म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

धु्रवसागर शर्मा/गलेश्वर, २३ मङ्सिर (रासस)ः खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ ।

आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका–१०स्थित तोरीपानीमा हुने गरेको छ । टिमुर कृषक आनन्द रिजालका अनुसार गत वर्ष यहाँ पचास मुरीभन्दा बढी टिमुर उत्पादन भएको थियो । यहाँ उत्पादित टिमुर बेनी, जोमसोम, पोखरा र काठमाडौँको बजारमा बिक्री हुनाका साथै विदेशमा समेत निर्यात हुन थालेको उहाँले बताउनुभयो । प्रतिकिलो रु दुई हजार पाँच सयदेखि चार हजारका दरले टिमुर बिक्री हुने गरेको सम्बद्ध कृषकहरुले बताए ।

बेनी नगरपालिका–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । जिल्लाको २५ हेक्टर जमिनमा टिमुर खेती भएको उक्त कार्यालयले जनाएको छ । धेरैजसो कृषकले बोटबाट टिमुर टिपेर सुकाइ बजारमा पु¥याउने गर्दछन् । कतिपय ब्यापारी टिमुर खरिद गर्न गाउँमै आउने गरेका घतानस्थित भूमेसिद्ध टिमुर सञ्जालका अध्यक्ष सागर बानियाँले बताउनुभयो ।

यस वर्ष तोरीपानीमा एक सय दश मुरी टिमुर उत्पादन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । सञ्जालअन्तर्गत १९ समूहका करिब एक सय घरधुरी कृषकले टिमुर खेती गरेका छन् । तोरीपानीका साथै नेप्टेचौर, स्यानीखेत, काउलेगौडा, भगवती, नारच्याङ, वेग, पिप्ले, ताकम, दरवाङ र मुदी टिमुर खेतीका लागि पकेट क्षेत्र हुन् । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय भए पनि यस वर्ष फलेको फल बोटमै पकाएर टिप्ने योजना रहेको यहाँका कृषकले बताए ।

टिमुर खेतीले यहाँका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । स्थानीय जुनकिरी परियारले आफ्नो आम्दानीको मुख्य स्रोत नै टिमुर भएको बताउनुभयो । गत वर्ष टिमुर बिक्री गरेर रु ३५ हजार आम्दानी भएकामा यस वर्ष फल लाग्ने समयमा असिना र पानी परेकाले टिमुर उत्पादन घट्नाका साथै आम्दानी पनि कम हुने चिन्तामा रहेको उहाँले उल्लेख गर्नुभयो ।

जिल्लामा टिमुर उत्पादन र बजारीकरणका लागि सघाइरहेको गैरसरकारी संस्था इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सघाइरहेको बताउनुभयो । यस वर्ष यहाँका कृषकलाई टिमुर टिप्न सजिलो होस् भनेर रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जिल्लामा वार्षिक करिब छ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुने बताउनुभयो । फूल फुल्ने र फल लाग्ने समयमा परेको असिना पानीले यसपालि टिमुर उत्पादनमा कमी आएको उहाँको भनाइ थियो ।

टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नाका साथै तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ । गाईबस्तुबाट खेतबारीमा लगाएको बाली जोगाउन बारको रुपमा लगाइने टिमुरको बजारमा माग बढेपछि व्यावसायिकरुपले खेती विस्तार भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।