमरीको सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धनसम्पत्ति बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हिका दिन सबैले यःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ ।

विशेष गरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो । यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिनजस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा डा श्रेष्ठले बताउनुभयो । “बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म यःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ”, श्रेष्ठले भन्नुभयो ।

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा एक सय आठ वटा यःमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर यःमरी खसाल्ने चलन छ ।

वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाइन्छ । जाडो महिनामा मनाइने यःमरी पुन्हिमा पकाइने पकवान यःमरीमा रहेको चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।
यस पूर्णिमाका रातलाई सबैभन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाइन्छ । यस पूर्णिमाको भोलिपल्टदेखि यःमरीको चुच्चो जतिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास पनि रहेको छ ।

धार्मिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुवैले गरिबप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुबेरले यी दुवै पतिपत्नीको एक पटक परीक्षा गर्नुप¥यो भन्दै गरिबको भेष धारण गरी सुचन्द्रको घरआँगनमा माग्न गएछन् । गरिब रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पतीले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठोमीठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिबरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन् । केही बेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि यःमरी बनाउने विधि सिकाइ बफाउने तामाको भाडासमेत दिई अन्तघ्र्यान भएछन् ।

कुबेरले सिकाएबमोजिम सुचन्द दम्पतीले नयाँ चामलको पिठोको यःमरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा चार दिनसम्म पूजा गरेछन् । यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरुले अन्नहरू जति दान दिन्छन् त्यति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ ।

यो चाड बौद्धमार्गीले पनि मनाउँदै आएका छन् । बौद्धमार्गीले यःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दूमार्गी नेवारले सिन्हम्हुको प्रतीक भनेर अथ्र्याउँदै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।