धनकुटाका कवि रोशन परियारलाई कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार
धनकुटा । कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०७८ सालको तीनवटा पुरस्कार तीनजना स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ ।
यस बर्षको कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि ११ हजार रुपैंया रहेको छ । धनकुटाको पाख्रिबास जन्म र कर्मभूमि बनाएर नेपाली साहित्यमा चम्किला ताराको रुपमा उदाएका कवि रोशनको “सियोको दूरबिन” कविता संग्रह प्रकाशित छ ।
त्यसैगरि बल स्मृति सिर्जना विशेष सम्मान कवि सुधा एम राई (सिक्किम) लाई प्रदान गरिने भएको छ ।नेपाली कविता विधामा दिएको योगदानका लागि कवि सुधा र युवाकवि रोशनलाई उक्त पुरस्कार सम्मान प्रदान गरिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । उक्त पुरस्कारबाट यसअघि कविहरू कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल, गीता त्रिपाठी पुरस्कृत भैसकेका छ्न् ।
त्यसैगरि कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारीलाई प्रदान गर्ने भएको छ ।पुरस्कार राशि २५ हजार छ । यसअघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ र विष्णुविभु घिमिरे सम्मानित भएका छन् ।
पुरस्कार सम्मान आगामी फागुन २० गते विराटनगरमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने प्रतिष्ठानका महासचिव विवश पोखरेलले बताए ।-सरल पत्रिकाको सहयोगमा


