धनकुटाको साँगुरीगढीमा दलित समुदायलाई निःशुल्क स्वास्थ्य बीमा

धनकुटा, १६ फागुन (रासस) ः धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेकोे हो ।

हालसम्म पालिकाले एक सय २१ दलित समुदायको निःशुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिनुभयो । दश वडा भएको पालिकाको वडा नं ८ बाहेक सबै वडाका दलित परवारको बीमा गरिएको उहाँको भनाइ थियो ।

गएको साउनदेखि पालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । “उत्पीडित र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति दिन यो सुविधा दिइएको हो”, उहाँले भन्नुभयो ।

उक्त पालिकाले आफ्ना पालिकामा कार्यरत अन्य ५२ महिला स्वास्थ्य स्वयंसेवीकाहरुको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिएको थियो ।

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुरु
– राजकुमार पराजुली/काभ्रेपलाञ्चोक, १६ फागुन (रासस)ः अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार योजनाअन्तर्गत काभ्रेपलाञ्चोकको साँगाबाट निर्माण सुरु भएको छ । उक्त सडकखण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो ।

यी दुवै सडकखण्डको काम ठेक्का सम्झौता भएको ३६ महिनाभित्र सक्नुपर्नेछ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएकाले उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार सोमबारदेखि पहिलो चरणमा साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्य सुरु गरिएको हो ।

उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्न थालिएको र विस्तार गरिने कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो ।

साँगा–धुलिखेल सडकखण्डअन्तर्गत बनेपा नगरपालिकाको साँगा नजिक सडकको बायाँतर्फ होचो स्थानमा सोमबारदेखि पर्खाल बनाउन थालिएको छ । सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का परेको थियो । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी लामो छ । उक्त खण्डका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै ठेक्का सम्झौता भइसकेको विभागले जनाएको छ ।

सूर्यविनायकदेखि धुलिखेलसम्म निर्माण गर्नुपर्ने पुलका लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको थियो । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०÷२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएकोे छ । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको थियो ।
उक्त डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको अध्ययनमा जनाइएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो ।

आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार काठमाडौँबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने छ ।

यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक रु अर्ब मुआब्जा दिनुपर्ने जनाइएको छ ।

यसैबीच सडक विस्तारको प्रक्रियासँगै राजमार्गको मापदण्डअनुसार हाल भवन तथा जग्गाको लगत सङ्कलन सुरु गरिएको र सडकको बीचबाट दायँबायाँ २५÷२५ मिटरको मापदण्डअनुसार कार्यालयले राजमार्गअन्तर्गत पर्ने चार नगरलाई सहयोगका लागि पत्राचार गरिएको छ । उक्त सडकखण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरुप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन थालिएको हो ।

यस सडकखण्डमध्ये बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर सडकको केन्द्रविन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलब ८६ मिटर कायम हुनेछ । आयोजनाकी सिनियर डिभिजन इन्जिनियर राधिका प्रजापतिले सूर्यविनायकदेखि धुलिखेलसम्म छ लेनको सडक बनाउने तयारीअन्तर्गत सो सडकखण्डको साँगादेखि बनेपाको चण्डेश्वरी खोलासम्म चार दशमलव छ किलोमिटर राजमार्ग दायाँबायाँ २५ गज नै कायम हुने जानकारी दिनुभयो । बनेपा बजारमा मात्रै करिब तीन सयको हाराहारीमा घर छन् ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५÷२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम ग¥यो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको बताइन्छ ।

काभ्रेपलाञ्चोकको पूर्वी–दक्षणी क्षेत्र विपी राजमार्ग हुँदै आवागमन हुने सवारीसाधन काठमाडौँ–पूर्वी तराई गर्छन् । उत्तरी नाका तातोपानी पुग्न र सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ ।

यस्तै सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल नगरपालिका जोडिएको छ । यी सडकबाट अरनिको राजमार्गहुँदै प्रदेश १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् । सडक विस्तार भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।