अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस : मुख्यमन्त्री कार्की

धरान, ११ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको अर्थतन्त्र समस्यामा पर्दा औद्योगिक क्षेत्र तहसनहस भएको बताउनुभएको छ ।

आज धरानमा सुरु भएको धरान एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्र सुधारका लागि सरकारले नयाँ योजना ल्याएर निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय व्यवसायीहरूले विरोध गर्दै आएको बैंकको चर्को ब्याजदर नीतिप्रति सङ्घीय सरकार संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले यस विषयमा सङ्घीय सरकारले चाँडो आफ्नो धारणासमेत सार्वजनिक गर्न माग गर्नुभयो । मुख्यमन्त्री कार्कीले १० प्रतिशतभन्दा बढी ब्याजदर नहुने गरी बैंकको ब्याजदर कम गर्न राष्ट्र बैंकलाई सुझावसमेत दिनुभयो ।

“दश प्रतिशतभन्दा माथि नहुने गरी ब्याजदर घटाउनु पर्छ । प्रदेश सरकार त्यसका लागि छलफल र बहस गर्न तयार छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो, “निजी क्षेत्रलाई धेरै बलियोरूपमा स्थापित बनाउनु जरुरी छ । निजी क्षेत्रलाई बलियो बनाउन सकेमात्र देशको विकास गर्न सकिन्छ । उनीहरूको हात समाएर अगाडि बढ्नुपर्छ ।” उहाँले मुलुकको निर्यात घटेको र आयात झन्–झन् बढ्दै गएको बताउँदै सरकार यस विषयमा गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र सङ्घईले बैंकको चर्को ब्याजदरका कारण उद्योगी–व्यावसायीलाई परेको समस्याको निकास छिट्टै निस्किने विश्वास व्यक्त गर्नुभयो ।

खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको उल्लेख गर्दै उहाँले निकासको उपाय खोजेर सहजीकरणको बाटोमा अघि बढ्नुपर्ने बताउनुभएको हो । व्यापारघाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प नभएको उल्लेख गर्दै सङ्घईले सरकारले यसका लागि नीतिगत सहजता बनाएर लगानीको वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

व्यवसायी प्रवद्र्धनका लागि सुनसरी उद्योग वाणिज्य सङ्घले औद्योगिक प्रदर्शनी गरेर राम्रो काम गरेको बताउनुभयो । यसले यहाँको व्यापार व्यवासाय प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

आजदेखि सुरु भएको धरान एक्स्पो फागुन २० गतेसम्म चल्ने आयोजकले जनाएको छ । एक्स्पोमा धरान आसपास टाढाबाट आउने सर्वसाधारणका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । वराह क्षेत्र नगरपालिकाको चतराबाट समेत एक्स्पोमा आउन निःशुल्क बसको व्यवस्था गरिएको हो । धरानमा चार ठाउँबाट एक्स्पोस्थल धरान रङ्गशालासम्म निःशुल्क बस चलाइएको छ ।

एक्स्पोमा स्वास्थ्य परीक्षण शिविर पनि दैनिकरूपमा राखिएको छ । एक्स्पोमा पाकिस्तान, बङ्गलादेश र भारतका उत्पादनका स्टल ह्याङ्गर प्रविधिमा बनाइएको डोममा रहेका छन् । विदेशी सामग्रीका कुल १५ वटा स्टल एक्सपोमा रहेका छन् । पाकिस्तान जनावरको छालाबाट बनेको सामान उत्पादन गर्ने मुलुकका रूपमा विश्व प्रसिद्ध छ । नेपालबाट समेत छाला पाकिस्तान निर्यात हुन्छ । एक्स्पोमा महिला–पुरुष दुवैका लागि पाकिस्तानी लेदरको ज्याकेट, बेल्ट, क्याप आकर्षणको केन्द्र बन्ने आयोजक कमिटीका संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

बङ्गलादेशको तयारी पोशाकका उत्पादन महिलाका कुर्ता, सलवार, साडी, बालबालिकाका पोशाक आकर्षणको स्टल राखिएको छ । बङ्गलादेशको तयारी पोशाक युरोप, अमेरिकी मुलुकमा निर्यात हुँदै आएको छ । भारतीय उत्पादन तयारी पोशाकका साथै दैनिक भान्सा तथा घरायसी कामधन्दामा आवश्यक उपकरण राखिएको छ । भारतीय साडी, कुर्ता सलवार किन्न जोगबनी पुग्नेहरूका लागि एक्स्पोले रङ्गशालामै बजार लगाएको हुनेछ ।

विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न थालेको अल्लोका कपडा सङ्खुवासभाबाट ल्याई एक्स्पोमा राखिएको छ । एक्स्पोले जुम्लाको भिर मौरीको मह, माछाको अचारदेखि अग्र्यानिक र ब्राण्डेड वस्तु किनमेल गर्ने अवसर जुटाइएको छ । यस्तै पूर्वका कृषि अभियानकर्मी कृष्ण राईले कृषि प्रविधिको जानकारीसहित कृषि स्टल राख्नुभएको छ । विभिन्न प्रविधि प्रयोग गरेर उहाँले आफ्नो करेसाबारीको प्रविधिको प्रदर्शनी मेलामा गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।