वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरणदेखि योजना सम्झौतासम्मका सेवा दिने अभियान थालनी

खोटाङ, २६ पुस (रासस): हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरणदेखि योजना सम्झौतासम्मका सेवा दिने अभियान थालनी गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा वडागत योजना सम्झौता, ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, बालिका विकास बचत भौचर हस्तान्तरण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्न नगरपालिकाले अभियान सञ्चालन गरेको हो ।

नगरवासी नागरिकको सहजताका लागि नगरपालिकाले सुरु गरेको अभियानको पहिलो दिन सोमबार वडा नं ११ राजापानीस्थित वडा कार्यालयमा पुगेर सेवा प्रदान गरेको छ । राजापानीको वडा कार्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा १५ वटा योजना सम्झौता गरिएको छ ।

शिविरमा नगरपालिकाले सञ्चालन गरिरहेको बालिका बचत कार्यक्रमअन्तर्गत बैंकमा रकम जम्मा गरेर १० जनालाई भौचर हस्तान्तरण गरिएको जनाइएको छ । यस्तै दुई सय ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरिएको छ । शिविरमा एक सय ५० जनाले सामाजिक सुरक्षा भत्ता बुझेका छन् । (क) वर्गका एक, (ख) वर्गका चार, (ग) वर्गका दुई र (घ) वर्गका एक गरी ८ जनालाई अपाङ्गता परिचयपत्र र ३० ज्येष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता बुझ्न वृद्धवृद्धा लठ्ठीको सहारामा वडा कार्यालय आएका थिए । हलेसी तुवाचुङमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण सुरु भएपछि भत्ता बुझ्न बैंकसम्म पुग्नुपर्ने बाध्यता छ । राजापानीबाट हलेसीसम्म पुगेर फर्किँदा भत्ताको आधा रकम सकिएको सुनाउँदै हाल वडामै भत्ता पाउँदा धेरै खुसी लागेको वृद्धवृद्धाले प्रतिक्रिया दिएका छन् । वडासम्म आउन नसक्ने व्यक्तिको भत्ता परिवारका सदस्यलाई प्रदान गरिएको छ ।

यस्तै योजना सम्झौता गर्न नगरपालिकाको कार्यालयमा धाउँदा धेरै खर्च हुने गरेको उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै वडामै सम्झौता गर्न थालिएको छ । वडागत योजना सम्झौतादेखि ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वडामै पुगेर परिचयपत्र वितरण गर्न पाउँदा आफूहरूसमेत सन्तुष्ट भएको जनप्रतिनिधिले बताएका छन् ।

नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउन वडामै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन अभियान सुरु गरिएको नगरप्रमुख विमला राईले बताउनुभएको छ । “विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने नागरिकलाई समस्या छ । भत्ता लिन हलेसी पुग्नुपर्छ । सवारीसाधन प्रयोग गरेर जाँदा आधा रकम उतै सकिने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसैले वडामै पुगेर भत्ता वितरण गर्न थालेका छौँ । वडाका योजना साना छन् । सम्झौताका लागि नगरपालिका पुग्नुपर्ने उपभोक्ताको बाध्यता छ । उहाँहरूको समय र स्रोतको बचत गर्न शिविरमार्फत सेवा दिन थालेका हौँ ।”

वडा कार्यालय आएका कतिपय सेवाग्राहीको कागजपत्र नमिलेका कारण रित्तो हातसमेत फर्किका छन् । विशेषगरी सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीमा समस्या देखिएकाले त्यस्ता व्यक्तिको कागजपत्र मिलाएर पुनः उहाँहरूलाई सहज वातावरणमा सेवा प्रदान गरिने वडाध्यक्ष अनिश कार्कीले बताउनुभयो ।

अभियानका क्रममा साविकको राजापानी गाविस वडा १ थुम्कीका लोकबहादुर बुढाथोकीलाई उहाँको घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । करिब एक वर्षदेखि प्यारालाइसिस रोगले ओछ्यान पर्नुभएका बुढाथोकीलाई उपप्रमुख रमेशकुमार राउत, वडाध्यक्ष अनिश कार्की, नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेलगायतको टोलीले परिचयपत्र प्रदान गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।