लोपोन्मुख जुनेलो जोगाउने अभियानमा सहकारी

तारानाथ आचार्य/बलेवा, २४ मङ्सिर (रासस) ः ठूलाठूला बारीका पाटा । गराभरी कोदो । छेउमा कोसेबाली भटमास र मकैका जस्तै बिरुवा देखिने अग्ला जुनेलाका बिरुवा । कात्तिकमा कोदो पाक्दा भरिलो देखिएको बारीका पाटा छेउछाउमा लगाइएको भटमास र जुनेलोले बारीलाई हराभरा बनाएको छ ।

तरकारीको छाक टार्न भटमासले काम दिन्थ्यो भने जुनेलो हिउँदको खाजा, धार्मिक कार्यमा प्रसाद बनाउन पनि प्रयोग गरिन्छ । जैमिनी नगरपालिका–१ को कुश्मीसेरास्थित फलाँटे कृषि सहकारी संस्थाले बाँझो जमिनमा व्यावसायिक जुनेलो खेती थालेपछि यो परिवर्तन र किसानमा रौनक आएको हो ।
जुनेलो रैथाने बाली हो तर आजकाल लोप जस्तै भइसकेको छ । बहुउपयोगी भए पनि जुनेलो खेती गर्न किसानले छाडेकाले बीउ जोगाउनै सङ्कटमा परेको थियो । पछिल्लो समय सहकारीले यो अभियान चलाएपछि संरक्षण सुरु भएको हो ।

रैथानेबाली जुनेलो सङ्कटमा पर्न थालेपछि सहकारीले बीउ जोगाउने प्रयत्न गरेको हो । गत जेठमा लगाइएको जुनेलो पाकेपछि किसानले फसल भित्र्याएका छन् । सहकारीका पदाधिकारी पनि किसान जुनेलो बाली उत्पादनमा आकर्षित हुँदा उनिहरुलाई प्रोत्साहन गरेका छन् । कुश्मीशेराको झब्रीखेतमा रहेको १५ रोपनी बाँझो बारीमा जुनेलो लगाइएको सहकारीका अध्यक्ष मोतीप्रसाद शर्माले बताउनुभयो । जैमिनी नगरपालिकाभरी नै खेती हुन छाडेको जुनेलोको सहकारीले बीउ जगाएको अध्यक्ष शर्माले बताउनुभयो ।

स्थानीयले जनशक्तिको अभावमा केही वर्षदेखि यहाँ रहेको बारीमा खेतीपाती गर्न छाडेका थिए । बाँझो जग्गा भाडामा लिएर सहकारीको उद्देश्यअनुसार खेती थालिएको हो । रैथाने बालीको संरक्षण र सहकारीमार्फत कृषक सदस्यको आय वृद्धिका लागि व्यावसायिक खेती थालिएको थियो । गत जेठ महिनामा लगाइएको जुनेलोले खर्च कटाएर मुनाफा दिन थालेको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

“यो वर्ष आठ क्विन्टल जुनेलो फलाउने लक्ष्य हो, पाकेको जुनेलो काटेका छौँ, हामीले लक्ष्यअनुसार नै उत्पादन गरेका छौँ”, शर्माले भन्नुभयो, “रैथानेबाली संरक्षणमा यो हाम्रो पहिलो प्रयास हो ।” जुनेलो खेतीका लागि सहकारीमा सदस्य रहेका तीन जना किसान क्रियाशील छन् ।
बीउ लगाउने, गोडमेल गर्ने र सिँचाइ गर्ने काममा सहकारीका सबै सदस्यले समान हिसाबले श्रमदान गरिरहेको सहकारीका कोषाध्यक्ष त्रिबिक्रम आचार्यले बताउनुभयो ।

“यो वर्षको उत्पादनबाट हुने आम्दानी सहकारीको पुँजी वृद्धिमा लगाइनेछ”, आचार्यले भन्नुभयो, “अर्को वर्षदेखि हुने आम्दानी, खर्च कटाएर सहकारीका सदस्यले दामासाहीले पाउँछन् ।” सहकारीले रैथाने बाली जुनेलोको बीउ फेरि जगाएकामा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले खुसी व्यक्त गर्नुभयो ।

सहकारीले रु एक लाख रुपैयाँ खर्चेर १५ रोपनी बारी उपयोगमा ल्याएको हो । दश किलो बीउ रु चार सय ५० प्रतिकिलोका दरले खरिद गरेर लगाइएको सचिव रामप्रसाद आचार्यले बताउनुभयो । रामेछापबाट बीउ ल्याइएको हो । “यो रैथाने बाली हो, पहिले हामीलाई बीउ पाउनै कठिन भयो”, सहकारीमा आबद्ध कृषि प्राविधिक रविन्द्र शर्माले भन्नुभयो, “बजारमा बीउको अभाव छ, हामीले केही वर्ष बीउकैरुपमा उत्पादन गर्छौं र बिक्रीका लागि पनि सोहीअनुसारको बजारको खोजी भइरहेको छ ।” उत्पादन भएको सबै जुनेलो बीउका लागि माग भइरहेको शर्माले बताउनुभयो ।

केही वर्षअघिसम्म अस्मिता कृषक समूहमा आबद्ध भएर मूला तथा केराउको बीउ व्यावसायिक उत्पादन गरेका किसान सहकारीमा आबद्ध भएर नयाँ उत्पादनको अनुभव र थालनी गरेका हुन् । जुनेलो उत्पादन बढाउँदा किसानको आम्दानी पनि बढ्ने कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले बताउनुभयो ।

रोपेको ६० दिनमै उत्पादन दिने र सिचाइँको सुविधा कम भए पनि हुने उहाँले बताउनुभयो । कुनै समय नेपालको पहाडी क्षेत्रको मुख्य खाद्यबालीका रुपमा रहेको जुनेलो लोप हुने अवस्थामा पुगेको भन्दै सहकारीले थालेको संरक्षण राम्रो भएको उहाँको भनाइ छ ।

जुनेलोको सेवनबाट पित्त, मूत्र तथा पेट सफा हुनुका साथै स्फूर्ति बढ्ने आयुर्वेदिक चिकित्सकको भनाइ छ । माग बढ्न थालेपछि पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा रहेका कृषक जुनेलोखेतीतर्फ आकर्षित बन्दै गएका छन् । होटल रेस्टुरेन्टमा पनि जुनेलोको परिकार बन्न थालेको हो । न्यानो हावापानी मन पराउने जुनेलो मकैजस्तै खाद्यान्न बाली हो । सहकारीले रैथाने बालीका रुपमा रहेका कोदो र फापरको पनि ब्राण्ड थाल्ने भएको छ । सहकारीमा आबद्ध किसानले व्यक्तिगत खेतबारीमा उत्पादन गरिरहेको कोदो र फापरलाई सहकारीले खरिद गरेर पिठो बनाएर बजार पठाउने योजना बनाएको शर्माले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।