खोटाङमा व्यवसायिक तोरी खेती गर्ने किसानलाई गाउँपालिकाको अनुदान

खोटाङ, १८ पुस । खोटाङको केपिलासगढी गाउँपालिकाले व्यवसायीक रुपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७९/०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यवसायीक रुपमा तोरी खेती गर्ने किसानलाई खेती गरेको क्षेत्रफल र उत्पादनको आधारमा अनुदान सहयोग उपलव्ध गराउने भएको हो ।

गाउँपालिकाको अनुदान पाउनका लागि किसानले कम्तीमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्ने छ वा कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्नेछ । कम्तीमा तीन रोपनी वा सोभन्दा बढी जग्गामा तोरी खेती लगाउने किसानलाई प्रतिरोपनी एक हजार र कम्तीमा दुई मुरी वा सोभन्दा बढी तोरी फलाउने किसानलाई प्रतिमुरी दुई हजार पाँच सयका दरले विनाशर्त अनुदान उपलब्ध गराउने तयारी गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । 

गाउँपालिका अध्यक्ष संयोजक रहेको अनुगमन तथा मुल्यांकन समितिको सिफारिसका आधारमा कृषक, कृषि फर्म र कृषक समुहलाई बैंक खातामा अनुदान उपलव्ध गराइने तोरी खेती प्रोत्साहन अनुदान कार्यक्रम कार्यविधिमा उल्लेख छ । प्रतिरोपनी जग्गा बराबरको अनुदान लिने वा तोरीको मुरीको आधारमा अनुदान लिने निर्णय किसानको हुनेछ ।

‘अनुदान पाउनका लागि कम्तीमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्छ अथवा कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने हुन्छ । तीन रोपनीभन्दा थोरै जग्गामा दुई मुरी तोरी उत्पादन गर्ने किसानले पनि अनुदान पाउँछन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘जग्गाको क्षेत्रफलको आधारमा अनुदान लिने कि तोरीको मुरीका आधारमा अनुदान लिने भन्ने छनौट किसानको हुनेछ । जुनमा फाइदा हुन्छ किसानले त्यहीबाट अनुदान लिन सक्छन् ।’ 

व्यवसायिक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयतित खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । असंगठित रुपले तोरी खेती गरिरहेका किसानलाई व्यवसायिक रुपमा तोरी खेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ तोरी किसान अनुदान कार्यक्रमअघि सारिएको हो । गाउँपालिकाको गौरवको योजनाका रुपमा ल्याइएको तोरी खेती प्रवर्द्धन कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नुका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने दावी गरिएको छ । खपत भएपछि बाँकी रहेको तोरीको तेललाई निर्यात गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

सात वडा रहेको केपिलासगढी गाउँपालिकाका सबैजसो ठाउँमा तोरी खेती हुन्छ । कतिपय किसानले तेलकै लागि तोरी खेती लगाउने गरेका छन् । हालको जनसंख्यालाई आधार मान्दा केपिलासगढीमा बार्षिक साँढे छ करोडदेखि सात करोडको हाराहारीमा खाने तेल भित्रिने गरेको छ ।

खाने तेलमा बाहिरिने रकमलाई पालिकामै राख्ने वातावरणका लागि तोरी कृषकलाई अनुदान उपलब्ध गराउने कार्यक्रम ल्याइएको अध्यक्ष राईले बताए । ‘प्रांगारिक तोरीको तेललाई गाउँपालिकाको पहिचानको रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । बिशेषगरी युवा किसानलाई स्वरोजगार बनाउने हाम्रो अभियान हो,’ अध्यक्ष राईले भने, ‘कृषिलाई उत्पादनसँग जोडेर आयआर्जन वृद्धि गर्दै गरिबी घटाउने गाउँपालिकाको योजना हो ।’ 

तोरी खेती प्रोत्साहन अनुदानका लागि गाउँपालिकाले तोरी खेती सुचीकरण फारमदेखि निवेदनको ढाँचा तयार पारेको छ । अनुसूची फराममा किसानको नाम, ठेगाना, कित्ता नम्बर, क्षेत्रफल उल्लेख गर्नुपर्ने छ । तोरी खेती प्रोत्साहन अनुदानका लागि दुई सयभन्दा बढी किसानको आवेदन परेको गाउँपालिकाले जनाएको छ । 
 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।