गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै

वासुदेव पौडेल/गण्डकी, २६ पुस (रासस) :
“यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुर्क्यो तन
जस्को अन्न र पानी खाई दिनहुँ जो पूर्ण भो जीवन
त्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिर
यिन्लाई यसरी चटक्क भुलदा लाग्दैन कि क्यै पीर ?”

(कुन्तीदेवी भट्टराईको ‘धरतीको पुकार’ नामक कवितामा भनेजस्तै पछिल्लो समयमा रोजगारीको खोजीमा युवा बाहिरिने क्रमसँगै खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन् । पछिल्लो समयमा सिँचाइसँगै कृषिमा भित्रिएका आधुनिक प्रविधिले उत्पादन बढ्दै गए पनि जनशक्तिको अभावमा जग्गा बाँझै बसेका छन् भने कतिपय उब्जाउयोग्य जमिन पनि प्लटिङ गर्दै बस्तीमा परिणत हुँदै आएको छ ।

कृषिप्रति अनिच्छा बढिरहेको अवस्थामा पोखरा महानगरपालिका-३२ को गगनगौँडा क्षेत्रको फाँट भने यतिखेर तोरीबारीले पहेँलै बनाएको छ । तोरीसँगै झपक्क फुलेको फापर र लहलहाएको आलुबारी निकै मनमोहक देखिन्छ छ । यहाँ कृषिप्रति आकर्षण बढीरहेपनि बढ्दो बस्ती विकासका कारण बर्सेनि खेतीयोग्य जमिन घडेरी बन्दै बस्तीमा परिणत हुन थालेकोे स्थानीयवासी एवं स्कुल टोल विकास संस्थाका अध्यक्ष बलराम केसी बताउनुहुन्छ ।

“फाँटमा कृषि उत्पादन बर्सेनि बढ्दै गएको छ नै त्योसँगै बढ्दो बस्ती विकासका कारण बर्सेनि घरहरू पनि थपिँदै गएका छन्”, उहाँ भन्नुहुन्छ, “पछिल्ला केही वर्षदेखि यो फाँटमा १२ महिना खेती हुँदै आएको छ ।” गगनगौँडा फाँटमा वर्षायाममा रोपिएको धान काटेसँगै आलु, फापर तथा तोरी लगाउने र आलु तथा तोरी भित्र्याएसँगै मकै लगाउने गरिएको छ ।

उत्पादन पनि अपेक्षित रुपमा राम्रो हुँदै जाँदा बर्सेनि कृषिप्रतिको आकर्षण बढिरहेको अध्यक्ष केसी उल्लेख गर्नुहुन्छ । कृषि उत्पादनप्रतिको आकर्षणलाई दृष्टिगत गरी राज्यले पनि यस क्षेत्रमा चासो दिनुपर्ने उहाँको भनाइ छ । गगनगाैँडा फाँटमा विसं २०४५ अघिसम्म वर्षे धान मात्रै लगाउने गरिन्थ्यो । स्थानीयवासी एवम् बेगनास सिँचाइ उपभोक्ता समूह विटुका पूर्वअध्यक्ष घनश्याम खनालका अनुसार विगतमा एक बालीमात्रै उत्पादन हुने फाँटमा बेगनास सिँचाइ आयोजनाको नहर आएसँगै हिउँदमा पनि खेती गर्न थालिएको हो । बस्ती विकासका दृष्टिले गगनगाँैडा पुरानै ठाउँ भए पनि बीचको समयमा औलोलगायत समस्याका कारण यहाँबाट अन्य स्थानमा बसाइँ सरेको पाइन्छ ।

औँलो उन्मुलनसँगै सिँचाइ उपलब्ध भएपछि विस्तारै यस क्षेत्रमा बसोबासको क्रम बढेको बताउँदै उहाँ प्राचीन बस्तीका रुपमा रहेका पुरानो गाउँ, ढकाल खोरलगायत स्थानमा अहिले भने बसोबास नरहेको उल्लेख गर्नुहुन्छ । विशेष गरी गगनगौँडाको उपल्लो भागमा भरतपोखरी, निर्मलपोखरी, देउराली थुम्कीलगायत स्थानबाट धेरैजसो मानिस बसाइँ सरेर आएका छन् भने तल्लो भागमा सेराबेँसी, थप्रेक, नयाँगाउँ, चोयाबिसौना, दगामलगायत स्थानबाट बसाइँ सरेर आएका छन् ।

गगनगाैँडाको बस्ती विकासमा बेगनास तालको पानी महत्वपूर्ण बनेको स्थानीयवासी बताउँछन् । लेखनाथ क्षेत्रको सबैभन्दा ठूलो यस तालबाट आएको पानीका कारण गगनगौँडासँगै खुदी, राजाचौतारा, मालमूललगायत स्थानमा सिँचाइ उपलब्ध भएको छ । कूल तीन दशमलव ७३ वर्ग किलोमिटर (३७३ हेक्टर ) जमिन रहेको यस तालमा विसं २०४४ मा बाँध बाधेपछि दुई सय २० हेक्टरबाट तीन सय ७३ हेक्टर क्षेत्रफल ओगटेको थियो ।

यही बाँधबाट निकालिएको नहरले गगनगौँडासँगै लेखनाथको खुदी, मालमूललगायत फाँटमा भएको सिँचाइले यस क्षेत्रको बस्ती विकासमा महत्वपूर्ण बनेको स्थानीयवासीको तर्क छ । सिँचाइको उपलब्धतासँगै यस क्षेत्रमा बर्सेनि कृषिप्रति आकर्षण बढ्दै गएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ ।

गगनगौँडालगायत आसपासमा हिउँदे तोरी, आलु, फापरआदिको राम्रो उत्पादन हुने गरेको उहाँको भनाइ छ । कृषिप्रतिको बढ्दो आकर्षणसँगै यस क्षेत्रमा कृषिको विकासलाई महानगरले प्राथमिकतामा राख्नका लागि पोखरा महानगरपालिका–३२ कै राजाचौतारा क्षेत्रमा केही दिनअघि मात्रै माटो परीक्षण गरिएको महाशाखा प्रमुख कडरिया बताउनुहुन्छ ।

किसानबाट संस्थागतरुपमा प्रयास भएका अवस्थामा महानगरबाट सहयोग गर्न सहज हुने उल्लेख गर्दै कडरिया त्यसका लागि उनीहरूको जागरुकताको आवश्यकता औँल्याउनुहुन्छ । कृषियोग्य जमिनमा उत्पादन बढ्दो क्रममा रहेपनि बढ्दो बस्ती विकास भने चुनौतीका रुपमा रहेको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।