पेट्रोलियम पदार्थको खुलारूपमा बिक्रीवितरण नगर्न प्रहरीको अनुरोध
काठमाडौँ, ११ माघ (रासस) : नेपाल प्रहरीले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्रीवितरण नगर्न अनुरोध गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले गए राती सूचना जारी गरी पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौँका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गर्नुभएको छ ।
पेट्रोलपम्पबाट सिधैँ सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ । मङ्गलबार दिउँसो एक युवाले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले उक्त सूचना सार्वजनिक गरेको हो । सुरक्षा संवेदनशीलताको सूचनाविपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानुनबमोजिम हैदसम्मको कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिँदै
भालुवाङ, ११ माघ (रासस):
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ ।
नेकपा (एमाले) बाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभाबाट राजीनामा दिनुभएको थियो । उहाँको पद रिक्त भएपछि उपनिर्वाचनमार्फत राष्ट्रियसभा सदस्य चयन गर्न लागिएको हो । एमालेबाट कुमार दसौदीले मनोनयन दर्ता गर्दै हुनुहुन्छ । नेपाली कांग्रेसले भने उम्मेदवारको टुङ्गो लगाउँदै छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी तीन सय पाँच मतदाता छन् । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ दुई सय १८ मतदाता छन् । माघ १२ गते उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।
प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई–दुई तथा राप्रपा र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन् । यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादी केन्द्रले १०, राप्रपा र नागरिक उन्मुक्तिले चार–चार, जसपा, लोसपा र जनमतले तीन–तीन, तथा जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले एक–एक र स्वतन्त्रबाट दुई जनाले जितेका छन् ।
–––


