जुनेलो खेती लोप हुँदै

उदयपुर, १८ माघ ९रासस०ः जिल्लाको पहाडी क्षेत्रका किसानले परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेती गर्न छाडेका छन् ।

विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा सो खेती हुँदै आएको थियो । ती क्षेत्रमा पछिल्लो समय फापर र जुनेलो खेती नै हुन छाडेको कृषहरु बताउँदछन् । १२ वर्षअघि सम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्पादन गर्ने गरेको रौता पाँबुका कृषक खम्बबहादुर मगर भन्नुहुन्छ, “केही वर्षअघि सम्म आफूले गाउँमा अरूले बिस्तारै यो खेती छाड्दै लगे, चार वर्षयता आएर म आफूले पनि यो खेती अहिले पूर्ण रुपमा छाडी दिएको छु ।”

परम्परागत खेती छाड्दै गएको कारण अहिले जुनेलो र फापर उत्पादन हुन छाडेको उहाँ बताउनुहुन्छ । रौता रामेटारमा क्षेत्रमा विगतका वर्षहरुमा धान, कोदो र मकैभन्दा बढी जुनेलो उत्पादन गर्ने र बिक्री गर्ने गरे पनि अहिले जुनेलो खेती कृषकहरुले गर्न छाडेको रामेटारका ६७ वर्षीय सूर्यबहादुर कार्की बताउनुहुन्छ ।

विगतमा गाउँका एक कृषकले पाँच, सात मुरीसम्म जुनेलो उत्पादन र दुईचार मुरी फापर उत्पादन गरेर वार्षिक २० हजारभन्दा बढीको फापर र जुनेलो बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । घरपरिवारमा बिहान–बेलुकी खाजाका रुपमा प्रयोग हुने र राई मगर, बसोबास गर्ने गाउँघरमा खाजा र जाँडसमेत बनाएर खाने तथा प्रयोग गर्ने गरेको जुनेलोको हिजोआज खेती नै हुन छाडेपछि अहिले खाजा खाने जुनेलो पाउन छाडेको रौता मलबासेका स्थानीयवासी डिकबहादुर मगर बताउनुहुन्छ ।

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको भलायाडाँडा, तावाश्री, बाहुनीटार, इनामे क्षेत्रमा विगतका वर्षहरुमा व्यापक रुपमा उत्पादन हुँदै आएको फापर हिजोआज खेती हुन छाडेपछि यसको उत्पादन पनि झन्डै शून्य अवस्था नै हुन पुगेको भलायाडाँडाका स्थानीय कर्णबहादुर अधिकारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विगतमा पम्परागत खेतीको प्रचलन थियो, काम गर्ने जनहरु प्रशस्त हुन्थे, त्यसकारण गाउँघरका पाखाबारीहरुमा फापर उत्पादन हुने गरेको थियो, तर अहिले परम्परागत खेती हराउन थाल्यो, गाउँमा काम गर्ने मान्छे पनि पाउन छाडियो, फापर खेती सबैले छाड्दै लगे ।”

गाउँघरमा सडक आएपछि तराईमा उत्पादन भएको चामल गाउँमा आइपुग्न थालेको र गाउँको खेतमा पनि धान मकैमात्र खेती हुने गरेको कारण अहिले फापर खेती लोप हुँदै गएको भलायाडाँडाकै अर्का स्थानीय विष्णुप्रसाद काफ्ले बताउनुहुन्छ । विगतमा यस क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी फापर खेती उत्पादन हुने गरेको र बढी फापर उत्पादन हुने क्षेत्रका रुपमा परिचित रहेको काफ्ले बताउनुहुन्छ । तर अहिले गाउँमा एक पाथी फापर किन्नका लागि पाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ ।

उदयपुरगढी भलायाँडाँडाका ७० वर्षीय यमबहादुर बस्नेत भन्नुहुन्छ, “बूढापाकाहरु बुढा हुँदै गए, हिजोआजका युवाहरुले यो झन्झटिलो खेती गर्न चाहर्दैनन्, बारीमा हलो जोतेर फापर खेती गर्नु पर्छ, हलो जोत्ने मान्छे युवाहरुको पनि अभावको कारण गाउँघरबाट परम्परागत खेती हराउँदै गएको कारण पनि अहिले फापर, जुनेलो जस्ता अन्न बालीहरु लोप हुन थालेको हो ।”

लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका मकरबहादुर राई गाउँगाउँमा सडक पुग्नु, गाउँका अधिकांश युवा पुस्ताहरु सहरतिर तथा विदेश पलायन हुँदै जाँदा परम्परागत रुपमा उत्पादन हुँदै आएको जुनेलो तथा फापर खेती लोप हुँदै गएको बताउनुहुन्छ । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगर जुनेलो र फापर जस्ता अन्नहरुको खेती प्रवद्र्धन गर्ने नीति लिएको जानकारी दिनुभयो । उदयपुरको रौतामाई, उदयपुर गढी, लिम्चुङबुङ तथा ताप्ली गाउँपालिकाका अधिकांश गाउँघरका खेतबारीमा फापर खेती र पाखा जग्गाहरुमा जुनेलो खेती हुने गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖