घाँसीकुवाको अस्तित्व जोखिममा

डुम्रे, २ फागुन (रासस) :
भरजन्म घाँसतिर मन दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
म भानुभक्त धनी भैकन किन आजयस्तो

यो कवितांश घाँसीबाट प्रेरणा पाई आदिकवि भानुभक्त आचार्यद्वारा रचिएको हो । भानुभक्त मामाको घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको र सोही घाँसीबाट प्रेरणा पाई सो कविता रचना गर्नुभएको थियो भन्ने भनाइ छ ।

त्यसैले यस कुवाको संरक्षण आवश्यक रहेको स्थानीय तथा साहित्यिक क्षेत्रका व्यक्तित्वको भनाइ छ । घाँसीकुवालाई आदिकवि भानुभक्त आचार्यको प्रमुख प्रेरणास्थलको रुपमा पनि लिइएको छ । पृथ्वी राजमार्गको विस्तारले गर्दा घाँसीकुवाको अस्तित्व जोखिममा परेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तारले घाँसीकुवामा रहेको कुवा र उद्यान मासिने जोखिम बढेको छ । सडक विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने हुँदा संरक्षणका लागि तुरुन्त चासो राख्नुपर्ने माग स्थानीयवासीको छ । सडक विस्तारले गर्दा यहाँको अस्तित्व मासिने अवस्थाका लागि पटक–पटक स्थानीयवासीले नगरपालिका र प्रदेश तथा सङ्घ सरकारसमक्ष अनुरोध गर्दै आएको छ ।

घाँसीकुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।“न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिइरहेको छ, हाल रहेको कुवाभन्दा थोरै तल सारेर घाँसीकुवाको मूल्य मान्यतालाई स्थापित गर्नेछौंँ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो । “विगतमा सबैलाई सहज बनाउने उद्देश्यले कुँवा केही तल सारिएको थियो, प्रेरणा स्थल संरक्षण गर्नेछौँ”, उहाँले भन्नुभयो । घाँसी स्मारक पार्क संरक्षण समितिका कर्मचारी तथा स्थानीय बासिन्दा प्रेमराज पन्थले ऐतिहासिकस्थलको जसरी पनि संरक्षण हुनुपर्ने बताउनुभयो ।

“यहाँ धेरैले फोटो खिचेका छन्, घाँसीकुवाको पानी खाएका छन्, यो ऐतिहासिक ठाउँको संरक्षणका लागि सबैको चासो हुनुपर्छ”, पन्थले भन्नुभयो । देशव्यापी रूपमा चिन्ने ठाउँलाई जसरी पनि बचाउनुपर्छ र इतिहास मेट्न दिन नहुने पन्थको भनाइ छ । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । तर सङ्घीयता कायम भएसँगै अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।