‘नाङ्गिँदै हिमाल : कष्टकर बन्दैछ जीवनयापन’

दिलकुमार लिम्बू/फुङ्लिङ, १ माघ (रासस): जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले ? कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि ? कुनै दिन मानिसहरूले धत् हिमाल त के रहेछ । यही कालो चट्टान त रहेछ, भनेर ढाड फर्काइदिने हुन् कि भन्ने डर नहोला ? दिन दिनै हिमाल नाङ्गिँदै जाँदा लाज पनि नलाग्दो हो कि ?

हिमाल, सुन्नासाथ हाम्रो मानसपटलमा एउटा आकृति आँखा अगाडि आउँछ । हिउँले छपक्कै छोपेको । चाँदी जस्तै सेताम्य । जस्तोसुकै परिस्थितिमा पनि अटल रहने पहाडको चुचुरोहरु । हिमाल देख्नासाथ जो कोहिले गर्वको महसुस गर्दछन् । अनि स्थिर भएर अगाडि बढ्ने अठोट गर्दछ ।

नेपालको उत्तरपट्टि हे¥र्यो भने हिउँले ढाकिएको सेतै चम्किरहेको सेतो पहाड देख्नेछौं । सधैँभरि हिउँले छोपिएर रहने भएकाले हिमाल भनिएको हुन सक्छ । समुद्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइ भयो भने पहाडलाई सधैँ हिउँले छोप्छ । हिमाल यस्तै हिउँले छोपिएको पहाड हो । हिमाल जम्मा दुई हजार ४०० किलोमिटर लामो छ । त्यसमध्ये करिब ८५० किलोमिटर लामो हिमाल हाम्रो नेपालमा पर्छ । हिमालको चौडाइ भने लम्बाइ जति छैन ।

हिमालको चौडाइ २०० देखि ४०० किलोमिटरसम्म मानिएको छ । नेपालको हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र छ । अरू बाँकी हिमाल चीन, भारत, पाकिस्तान, भूटान र ताजकिस्तानमा पर्छन् । यो हिमालमा अग्लाअग्ला चुलीहरू छन् । विश्वको १० वटा सबैभन्दा अग्ला हिउँ चुचुराहरू यही हिमालमा छन् । हिमालमा भएको के–२ भन्ने चुचुरो पाकिस्तानमा छ ।

नवौँ चुचुरो नाङ्गा पर्वत पनि पाकिस्तानमा छ । अरू संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि लिएर अन्नपूर्ण–१ सम्म आठ वटा नेपालमा छन् । हिमालका चुचुराहरू सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धौलागिरि, मनास्लु र अन्नपूर्ण–१ नेपालमा छन् । यी सबै आठ हजार मिटरभन्दा अग्ला छन् । तर ती हिमालहरु अहिले नाङ्गिँदै गएको छ ।

फुङ्लिङ नगरपालिका–८ का चारपाटेका ८१ वर्षीय शेरबहादुर गुरुङ प्रत्येक दिन पहिलो दृश्य भने कञ्चनजङ्घा, कुम्भकर्णलगायतका हिमालमा आफ्नो आँखा डुलाएर मात्र दैनिकी सुरुआत गर्नुहुन्छ । उहाँको पुस्तासँग ती हिमालहरुको नाता जोडिएको छ । गुरुङको बाजेको पालादेखि भेडा चराउँदै कञ्चनजङ्घा र कुम्भकर्ण हिमालका टाकुराहरु चहारेका छन् ।

ती हिमालका फेदीहरुमा शेरबहादुरको पैतलाको छाप नरहेको ठाउँ भेट्न मुस्किल छ । उहाँ सानै उमेरमा बुबालाई सघाउन भेडा गोठ पछ्याउँदै हिमाल चहार्न थाल्नुभयो । हिमाल फेदीमा भेडा चराउँदाका उहाँसँग हजारौं तीतामीठा अनुभूतिहरु छन् । तर अहिले उहाँसँग भेडा गोठ छैन । भेडा चराउँदै हिमाल चहारेको ठाउँहरु भने उहाँको घरको झ्यालबाट देखिन्छ ।

उहाँ बिहान उठ्नेबित्तिकै झ्यालबाट भेडा चराउँदा चाहारेको हिमाल हेर्नुहुन्छ । तर आजभोलि हिमाल हेर्न लायकको नभएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमाल सेताम्य हुन्थ्यो सधँै । तर आजभोलि कोइला जस्तै कालो देखिन थालेको छ ।” पछिल्लो समयमा हिमाल पग्लदै गएको गुरुङको अनुभूति भइरहेको बताउनुभयो ।

ताम्लिङ शेर्पा बिहीबार बिहानको घाम ताप्दै कञ्चनजङ्घा हिमालतिर हेरेर टोलाउँदै हुनुहुन्थो । उहाँ समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा हो शेर्पाको घर । याङमा जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । हिमालको फेदीमा पर्दछ । शेर्पा जाडो छल्न् सदरमुकाम फुङ्लिङमा आउनुभएको हो ।

अहिले शेर्पाले हिमाल कालापत्थर जस्तै भएको हिमाल हेर्दै दिन बिताउनुहुन्छ । चिन्तित हुँदै शेर्पाले भन्नुभयो, “हिउँ पग्लेर हिमाल सुक्खा हुन थाल्यो । हिमाल सुक्खा भयो भने पानीको मुहान सुक्छ । चौँरी याकहरुले पानी खान पाउँदैन । जमिन सुक्का हुँदै गएपछि घाँस उम्रिँदैन । घाँस नभए पनि चौँरी याकहरु तिर्खा र भोकले मर्ने छन्”, याङमा गाउँका समुदायको मुख्य पेसा चौँरी याकपालन हो । उच्च हिमाली स्थान भएकाले अन्न हुँदैन । त्यसैले चौँरी याक गोठ नै मुख्य आम्दानीको स्रोत हो । त्यसैले सदरमुकाम बसेर ताम्लिङ शेर्पा हिमालमा हिउँ पग्लेर ढडेलो लागेको जस्तै कालो पत्थर जस्तै हिमाल हुदै गएसँंगै चिन्ताले पिरोल्न थालेको हो ।

“हिमालमा हिउँ पग्लदै गएको छ । खेतबारी सुक्खा हुँदैछ”, फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले भन्नुभयो, “बारीमा जौ, गहँु खेती उम्रने बाला लाग्न नपाई सुक्दै गएको छ । केही कसैले त पाइपमा पानी ल्याएर स्प्रिङकल (सिँचाइ गर्ने एक प्रकारको मेसिन) खेतबारीमा घुमाउँदैछन् ।” अहिले लिम्बूको दैनिकी नै अलैँची बगानमा सिँचाइ गर्न व्यस्त हुनुहुन्छ । पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खरेडीबाट अलैँची बगान जोकाउनका लागि बिहान बेलुका अलैँची बगानमा सिँचाइ गर्न व्यस्त भएको लिम्बूले बताउनुभयो ।

ताप्लेजुङका किसानलाई यतिखेर आलु रोप्न समय भएको तर हिमाल हिउँ पग्लदै गएर कालो पत्थर जस्तै भएपछि रोपेको आलु उम्रन नपाई सुक्ने पो हो की भन्ने चिन्ताले सताउन थालेको फक्ताङलुङ गाउँपालिका–६ का किसान मेघवीर हेल्लोकले बताउनुभयो । विगतका वर्षहरुमा मङ्सिरको दोस्रो सातादेखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थो । तर यसवर्ष भने माघ लाग्दासमेत हिउँ नपरेको समुद्र सतहदेखि तीन हजार ५०० मिटरमा अस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पाले बताउनुभयो ।

यता सदरमुकाम फुङ्लिङमा भने बिहानदेखि बेलुकासम्म हुस्सु लाग्ने गरेको छ । विगतमा यातायातका साधनको चाप कम हुन्थ्यो । विस्तारै विकास निर्माणसँगै मानिसको चाप र यातायातको चापसमेत बढ्दै गएकाले मधेसतिरको हुस्सु हिमाली क्षेत्रमा समेत फैलिन थालेको फुङ्लिङ नगरपालिका–५ का निर्मला रिजालको भनाइ छ । उहाँ भन्नुहुन्छ, “जलवायु परिवर्तनको असर खासगरी हिमाली क्षेत्रमा देखिएको छ । यसले स्थानीयवासीको जीवनशैली कष्टकर बनाएको छ ।”

हिमालमा हिमरेखाभन्दा माथिसम्म हिउँ पग्लदै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक सूर्यमान राईले बताउनुभयो । राईले भन्नुभयो, “जलवायु परिर्वनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ । हिउँ समयमै नपर्नु पनि प्रत्यक्ष अप्रत्यक्ष वातावरणमा असर पु¥याएको हुन्छ ।” कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा विश्वकै दुलर्भ जनावर हिउँ चितुवाको विषेश बासस्थान मानिन्छ । हिउँ नै पग्लदै गए पछि हिउँ चितुवासमेत सङ्कटमा पर्नसक्ने राईले चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र डब्लुडब्लुएफ, नेपालले सन् २०१५ मा हिउँचितुवालाई रेडियो कलर गरेको थियो । त्यस समयमा कञ्चनजङ्घा क्षेत्रमा २४ वटा हिउँचितुवा पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विकाससँगै सहरदेखि गाउँगाउँमा औद्योगीकरण, यातायात साधनको चाप वृद्धि भएसँगै वायु प्रदूषण बढ्दै गएकाले समयमा पानी नपर्ने समय हिउँ नपर्नेजस्ता समस्या देखा पर्न थालेको लामो समय देखि जैविक विविधता क्षेत्रमा काम गर्दै आउनुभएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । समयमै हिउँ नपरेकाले जोखिम पनि त्यतिकै बढ्दै गएको राईको भनाइ छ ।

जलवायु परिवर्तनका असरका कारण हिमाली क्षेत्रमा हिमताल सुक्ने, पानीको मुहान सक्दै जाने, वन तथा जङ्गल सुक्खा हुने भएकाले वन जङ्गलमा ढडेलो लाग्ने ठूलो सम्भाना रहेको राईले बताउनुभयो । वन जङ्गलमा रहने वन्यजन्तुकोसमेत स्थानान्तरण हुँदै जाने उहाँको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगत जलवायु परिवर्तन तथा स्वास्थ्य विभागको राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना जलवायु परिवर्तन स्वास्थ्थ अनुकूलन रणनीति तथा कार्ययोजना (विसं २०७२—२०७७) जलवायु परिवर्तन नेपालमा जलवायु परिवर्तन र यसबाट उत्पन्न हुने नकारात्मक असरहरूका कारण यो महत्वपूर्ण जनसरोकारको विषय बनेको छ ।

नेपालमा उपलब्ध तापक्रम र वर्षाको तथ्याङ्क अध्ययन तथा विश्लेषण गर्दा जलवायु परिवर्तन स्पष्टरूपमा तीव्र गतिमा भइरहेको विभागले जनाएको छ । तापक्रमको प्राप्त तथ्याङ्कअनुसार नेपालको समग्र तापक्रममा वृद्धि भएको छ भने हिमाली र पहाडी भेगमा तापमान बढ्नेक्रम तराई र भित्री मधेसका तुलनामा बढी पाइएको छ । वर्षाको तथ्याङ्कले स्पष्टरुपमा जलवायु विषमतासम्बन्धी कुनै स्पष्ट भिन्नता नदेखाए पनि नेपालमा भारी तथा अत्यन्त कम वर्षा हुने दिनको सङ्ख्या बढिरहेको पाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।