उदयपुरमा चैते धानखेती घट्दै

उदयपुर, २२ फागुन (रासस) : उदयपुरको पूर्वी मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा फागुन महिनाको पहिलो हप्तामा लगाइने चैते धानखेतीमा यसपटक खडेरीले कमी आउने भएको छ । हिउँदमा एकपटक पनि वर्षा नभएका कारण चैते धान खेतीमा कमी आएको हो । रौतामाई गाउँपालिकाको भुटार, पोखरी, आपटार, मुर्कुची, पुवाँरे क्षेत्रका खोलानालामा पानी सुकेकाले चैते धान रोपाइँमा प्रभाव परेको मुर्कुचीका कृषक दिलबहादुर रिखाम मगर बताउनुहुन्छ ।

कटारी नगरपालिकाको रिस्कु, सोमबारे तथा मरुवा क्षेत्रमा पनि चैते धानखेती घटेको कटारी रिस्कुका दमन दनुवारले बताउनुभयो । रिस्कु क्षेत्रका साना खोलानालामा खडेरीले पानीको स्रोत नै सुक्दै जान थालेकाले धान रोप्ने काम नै गर्न नसकेको दनुवारले बताउनुभयो । उदयपुरगढी गाउँपालिकाको दनुवार बेँसी, बर्रे, भलायाडाँडा कालीखोला क्षेत्रमा भने मुश्कीलले यसपटक चैते धानखेती गरेको बर्रेका हीराबहादुर अधिकारीले बताउनुभयो ।

लिम्चुङबुङ गाउँपालिकाको जाँते, बासबोटे, ताम्लीछा र छताङ क्षेत्रका खेतमा पनि सिमसार क्षेत्र र खोलाका पानी सुक्दै जान थालेपछि थोरै कृषकले मात्र चैते धानखेती गरेको जाँतेका बृध्वज बुढाथोकीले बताउनुभयो ।

जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र चिलाउने क्षेत्रमा पनि गत वर्षजस्तो अधिकांश खेतमा चैते धानखेती गर्न नसकिएको खाँबुका कृषक देवराज तिमसिना बताउनुहुन्छ । जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार उदयपुर जिल्लामा बर्सेनी एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धानको खेती हुँदै आएको छ । खडेरीले पानीको स्रोत घट्दा चैते धानखेती गर्न समस्या भएको हुनसक्ने कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले बताउनुभयो । ज्ञानकेन्द्रका अनुसार २०६० सालभन्दा पहिला उदयपुरमा दुई हजार हेक्टर क्षेत्रफलमा उक्त धानखेती हुन्थ्यो । गाउँघरका युवाहरुले गाउँ छाड्ने, विदेश पलायन हुने, गाउँमा जनशक्ति अभाव तथा खडेरीले विगतको तुलनामा धानखेती कम हुँदै गएको जनाइएको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।