तोरीसहितको अन्नबाली बढाउँदै सर्लाहीका किसान

सर्लाही, २४ मङ्सिर (रासस) :सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरी खेतीतर्फ आकर्षित भएका छन् ।

तीन÷चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायतका ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको अन्नबाली बढाउँदै लगेका छन् । उखु खेतीमा लगानी गरेर लगानीसमेत नउठेपछि तोरी खेतीतर्फ लागेको हरिवन नगरपालिका–८ का किसान हरि निरौलाले बताउनुभयो ।

“उखुमा लगानीअनुसारको मूल्य छैन, यताका सबैजसो उखु उत्पादक किसानले अहिले उखु मासेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेका छन्”, निरौलाले बताउनुभयो ।
दुई दशकअघिसम्म तोरी खेतीमा अब्बल मानिने जिल्लामा केही वर्षदेखि उखु खेतीप्रतिको आकर्षण बढेको थियो । तर वर्षभरि लगानी गरेर उत्पादन भएको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नगर्दा दिक्दार भएका जिल्लाका उखु उत्पादक किसान अन्य खेतीतर्फ मोडिएका हुन् ।

सरकार, उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगीले प्रतिक्विन्टल रु पाँच सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति गरिएपनि उद्योगले सहमतिअनुसारको रकम भुक्तानी नगरेकाले आफूहरु उखु छोडेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका तीनवटा चिनी मिल मध्ये इन्द शङ्कर चिनी उद्योगबाहेक अरु उद्योगले किसानको रकम भुक्तानी गरेका छैनन् । महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योग उखु अभावले गर्दा बन्दजस्तै अवस्थामा छन् । जिल्लामा देशकै धेरै चिनी मिल भए पनि उखु २५ हजार हेक्टर क्षेत्रमा र धान ४६ हजार पाँच सय हेक्टर क्षेत्रमा खेती हुँदै आइरहेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताउनुभयो ।

हरिवनमा चिनी उद्योग स्थापना भएपछि किसानले सबैखाले अन्न बाली मासेर आफ्ना खेतबारीमा उखु लगाउन सुरु गरेका थिए । करिब २० वर्षपछि यहाँका किसान पुनः उखु खेती मासेर पुरानै खेतीमा फर्किएका स्थानीय जानकार राजकुमार उप्रेतीले बताउनुभयो । “किसानले तोरी खेती मासेपछि खाने तेलको मूल्य आकासियो, अहिले तोरी झार्ने बित्तिकै क्विन्टलको करिब रु १५ हजारका दरले बिक्री हुन्छ । जग्गा जमिन धेरै हुनेले व्यावसायिक उद्देश्यले तोरी खेती गरेका छन् । थोरै जमिन हुनेले आफ्ना लागि मात्रै भए पनि तोरी लगाउन थालेका छन् । उखु लगाउँदा वर्षमा एक पटक उत्पादन निस्कने भए पनि तोरी खेतीमा वर्षमा तीन÷चार बाली लगाउन पाइने र लगानी धेरै नलाग्ने हुँदा उखुको विकल्पमा लागेका छन्”, उप्रेतीले बताउनुभयो ।

थोरै लगानी गर्दा मनग्ये आम्दानी हुने भएपछि जिल्लाका उखु उत्पादक किसानले तोरी खेती बढाउन थालेका छन् । सिँचाइ सुविधा नभएको जमिनमा पनि धेरथोर तोरी उत्पादन हुन्छ । “जसका कारण पनि किसानको मनफेरि पुरानै खेतीतर्फ मोडिएको हो”, गोडैता नगरपालिका–४ का कपिल महतो भन्नहुन्छ । जिल्लाका किसानले धान, हिउँदे मकैजस्ता बाली उठाएपछि तोरी खेती गर्छन् । तोरीभित्र चना, मुसुरोजस्ता दलहन बाली पनि उत्पादन हुन्छ । तोरी र चना भित्र्याएपछि खेत बर्खे मकै खेतीका लागि तयार हुन्छ । “तीन बाली लगाउँदा किसानले उखु खेतीबाट भन्दा पनि धेरै आम्दानी गर्छन्”, स्थानीय छोटेलाल साहले बताउनुभयो ।

यता, जिल्लाका उखु उत्पादक किसानलाई आफूहरुले नयाँ प्रजातिको उखुखेती गर्न बीउ वितरण गरेकाले जिल्लामा उखु उत्पादन बढ्ने इन्दु शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजकले बताउनुभयो । उखु खेतीका लागि देशमै अब्बल मानिएको नयाँ प्रजातिको उखु जिल्लाका उखु उत्पादक किसानलाई वितरण गरिएका कारण उखु उत्पादनमा क्षेत्रफल घटे पनि उत्पादनमा कमी नआउने उद्योगको दाबी छ ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖