बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश

महोत्तरी, ६ माघ (रासस): सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ । बर्दिबास–२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा पाउने आश बढेको हो ।

बर्दिबास अस्पतालले बुधबारमात्रै विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको सेवा थपेको छ । अस्पतालले जनरल ओपिडी सेवा, इमर्जेन्सी सेवा र प्रसूति तथा महिला रोग सेवा दिँदै आएको थियो । यी सेवामा जनशक्ति अभावले उपचार प्रभावित हुँदै आएको थियो । अब बर्दिबास नगरपालिकाले दक्ष जनशक्ति थप गर्दै हाडजोर्नी तथा नसा रोग, शल्यक्रिया, नवजात शिशु स्याहार, दाँत, मुख तथा गिँजासम्बन्धी समस्या, ल्याब, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, स्वास्थ्य बीमासहितको सेवा विस्तार गरेको छ ।

अस्पतालले ज्येष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा, परिवार नियोजन, सुरक्षित गर्भपतन, किशोर–किशोरी, क्षयरोग उपचार, परामर्श तथा प्रेषण, सम्पूर्ण शरीरको जाँचसहितका सुविधा बढाएर नियमित गर्न लागेको छ । “अस्पतालका सेवा गुणस्तरीय र नियमित बनाउने भएपछि आफ्नै ठाउँमा उपचार गर्न सहज हुने आश जगाएको छ”, बुद्धचोकका उमेश आचार्य भन्नुहुन्छ ।

बर्दिबास नगरपालिका, अस्पताल व्यवस्थापन समिति र समुदायको राम्रो साथ रहेकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्णा महर्जन बताउनुहुन्छ । अस्पतालले अत्यावश्यक सेवा थपेर सोअनुसारको भौतिक र दक्ष जनशक्तिको व्यवस्थापन गरेपछि यस भेगमा सर्वसुलभ उपचार सेवा पाउने आश बढेको छ ।

“साना–तिना स्वास्थ्य समस्यामा पनि पैसाकै अभावले उपचार गराउन नसकिने अवस्था अब रहने छैन”, बर्दिबास–२ की पवित्रा खड्का भन्नुहुन्छ, “सुत्केरी हुने, गराउने बेला महँगा निजी अस्पतालमा पुग्नु नपरे पनि ठूलो राहत हुनेछ ।” अस्पतालले घोषणा गरेर प्रारम्भ गरेको सेवाले यो ठाउँ अब बर्दिबास नगर क्षेत्रमात्र नभएर छिमेकका भङ्गाहा, औरही र गौशाला नगर क्षेत्रसँगै छिमेकी जिल्ला धनुषाका मिथिला, सर्लाहीका ईश्वरपुर एवं लालबन्दी एवं सिन्धुलीका कमलामाई तथा दुधौली नगरपालिकासम्मका सेवाग्राहीका लागि भरपर्दो उपचार केन्द्र बन्ने विश्वास गरिएको छ ।

धनुषाको मिथिला, सर्लाहीका ईश्वरपुर र लालबन्दी तथा सिन्धुलीका कमलामाई र दुधौली बर्दिबास नगरपालिकासँग जोडिएका नगरपालिका हुन् । बर्दिबास नगरपालिकाले सेवासँगै अस्पतालको भौतिक संरचना पनि बढाउँदै लगेको छ । अस्पताल भवनमा यसअघि ५२ कोठा थिए । अब सेवा विस्तारसँगै कोठा थप्न थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउनुहुन्छ । पचास शय्याको अस्पतालमा अहिले चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी र परिचारिकासमेत गरी ८३ जना कार्यरत छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।