झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण

झापा, १९ पुस (रासस) ः कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ ।

एकपटक लगाएपछि पुस्तासम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने सुपारीको फलदेखि पातसमेत बोटबाटै बिक्री हुन्छ । जिल्लामा दुई हजार छ सय ३१ हेक्टर जमिनमा सुपारी खेती भइरहेको तथ्याङ्क छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ३७ वर्षदेखि सुपारी खेती गर्दै आउनुभएका राजेन्द्र मिश्रले धानखेतीको तुलनामा सुपारी खेतीबाट दश गुणा बढी आम्दानी हुने बताउनुभयो ।

उहाँले डेढ बिघा जमिनमा सुपारी खेती गर्नुभएको छ । थप केही बिघामा सुपारीको बिरुवा रोप्ने तयारी गरिरहनुभएको छ । उहाँले सुपारीको फलबाट मात्र वर्षमा खर्च कटाएर वार्षिक रु तीन लाख आम्दानी गरिरहेको जनाउनुभयो ।

“कुलो नलाग्ने पाखो एक बिघा जग्गामा ५० मन धान फलाउन ४० मन धानको खर्च लगानी गर्नुपर्छ”, धानसँग सुपारी खेतीको आम्दानी दाँज्दै उहाँले भन्नुभयो, “सुपारी खेतीमा तीन लाख आम्दानी गर्न रु २० हजार जति मलजलमा लगानी गरे पुग्छ ।” उहाँले धानखेती मासेर सुपारीको खेती गर्नुभएको हो ।

सुपारी नगदे बाली हो । बोटमा फल लाग्न थालेपछि खरिद गर्ने व्यपारी अग्रिम दाम बुझाउन आउने गर्छन् । बिरुवा लगाएको छ वर्षपछि आम्दानी दिने यसको खेती विस्तार र प्रवद्र्धन गर्न सरकारले पनि विभिन्न कार्यक्रम ल्याउने गरेको छ ।

सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, पान, मरिच, कागती, निम्बु, बेसार, अदुवालगायतका विभिन्न प्रकारका घाँस, कोसेबाली र तरकारी खेती लगाउन सकिन्छ । एकै सिजनमा विभिन्न बाली लगाउने यो प्रचलनलाई तीनतले खेती पनि भन्ने गरिएको छ ।

जिल्लामा सुपारी खेती प्रवद्र्धनका लागि सरकारले सुपारी जोन परियोजना लागू गरेको छ । सुपारी जोनमा आबद्ध किसानलाई खेती विस्तार, मल, सिँचाइ, उपकरण र बजारीकरणका लागि सरकारले अनुदानसमेत दिने गरेको झापाको सुपारी जोनका निवर्तमान अध्यक्ष कृषक नीलकण्ठ तिवारी बताउनुहुन्छ । यसवर्ष झापामा सुपारी दाना प्रतिकेजी रु ५० देखि ९५ सम्ममा बोटबाटै बिक्री भएको छ । बजारको अभाव छैन । भारतबाट व्यापारीहरू सुपारी किन्न घरघरमै आउँछन् ।

सुपारीको दानाबाट मात्र होइन, पातबाट समेत आम्दानी हुने गरेको छ । मेचीनगर, बुद्धशान्ति र अर्जुनधाराकाा दर्जनौँ स्थानमा सुपारीको पातबाट उत्पादन हुने दुना–टपरी उद्योग सञ्चालनमा छन् । उद्योगले किसानको घरमा पुगेर सुपारीको पात प्रतिगोटा रु दुईमा किनेर लैजाने गरेको तिवारीले बताउनुभयो । यहाँ उत्पादित सुपारीको पातका दुना, टपरी, थाल, बटुका र चम्चाले मुलुकका ठूला तारेहोटलदेखि युरोपसम्म आकर्षक बजार पाउने गरेको छ ।

जिल्लाको उत्तरी चुरे पहाडी शृङ्खलासँग जोडिएको तराईको भिरालो जमिनमा सुपारी असाध्य फस्टाउने गरेको छ । यहाँ जङ्गली हात्तीको उपद्रो बढी भएकाले किसान हात्तीले नखाने बालीको रूपमा सुपारी र चियाको खेती गर्छन् ।

सुपारी जोनमा आबद्ध कृषि फार्म अर्थात् कृषक समूहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गोदाम निर्माण, उद्योग स्थापना र विभिन्न कृषि औजारमा ५० देखि ७५ प्रतिशत अनुदान दिने गरेको तिवारीले बताउनुभयो ।

परियोजनाले धान, रबरसँगै विसं २०७५ देखि सुपारी जोनसमेत सञ्चालनमा छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले यहाँ सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।