डेभिज फल्स (पातले छाँगो) अवलोकन गर्ने पर्यटक बढे

लेखनाथ, २७ मङ्सिर (रासस) :हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा ठूलो र आकर्षक देखिन्छ ।

पर्यटकलाई लोभ्याउने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेरसमेत चिनिन्छ । कोभिडका कारण दुई वर्षदेखि छाँगो अवलोकन गर्नेको कमी आएपनि दसैँपछि पर्यटकको सङख्या ह्वात्तै बढेको छ ।

अहिले अधिकांश भारतीय पर्यटक र शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू बढी हुने गरेको जानकारी पातले छाँगोस्थित टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले दिनुभयो । सबै देशका गरी यतिबेला दैनिक तीनदेखि तीन हजार पाँच सयको सङ्ख्यामा छाँगो अवलोकन गर्न आउने पर्यटकको तथ्याङ्क पनि सापकोटाले दिनुभयो । दसँै अघि दैनिक हजारको सङ्ख्यामा अवलोकन गर्न पर्यटक आउथे ।

सोमबार दिउँसो पातले छाँगो अवलोकन गर्न पुग्नुभएकी भारत विहार प्रदेश निवासी पुनम कुमारीले भन्नुभयो, “पातले छाँगो निकै सुन्दर लाग्यो, यहाँका फेवा ताल, गुप्तेश्वर र महेन्द्र गुफा, म्युजियमलगायत अन्य ठाउँ सुन्दर छन् ।”

स्पेनबाट आएका दुई पर्यटक पातले छाँगो अवलोकनपछि भन्दै थिए, यस्ता प्राकृतिक झरनाले हाम्रो मन निकै लोभ्यायो । सहर नजिकै फेवाताल, डेभिज फल्स, बेगनास, माछापुच्छ«े हिमाल जस्ता प्राकृतिक सम्पदा देख्न पाउँदा आनन्दित भएको उनीहरु बताउँछन् ।

पातले छाँगो अवलोकन गरेबापत प्रवेश शुल्कबाट वार्षिक रु दुई करोड बढी आम्दानी हुन्छ । छाँगो सञ्चालन र संरक्षणको जिम्मा स्थानीय छोरेपाटन माविले लिएको छ । उक्त शुल्कबापत हुने आम्दानी निजी स्रोतबाट राखिएका ७० शिक्षकको तलब र छाँगोमा परिचालित कर्मचारीको तलबका साथै बाँकी रकम त्यहीको संरचना निर्माणमा खर्च गर्ने गरेको उक्त विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले बताउनुभयो ।

प्रधानाध्यापक शर्माका अनुसार विद्यालयमा दुई हजार तीन सय विद्यार्थी छन् । त्यहाँ सरकारीस्तरबाट २५ शिक्षक दरबन्दी छन् । निजीस्तरबाट ७० शिक्षक तथा कर्मचारी रहेका हुँदा शुल्कबाट उठेको रकम अधिकांश तलब भत्तामा नै खर्च हुने गर्छ । २०३५ सालदेखि विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको हो । आम्दानीको ४० प्रतिशत पाताले छाँगो व्यवस्थापन र बाँकी ६० प्रतिशत विद्यालयको शैक्षिक भौतिक विकासका लागि खर्च गरिने जानकारी शर्माले दिनुभयो ।

यहाँको पर्यटकहरु सेल्फी खिच्दै छाँगोबाट आइरहेको पानीको शीतलतामा रमाइरहेको यहाँ पुग्ने जोकोहीले सजिलै हेर्न सकिन्छ । डेभी नाम गरेकी एक स्विस पर्यटक सन् १९६१ यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । पाँच सय मिटर भूमिगत जल प्रवाह र सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ भने जेठदेखि असोज महिना छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरिपरिका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्तिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोसाकसहितका तस्बिर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याएको पाइन्छ । करिब १२ रोपनी क्षेत्रफलमा रहेको यस पर्यटकीयस्थलमा आन्तरिक र भारतीय पर्यटकको चाप हुने गरेको छ । अवलोकनका लागि टिकट दर प्रतिविद्यार्थी रु २०, नेपाली रु ४० र विदेशीलाई रु ८० र तेस्रो मुलुकका विदेशीका लागि रु सय तोकिएको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।