भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा

युवराज विष्ट/भोजपुर, १२ फागुन (रासस): भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न सकेका छैनन् ।

यहाँ योगमायाको तपोभूमि गौडेनी, प्रसिद्ध शिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोस्रो हलेँसी भनेर निचिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत यहाँ प्रशस्त धार्मिक तीर्थस्थल छन् । यी ठाउँका बारेमा स्थानीयलाई समेत कम जानकारी छ ।

त्यस्तै जिल्लाकै अग्लो छाँगे झर्ना, सिलिचुङ चुचुरो, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थान जिल्लामा प्रसिद्ध छन् । यी स्थानबाट पर्यटकीयस्थलको सहज आनन्द लिन सकिन्छ । खासगरी बसाइँसराइ दर बढी भएका कारण यहाँको जनघनत्व कम छ । मानिसको चाप कम भएसँगै यस्ता स्थलका विकासमा प्रत्यक्ष असर पुग्ने स्थानीय जानकारहरूको भनाइ छ ।

ऐतिहासिक हतुवागढी, कोटगढी पनि छन् । हतुवागढी गाउँपालिकामा रहेको हतुवागढी र पौवादुङमा गाउँपालिकामा रहेको कोटगढी दुवै स्थान गुमनाम छन् । कतिपय ऐतिहासिक धरोहरको स्थानीयस्तरबाट संरक्षण गरिए पनि देश–विदेशमा चिनाउन नसक्दा यहाँ बाह्य पर्यटकको आवागमन कमै हुने गरेको छ । मानिसको बसोबास कम भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा मानिसको आवगमन घटेको देखिन्छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क जिल्लाको जनसङ्ख्या ऋणात्मक रहेको छ । विसं २०६८ को जनगणनामा जिल्लाको कुल जनसङ्ख्या एक लाख ८२ हजार चार सय ५९ थियो । विसं २०७८ को राष्ट्रिय जनगणनामा यहाँको जनसङ्ख्या घटेर एक लाख ५८ हजार नौ सय ९१ भएको छ । दश वर्षमा यहाँको जनसङ्ख्या २३ हजार चार सय ६८ ले घटेको छ । जिल्लाको जनसङ्ख्या वृद्धिदर वार्षिक एक दशमलव ३२ ले ऋणात्मक देखिएको छ ।

कुनै पनि ठाउँको पर्यटकीयसँगै अन्य क्षेत्रको विकासमा जनसङ्ख्याले भूमिका खेल्ने गर्दछ । तर यहाँ भने जनसङ्ख्याले विकासमा असर पु¥याएको देखिन्छ । त्यससँगै सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधार लगायतले पनि विकासको सूचक निर्धारण गर्दछ । यहाँ हिउँदयाममा यातायात सञ्चालन भए पनि बर्खायाममा मानिसलाई घुमफिरका लागि यातायातको सहज पहुँच छैन । यसका लागि कतिपय स्थानमा सडकको विकास गर्न आवश्यक छ भने कतिपय ठाउँका पर्यटकीय क्षेत्रमा पुग्न पैदलमार्गलाई व्यवस्थित बनाउनुपर्ने स्थानीयको माग छ ।

प्रचार अभाव तथा आवश्यक पूर्वाधार विकास अभावमा यहाँका पयर्टकीय क्षेत्र भएको तुलनामा पर्यटक नआउने गरेको जिल्लाका स्थानीय अजय राईको भनाइ छ । “यहाँ दर्जनौँ पर्यटकीय तथा धार्मिक क्षेत्र छन्”, उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रको तुलनामा घुम्न आउने मानिसको सङ्ख्या ज्यादै न्यून छ । कामविषेशले केही बाहिरबाट आए पनि यहाँको पर्यटकीय क्षेत्रलाई नै हेर्नका लागि भनेर आउने पर्यटकको सङ्ख्या कम छ । हामीले प्रचार–प्रसारमा ध्यान दिन आवश्यक छ ।”

यहाँको मुन्दुम पदमार्गको पछिल्लो समयमा आएर परिचित बनेपछि आशा गरेअनुसारको अनुपातमा पर्यटक आउन नसकेको राईको भनाइ छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराइैका समथर फाँटका मनोरम दृश्यावलोकन गर्दै यात्रा गर्न पाइने पदमार्ग भए पनि देशमा देखिएको कोभिडका कारण बाह्य पर्यटक आउन समस्या भएको राईको बुझाइ छ ।

उकालो–ओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक–३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ ।

यहाँका किराँत राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने अग्र्यानिक खानेकुरा, विभिन्न किसिमका वन–वनस्पती, जडीबुटीलगायत स्वाद लिन सकिन्छ । नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थानका रूपमा यसले चिनारी बनाएको छ । तर पर्यटकलाई यस्ता ठाउँको विषयमा कमै मात्रमा जानकारी हुँदा पनि आवगमन कम हुने स्थानीय जानकारहरूको भनाइ छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।