कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

गलकोट, २३ पुस (रासस) ः भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो ।

दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा पठनपाठन गराइएको भने हैन । कक्षाकोठा अभावका कारण जनता प्राथमिक विद्यालयका विद्यार्थीले खुला आकाशमुनि पठनपाठन गर्न बाध्य छन् । बाढी पहिरोका कारण केही पर काफ्ले भन्ने स्थानमा रहेको विद्यालय भवन भत्किएपछि दुई वर्षअघि सार्वजनिक चौरमा विद्यालय सारिएको थियो । दुई वर्षदेखि अस्थायी छाप्रोमा समस्याका बीच पठनपाठन भइरहेको विद्यालयको केही कक्षा खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी श्रीसले जानकारी दिनुभयो ।

“तीन वर्षअघि भिरालो जग्गामा भएको विद्यालय पहिरोको जोखिममा प¥यो, विद्यालयको चार कोठे भवन भासिएर पढाउनै सकिएन, पहिरोको समस्याले दुई वर्षदेखि विद्यालय नजिकैको सार्वजनिक चौरमा अस्थायी छाप्रोसहित पठनपाठन गर्न थालिएको हो, साघुँरा टिनको छाप्रोमा पढाउन निकै समस्या छ”, प्रधानाध्यापक श्रीषले भन्नुभयो, “अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे विद्यालय भवन बनाउन अस्थायी छाप्रोको केही भाग हटाएपछि तीन वटा कक्षाका विद्यार्थीलाई प्राङ्गणमै पठनपाठन गराइन्छ । दुई वटा कक्षाका विद्यार्थीलाई अस्थायी टहरामै पठनपाठन गराइन्छ ।”

विद्यालयमा १ देखि ५ कक्षासम्म ३१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षाकोठाको अभाव भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तत्कालका लागि दुई वटा पक्की कक्षा कोठा बनाइने र अर्को वर्ष थप दुई कक्षा कोठा माग गरिएको छ ।

कक्षाकोठा बन्न समय लाग्ने भएपछि अझै एक वर्ष विद्यालयमा विद्यार्थीलाई पठनपाठन गराउन समस्या भइरहने विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष पदम छन्त्यालले बताउनुभयो । “यो वर्ष दुई वटा कक्षा कोठा निर्माण हुन्छन्, थोरै विद्यार्थी भएकाले कक्षाकोठालाई बाँडेर पढाउन सकिन्छ तर त्यो असारसम्म बनिसक्नेछ । त्यसबेलासम्म पुन अस्थायी छाप्रोमा विद्यार्थीलाई राखिन्छ”, छन्त्यालले भन्नुभयो “विद्यार्थीलाई खुला आकाशमुनि पढाउनु हाम्रो रहर हैन, तत्कालै अस्थायी छाप्रो सार्नका लागि प्राङ्गणमा पढाइएको हो, पक्की भवन बन्ने स्थान खाली भएपछि अस्थायी छाप्रो अन्यत्रै बनाइन्छ ।” छन्त्यालका अनुसार विद्यालयको भौतिक अवस्था नाजुक हुँदै गएपछि विद्यार्थीको सङ्ख्यामा समेत क्रमशः कमी हुँदै आएको छ । विद्यालयमा पक्की शौचालय निर्माण भइसकेको र शुद्ध खानेपानीको व्यवस्थापन भइसकेको छ ।

जाडो याममा प्राङ्ग्रणमा घाम ताप्दै पठनपाठन गराउन सहज भए पनि बर्खाको समयमा समस्या भएको विद्यालयका शिक्षक थम्मन श्रीषले बताउनुभयो । ठूलो पानी पर्दा अस्थायी टहरामै पानी पस्ने हँुदा पठनपाठन प्रभावित हुने गरेको छ । संयुक्त कक्षा सञ्चालन गर्न विद्यालय बाध्य भएको शिक्षक श्रीसले बताउनुभयो । विद्यालयको समस्या समाधानका लागि पक्की भवन निर्माण गर्न राष्ट्रपति शैक्षिक सुधारमार्फत बजेट आएर काम थाल्न लागिएको बताउँदै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले भवन बनेपछि कक्षा कोठाको अभाव टर्ने बताउनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।