हराउन थाल्यो थारू समुदायको झुमडा नाच

कपिलवस्तु (बुद्धभूमि), २६ पुस (रासस) ः युवा पुस्ताले झुमडा नाचको महत्व बिर्सिँदै गएकामा यहाँका थारू अगुवाले चिन्ता व्यक्त गर्न थालेका छन् । झुमडा थारू समुदायको पुरानो नाच हो । सो समुदायको जातीय पहिचान स्थापित गर्न यो नाचको निकै महत्वपूर्ण भूमिका छ ।

दिनभर खेतीमा काम गरेको थकाइ मेटाउन पुर्खाहरूले झुमडा नाच्ने गरेको वाणगङ्गा–५ कोपवाका संस्कृतिकर्मी तथा थारू कल्याणकारिणी सभा कपिलवस्तुका सल्लाहकार महादेव थारू बताउनुहुन्छ । कामको थकाइलाई झुमडा नाचले बिर्साइदिने उहाँको अनुभव छ ।

तराई मधेसका आदिवासीका रूपमा चिनिने थारू समुदायमा पछिल्लो समय आधुनिकताको प्रभाव बढ्दो छ । पुराना संस्कृति लोप हुन थालेका छन् । यो समुदायमा चलनचल्तीमा रहेका संस्कृतिलाई आजभोलि मेला, महोत्सव आयोजना गरी नयाँ पिँढीलाई चिनाउनुपर्ने अवस्था आएको छ ।

समाजमा रहेका विकृति, विसङ्गतिलाई झुमडा गीत र नाचको माध्यमबाट हटाइने गरेको उहाँको भनाइ छ । “अहिलेका पिँढीले झुमडा नाचको महत्व बुझ्न नसक्दा संस्कृति लोप हुने खतरा छ”, उहाँ भन्नुहुन्छ, ‘अब थारू संस्कृतिहरू इतिहास बन्न बेर छैन ।” विशेषगरी यो नाच दसहरा (दशैँ)देखि माघीसम्म नाच्ने गरिएको थारू अगुवाको भनाइ छ ।

बढीमा १५ महिला र पुरुष मिलेर झुमडा नाच नाचिने थारू अगुवा बताउँछन् । यो नाचमा गाइने गीत पनि मौलिक हुन्छ । एकल र समूह मिलेर झुमडा गाउने गरिन्छ । गीतमा मौलिक बाजा मनहरा (मादलजस्तै) बजाइन्छ । झुमडा नाचमा थारू समुदायमा चलनचल्तीमा रहेका वेषभूषाको प्रयोग गरिन्छ । पुरुषले धोती, फेटा, आसकट, बहकट्टी लगाउँछन् भने महिलाले लेहना, लेहङ्गा, अङ्गिया, फरिया लगाउने गर्दछन् ।

झुमडा नाच नाच्न युवा पिँढी लजाउने गरेका कोपवाका थारू अगुवा शिवप्रसाद थारूले बताउनुभयो । मौलिक नाच भएकाले नृत्य, गायन र वेषभूषा पुरानै खालको हुन्छ तर अहिलेको पिँढीले नाच्न, गाउन र वेषभूषा लगाउन लाज मान्ने गरेको उहाँको भनाइ छ । वेषभूषामा पनि आधुनिकता छायो, उहाँले थप्नुभयो, “नयाँ पिँढीले त्यसको सिको गर्न खोज्दैनन् ।” झुमडा नाचमा ३५ थरिका ताल हुने उहाँले बताउनुभयो । तर सबै ताल हराउँदै जान थालेका छन् । अहिले दुई तालको प्रयोग गरी नाच्ने गरिएको उहाँले जनाउनुभयो ।

पुराना पुस्ताका थारू अगुवाले कतिपय ठाउँमा झुमडा नाचको संरक्षण गर्ने अभियान नै चलाएका छन् । कपिलवस्तुको शिवपुर, बरकुलपुर, चम्पापुर, दुवियाँ, हथौसा, पटना, कोपवालगायतका स्थानमा थारू समुदायको बाहुल्य क्षेत्र हो । पछिल्ला केही वर्षदेखि माघे सङ्क्रान्तिको अवसर पारेर माघी महोत्सव मनाउने गरिएको छ । थारू भाषा, कला, संस्कृति बचाउने उद्देश्यले आयोजना गरिएको माघी खिचडी महोत्सवमा थारू समुदायका ऐतिहासिक कला, संस्कृति देख्न सकिन्छ ।

थारू समुदायले आयोजना गर्ने मेला, महोत्सवमा अन्य समुदायले पनि निकै चाखपूर्वक अवलोकन गर्ने गरेको थारू कल्याणकारिणीसभा कपिलवस्तुका पूर्वअध्यक्ष जञ्जीरप्रसाद थारूले बताउनुभयो । थारू समुदायका कला, संस्कृति पछिल्लो समय हराउँदै जान थालेको अब सबै मिलेर संरक्षण गर्नुपर्नेमा उहाँको तर्क छ ।

जिल्लाका विभिन्न स्थानमा आयोजना गरिने माघी खिचडी महोत्सवमा थारू समुदायका पुराना नाच देख्न सकिन्छ । थारू समुदायको झर्रा, लाठी, मयूर, सजनी, विरहनीजस्ता नाच महत्वपूर्ण छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।