सडक कालोपत्र: समय रहुञ्जेल सुस्त, सकिएपछि तीव्र

केदार मगर/खोटाङ, २१ माघ (रासस) : मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोमिटर) सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्रको कामले केही दिनयता तीव्रता पाएको छ ।

निर्माण व्यवसायीको लापर्बाही र ढिलासुस्तीका कारण सम्झौता अवधि सकिएको आठ महिनापछि बल्ल कालोपत्रको कामले तीव्रता पाएको हो । निर्माण सुरु गरेको सात वर्षसम्म अलपत्र बनेको उक्त सेखुवा–चखेवाभञ्ज्याङ सडकमा अहिले मेसिनरी पर्खाल र नाला निर्माणको काम धमाधम भइरहेको छ । निर्माणाधीन सडकमा उपकरण (क्रसर) प्रयोग गरेर कालोपत्रका लागि आवश्यक निर्माण सामग्री (रोडागिटी) तयार गर्नुका साथै सब–बेस हाल्ने कामसमेत भइरहेको पाइएको छ ।

काम सुरु गरेको सात वर्षसम्म सडक कालोपत्रको काम अलपत्र पार्ने कम्पनीले बाँकी काम पूरा गर्नेमा भने आफूहरु विश्वस्त हुने ठाउँ नरहेको सेखुवाका स्थानीय इन्द्रबहादुर रोकाले बताउनुभयो । “चार पटक म्याद थप हुँदा पनि कालोपत्रको काम गर्न नसकेको कम्पनीबाट थप कामको अपेक्षा गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “सडक कालोपत्रको काममा ढिलासुस्ती हुँदा विशेष गरी बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएको छ ।”

चखेवाभञ्ज्याङबाट भोजपुर हुँदै सङ्खुवासभाको किमाथाङ्का जोड्ने उक्त सडक कालोपत्रका लागि ठेकेदार कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले विसं २०७५ फागुन–३० भित्र सम्पन्न गर्ने गरी विसं २०७२ चैत–२ गते रु ३२ करोडमा ठेक्का सम्झौता गरेको थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि चौथो पटक थपिएको समयावधिसमेत गत जेठ मसान्त (२०७९ जेठ–३१ गते)मा सकिएको हो ।

निर्माणाधीन सडकको गुणस्तर कायम गराउन र छिटो सम्पन्न गराउन आफ्नोतर्फबाट खबरदारी गर्ने काम भइरहेको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईले बताउनुभयो । “लामो समयसम्म अलपत्र अवस्थामा रहेको सेखुवा–चखेवाभञ्ज्याङ सडक कालोपत्रको काम अहिले तीव भइरहेको छ”, उहाँले भन्नुभयो, “छिटो सम्पन्न गर्न र गुणस्तर कायम गराउन वडाको तर्फबाट दिनरात नभनी अनुगमन गरिरहेको छु । सम्भवतः यो आर्थिक वर्ष सम्पन्न हुने अवस्था देखिएको छ ।”

छिमेकी जिल्ला भोजपुरका स्थानीय बासिन्दाले समेत राजधानी काठमाडौँ आवतजावतमा प्रयोग गर्ने उक्त सडक कालोपत्रको काम ठेकेदारले अलपत्र पारेपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलीखेलले ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरेको थियो । योजना कार्यालयले ठेक्का तोड्न सिफारिस गरेको केही समयपछि खोटाङको साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईको रोहबरमा मैनाचुली निर्माण सेवा कम्पनीका प्रतिनिधि मदनकुमार अधिकारीले कार्यतालिका बनाएर बाँकी काम आगामी असार मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रतिबद्धतापत्रमा हाल निर्माण कार्य भइरहेको ठाउँमा सवारी साधनको निर्वाध आवागमनका लागि नियमित सडक मर्मतसम्भार, चखेवाभञ्ज्याङतर्फबाट सब–बेसको काम सुरु गरेर माघ–२५ गतेसम्म सक्ने, माघ–२६ देखि बेस लेइङको काम सुरु गर्ने उल्लेख छ ।

यस्तै, चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा सक्ने, फागुन मसान्तभित्र कङ्क्रिट पेभमेन्टको काम सक्ने, मध्यपहाडी लोकमार्ग योजना कार्यालयले आवश्यकताअनुसार प्राविधिक अनुगमन, निरीक्षण तथा दैनिक कार्य गर्न सहयोग गर्ने उल्लेख छ ।

ठेकेदारले प्रतिबद्धतापत्रमा उल्लेख गरेको कार्यतालिकाअनुसार काम नगरेमा ठेक्का सम्झौता तोड्न आफैँ लागि पर्ने साकेला गाउँपालिकाका प्रमुख राईले बताउनुभएको छ । “ठेक्का तोडेर पुनः प्रक्रियामा जाँदा झनै ढिलो हुने देखिएको छ”, उहाँले भन्नुभयो, “सेखुवा–चखेवाभञ्ज्याङ सडक छिमेकी जिल्ला भोजपुरका स्थानीय बासिन्दाको समेत प्रमुख मार्ग भएकाले तत्काल कालोपत्रको काम पूरा गर्न खबरदारी गरिरहेका छौँ ।”

गत पुस १७ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाले प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाइमार्फत मध्यपहाडी लोकमार्ग योजनाको कार्यालयलाई ज्ञापनपत्र पठाउँदै उक्त सडकखण्डको कालोपत्रको ठेक्का सम्झौता तोड्न माग गरेको थियो । ठेकेदार कम्पनीले सडक कालोपत्रको काम पूरा गर्ने छाँट नदेखिएको भन्दै मध्यपहाडी लोकमार्ग योजना कार्यालयले समेत ठेक्का तोड्न गत मङ्सिर–१८ गते सडक विभागसमक्ष सिफारिस गरेको थियो ।

तोकिएको समयमा सम्पन्न नभएको सेखुवा–चखेवाभञ्ज्याङ कालोपत्रको काम आगामी वैशाख मसान्तसम्ममा जसरी पनि पूरा गर्ने गरी कामलाई तीव्रता दिइएको ठेकेदार कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीका प्रतिनिधि विमल अधिकारीले बताउनुभयो । “निर्माणाधीन सडकको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “अहिले सब–बेसको काम भइरहेको छ । आगामी वैशाख मसान्तसम्म सबै काम सम्पन्न गरेर सडक विभागलाई बुझाउने योजना छ ।”

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको दिक्तेलतर्फ यसअघि नै कालोपत्र सम्पन्न भएर सञ्चालनमा छ । दिक्तेलबाट करिब ४६ किलोमिटर लामो उक्त सडकखण्ड पाँच भागमा विभाजन गरेर काम कालोपत्रको काम सुरु गरिएको थियो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।