ताप्लेजुङको हिमाली क्षेत्रमा जनजीवन प्रभावित

फुङ्लिङ, २७ पुस (रासस) : चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित बन्दै गएको छ । पछिल्लो हप्ता चिसो बढेका कारण जनजीवन प्रभावित बन्दै गएको हो । घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ ।

असामान्यरूपमा चिसो बढ्दै गएपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनिकी चलाउन निकै मुस्किल पर्न थालेको स्थानीयवासी बताउँछन् । समुद्र सतहबाट तीन हजारभन्दा माथिका हिमाली बस्तीमा चिसोले बढी सताएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको ग्याब्ला, फले, घुन्सा, वडा नं ७, ओलाङ्चुङगोला, ओलाङ्चुङगोलाकै याङ्मालगायतका हिमाली बस्तीको जनजीवन चिसोले कष्टकर बनाउँदै लगेको छ । याङ्मा चार हजार दुई सय मिटर उचाइमा रहेको जिल्लाकै उच्च हिमाली बस्ती पनि हो ।

उक्त हिमाली बस्तीका कतिपय परिवार यसअघि नै चिसो छल्न बस्ती छाडेर न्यानो ठाउँ तथा सहरतिर गएका छन् । यतिबेला गाउँमै बस्दै आएका परिवार भने चिसोका कारण कष्टकर जीवन बिताइरहेका छन् । पछिल्लो केही सातायता निकै चिसो बढेको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्साका केल्साङ शेर्पाले बताउनुभयो । चिसोका कारण अधिकांश समय न्यानो लुगा लगाएर साथै आगो तापेर घरभित्रै बस्नुपर्ने अवस्था रहेको शेर्पाको भनाइ छ ।

केही दिनयता निकै चिसो बढेको र बढ्दो चिसोले दैनिकी चलाउन समस्या भइरहेको सोही गाउँका टाँसी तेन्जिङले शेर्पाले बताउनुभयो । बाक्लो हुस्सु लाग्ने र तुषारो पर्ने गरेकाले चिसो ह्वात्तै बढेको शेर्पाले बताउनुभयो । हिउँ पर्न नसक्नु र बाक्लो हुस्सु लाग्नु तथा तुषारो मात्र पर्नाले चिसो निकै बढेको उहाँको भनाइ छ । उहाँले हिउँ नपरेसम्म चिसो कायम रहने बताउनुभयो ।

ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ वालुङले पनि हिउँ नपरेका कारण बढी चिसो भएको बताउनुभयो । घाम नलाग्ने, बाक्लो हुस्सु र तुषारो मात्र पर्ने हुँदा अधिक चिसो भएको वालुङले बताउनुभयो । उहाँले हिउँ परेपछि मात्र मौसम खुलेर वातावरण सन्तुलित हुने र तुलनात्मकरूपमा चिसो कम हुने बताउनुभयो । चिसोले मानिसको दिनचर्यासँगै पशुचौपायालाई निकै समस्या पारिरहेको उहाँले बताउनुभयो ।

चिसोकै कारण मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्ती रित्तो भएको छ । गत मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा चिसो छल्न सहरबजारतिर झरेपछि अहिले बस्ती खाली भएको पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाले जानकारी दिनुभयो । वडाध्यक्ष शेर्पाका अनुसार चिसोको अवधि अर्थात् हिउँद मौसमभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ ।

यसरी बढ्दो चिसोले सिङ्गो जिल्लाकै जनजीवन प्रभावित बन्दै गइरहेको छ । तुलनात्मकरूपमा हिमाली क्षेत्रका बस्तीको जनजीवन बढी प्रभावित र कष्टकर बन्दै गएको छ । चिसो बढेपछि हिमाली बस्तीका बासिन्दा यतिबेला अधिकांश समय घरभित्रै बस्दै आएका छन् । पशुचौपायालाई न्यानो गोठ तथा ग्वालीमा राखेको स्थानीयवासी बताउँछन् ।

सदरमुकाम फुङ्लिङ बजारमा पनि निकै चिसो बढेको छ । केही दिनयता बढेको चिसोका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल पनि ह्वात्तै घटेको छ । मानिसको चहलपहल घटेपछि फुङ्लिङ बजारमा व्यापार व्यवसाय सुस्ताउँदै गएको स्थानीय व्यवसायीले बताएका छन् । केही दिनदेखि मौसम निरन्तर धुम्मिएको र चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय धरान ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।