अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै
काठमाडौँ, ३ फागुन (रासस): नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्दसत्र सुरु हुने छ ।
अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षमा नौ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्षमण्डलका सदस्यमा विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुङ्गेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर र सुनिता बराल रहनुभएको छ । अध्यक्षमण्डलले सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गराउने छ ।
महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्ने छ । महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन् । नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव वडाल दाबेदार रहेको बताइएको छ ।
काष्ठकला उद्योगबाट जीवन धान्दै कपाली दम्पती
–धनबहादुर गुरुङ
अन्नपूर्ण (कास्की), ३ फागुन (रासस) : नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरु भएको हो । नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्वपूर्ण छ । मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेट्न सकिन्छ ।
पछिल्लो समय कष्ठकला हराउँदै जान थालेको छ । कास्कीको पोखरामा एउटा परिवार काष्ठकला उद्योगले नै पालिएको छ । पोखरा महानगरपालिका–३ अर्चलबोटका चन्द्रमान कपालीको परिवार यसकै भरमा जीविकोपार्जन गर्दैआएको छ । पोखरा–३ तेर्सापट्टीमा चन्द्रमानको लुभिना उड कार्भिङ काष्ठकला उद्योग छ । उहाँ बिहानदेखि बेलुकासम्म उद्योगमै व्यस्त रहनुहुन्छ । कपालीकी श्रीमती बिनी श्रेष्ठले पनि फुर्सदको समयमा उहाँलाई साथ दिनुहुन्छ । काठलाई कुँदेर आकार दिँदादिँदै श्रीमान् श्रीमतीको दैनिकी बितिरहेको छ ।
चन्द्रमानले काठसँग साइनो जोडेको २० वर्षभन्दा बढी भयो । विसं २०६१ मा पोखरा आएर व्यावसयिकरूपमा लाग्नुभएका कपाली अहिलेसम्म यही पेसामा हुनुहुन्छ । उहाँले काठको काम सानैदेखि सिक्नुभएको हो । पुख्र्यौली थलोमा सबैले काठमा बुट्टा भर्ने काम गर्ने गरेको उहाँले सम्झिनुभयो । “ललितपुर बुङ्मतीमा धेरैले काठको काम गर्छन् । मैले पनि बाजुबाजेले गरेको हेरेरै सिकेको हुँ”, कपालीले भन्नुभयो, “विसं २०६१ मा पोखरा आएँ, त्यसपछि मेरो कमाइखाने माध्यम नै यही बनेको छ ।”
पोखरामा काम थालेको केही वर्षपछि उहाँ काठको काम गर्न मुस्ताङ पुग्नुभयो । मुस्ताङमा केही वर्ष काम गरेर फर्केपछि कपालीले पोखरामा लुनिभा उड कार्भिङ सञ्चालन गरिरहनुभएको छ । उहाँलाई तन्नेरी उमेरमा साथीहरू विदेश जाँदा पनि कहिल्यै विदेशिने सोच आएन । “सानैदेखि यही कामले मन तान्यो । हातमा सीप भएपछि आम्दानी पनि राम्रै भयो”, उहाँले भन्नुभयो, “साथीहरू कोही–कोही विदेश गए । मलाई त कहिल्यै जामजाम जस्तो लागेन ।”
अहिले कपालीको परिवारको खर्च काष्ठकलाले धानेको छ । “म यो कामबाट सन्तुष्ट छु । यो कामले सबैथोक दिएको छ”, उहाँले भन्नुभयो, “यसबाट भएको आम्दानीले खान पुगेको छ ।” काष्ठकलाको आम्दानीले उहाँले पोखरामा घर किनिसक्नुभएको छ । श्रीमतीको साथले उद्योग चलाउन सहज भएको उहाँ बताउनुुहुन्छ ।
कामदारलाई दिनुपर्ने पैसा जोगिएको कपालीकी श्रीमती बिनीले बताउनुभयो । छोराछोरीलाई विद्यालय पठाएपछि बचेको समय काममा सघाउने गरेको उहाँले बताउनुभयो । “श्रीमान्ले थालेको कामबाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो ।
उद्योगको कलात्ममक सामान गण्डकी प्रदेशभरसँगै अन्य जिल्लामा पनि पुगेको छ । मागका आधारमा सबैका लागि सबै स्थानमा काठका सामग्री पु¥याएको कपालीले सुनाउनुभयो । उहाँले बढी मात्रामा झ्यालढोकामा कला भर्नुभएको छ । “मन्दिर, होटल, पुराना सांस्कृतिक सम्पदा बनाउँदा उपभोक्ता आउँछन् अनि पैसा भएकाले कलात्मक झ्यालढोका प्रयोग गर्छन् ।”
कपालीको उद्योगमा झ्यालढोका बाहेक कलात्मक काठका मायाको चिनोलगायत सामग्री पाइन्छन् । कलात्मक काठको मूल्य रु एक हजारदेखि रु पाँच लाखसम्म पर्छ । यही पेसाबाट सबै खर्च कटाएर मासिक रु ३५ हजारसम्म बचत हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय काठको कलात्मक काम लोप हुँदै गएकामा कपाली चिन्ता व्यक्त गर्नुहुन्छ । आधुनिक जमानामा मेसिनबाट बुट्टा भर्ने काम हुने भए पनि हातले बनाएको जस्तो राम्रो नहुने कपालीको तर्क छ ।
“हातले नै कुँदेर यसरी सामान बनाउने काम विस्तारै हराउँदै जान थालेको छ”, उहाँले भन्नुभयो, “मैले त कलात्मक काम गर्छु । यस्तै कामबाट बन्ने ठेका, ठेकी, मदानी, मादलजस्ता काम लोप हुँदै जान लागेको छ । यसलाई बनाउनु जरुरी छ ।” कलात्मक काष्ठ उद्योगको काम सिक्न खोज्नेलाई आफूले जानेको सिकाउन तयार रहेको उहाँले बताउनुभयो ।


