नयाँ नयाँ उडान गन्तव्यमा जोडिँदै पोखरा

रामबहादुर थापा/गण्डकी, १ चैत (रासस) ः हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् ।

हाल पोखरालाई काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज र भद्रपुरसँग हवाई सञ्जालले जोडेको छ । कोभिड–१९ महामारी जस्ता कारणबाट बन्द उडान सेवा पनि पुनः सञ्चालन गर्ने तयारीमा हवाई सेवा कम्पनी छन् ।

यसअघि पोखराबाट धनगढी, विराटनगर, सिमरा र जनकपुरमा पनि सिधा उडान हुँदै आएको थियो । हवाई यात्रुको आउजाउ घटेपछि ती गन्तव्यमा उडान सेवा रोकिएको थियो । पर्यटकीय गतिविधि पूर्ववत् स्थितिमा फर्कन थालेसँगै पोखरा आउने यात्रुको चाप बढ्ने विश्वास लिइएको छ ।

आन्तरिकसँगै विदेशी पर्यटकको आवागमनलाई लक्ष्य गरी सीमा क्षेत्र नजिकका सहरसँग पोखराको हवाई सम्पर्क स्थापित गरिएको हो । गत साता मात्रै निजी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा–भद्रपुर सिधा उडान सुरु गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखराको पर्यटनमा आशलाग्दो अवस्था देखिएको बताउनुभयो । “म आफैँ काठमाडौँदेखि फर्कंदा जहाजमा झन्डै आधा यात्रु विदेशी देखेँ, यो हाम्रा लागि सुखद खबर हो”, उहाँले भन्नुभयो । विमानस्थल प्रमुख गौतमले पर्यटकको चापलाई हेरेर विमान कम्पनीले उडान थपघट गर्ने बताउनुभयो । “यात्रु नपाए एयरलाइन्सले सेवा विस्तार गर्ने कुरा हुँदैन, पर्यटक बढे उडान थपिन्छ, नयाँ गन्तव्य पनि विस्तार हुन्छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय आन्तरिक हवाई यात्रुको सङ्ख्या पनि बढ्दो छ । कोभिडकालदेखि सुरक्षित यात्राका लागि पनि कतिपयले हवाई मार्ग रोज्न थालेका हुन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हवाई सञ्जाल विस्तारले पोखराको पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । “हवाई मार्गबाट नयाँनयाँ गन्तव्यमा पोखरा जोडिनु भनेको पोखराको पर्यटन उकासिनु हो”, उहाँले भन्नुभयो, “केही महँगो परे पनि छिटो र सहज यात्राका लागि पर्यटकले हवाई मार्ग रोज्छन्, पोखरा हवाई यात्राका लागि सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ ।”

अध्यक्ष अधिकारीले ‘नाट्टा’कै पहलमा पोखराबाट विभिन्न प्रदेशका सहरसम्म हवाई उडान सुरु गरिएको बताउनुभयो । “कोभिडलगायत कारणले केही ठाउँमा नियमित हुन सकेको छैन, पर्यटक चाप हुन थालेपछि विमान कम्पनीले फेरि उडान सुरु गर्छन्”, उहाँले भन्नुभयो । पोखरामा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । चीनले कोभिड–१९ महामारी थामिएपछि हालै गन्तव्य देशका रुपमा नेपाललाई राखेको छ । चीनको सो निर्णयबाट पोखरा घुम्न आउने चिनियाँ पर्यटक बढ्ने अपेक्षा लिइएको छ । भद्रपुर, जनकपुर, सिमरालगायत सीमा छेउका सहरबाट सिधा उडान हुँदा भारतीय पर्यटक सहज रुपमा पोखरा भित्रने व्यवसायी बताउँछन् ।

“सडक यातायातबाट घण्टौँ लाग्ने गन्तव्यमा हवाई मार्गबाट केही छिनमै पुग्न सकिने अवस्था छ, नेपालको बाटोघाटो पनि त्यति स्तरीय छैन”, नाट्टा गण्डकीका अध्यक्ष अधिकारीले भन्नुभयो, “पोखराबाट देशका मुख्य गन्तव्यसम्म नियमित उडान सेवाको सुनिश्चितता गर्नुपर्छ, यसमा राज्यको पनि सोच र योजना चाहिन्छ ।”

बुद्ध एयरका स्टेसन म्यानेजर गौतम बरालले धनगढीलगायत ठाउँमा पुनः उडान थाल्ने तयारी भए पनि आधिकारिक जानकारी नआएको बताउनुभयो । “अहिले बुद्ध एयरले पोखराबाट पाँच सहरमा उडान गर्दै आएको छ, यात्रुको माग भए अन्यत्र पनि सेवा विस्तार हुँदै जान्छ”, उहाँले भन्नुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले पोखराबाट हालै रात्रिकालीन उडान पनि सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एयरले काठमाडौँ, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान भर्न थालेको हो । चारै गन्तव्यबाट आएका जहाजले पोखरामा रात्रि विश्राम गर्ने र भोलिपल्ट सम्बन्धित गन्तव्यमा फर्कने गरेको विमानस्थलका अधिकारीको भनाइ छ । रात्रिकालीन उडान सेवाले पोखराको पर्यटन र अर्थतन्त्रको उत्थानमा टेवा पुग्ने विश्वास लिइएको छ ।

उक्त विमानस्थलमा गत फागुन ११ गते इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएसँगै रात्रीकालीन उडान सुरु भएको हो । गएको अङ्ग्रेजी नयाँ वर्षका दिन उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान भने अझै सुरु हुन सकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।