झापामा फैलिँदै ड्राइगन फ्रुट खेती

बनियानी, २६ चैत (रासस) : झापामा पछिल्लो समय ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको छ । एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने, खेती गर्न सजिलो र बजार मूल्य पनि राम्रो भएकाले यहाँ ड्राइगन फ्रुटको व्यावसायिक खेती फस्टाउँदै गएको हो ।

कम मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी लिन सकिने भएपछि ड्राइगन फ्रुट खेती सुरु गरेको यहाँका किसान बताउँछन् । गौरीगञ्ज गाउँपालिका–२ का भूपेन्द्र थापाले सुमेरु कृषि फर्ममार्फत् आठ बिघामा ड्राइगन फ्रुटको व्यावसायिक खेती गर्नुभएको छ । उहाँले दुई वर्षअघि खेती सुरु गर्नुभएकामा गत वर्षदेखि उत्पादन सुरु भइसकेको छ । अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएपछि ड्राइगन फ्रुट खेती थालेको थापाको भनाइ छ । “अघिल्लो वर्ष रू १२ लाखको बेचेँ”, उहाँले भन्नुभयो, “यो वर्ष पनि फूल फुल्न र चिचिला लाग्न थालेको छ ।”

यस वर्ष रू ३० देखि ४० लाखको ड्राइगन फ्रुटको कारोबार हुने उहाँको अनुमान छ । गतवर्ष झापा र मोरङका विभिन्न बजारमा आफ्नो उत्पादन पुगेको बताउँदै थापाले यस पटक बजारको अवस्था केही असजह भएको सुनाउनु भयो । “महँगो फल हो, बजार पनि असहज छ । यस पटक काठमाडौँसम्म ड्राइगन फ्रुट पु¥याउने सोच छ”, उहाँले भन्नुभयो । थापाले व्यावसायिक खेतीका लागि कृषि ज्ञान केन्द्र झापाबाट रू सात लाख अनुदानसमेत पाउनुभएको छ । गतवर्ष कार्यालयमार्फत् पिलर र थोपा सिँचाइका लागि उक्त रकम अनुदान पाएको उहाँले बताउनुभयो ।

अर्जुनधारा–११ का कृष्ण गौतमले श्री एग्रिकल्चर नर्सरी स्थापना गरी आठ कठ्ठामा एक हजार ६६ ड्राइगन फ्रुटको बिरुवा लगाउनुभएको छ । “झण्डै २० वटा विभिन्न फर्म घुमेर ड्राइगन फ्रुट खेती स्ुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “खेती गर्न सजिलो छ, उत्पादनको मूल्य पनि राम्रो छ ।” धेरै हेरचार गर्नु नपर्ने, पानी मल धेरै नचाहिने र बजार मूल्य पाि राम्रो भएका खेती सुरु गरेको उहाँले बताउनुभयो । ढुवानीसहित रू दुई सय ५० को दरले धरानबाट ‘रोज पिटया’ नामक ड्राइगन फ्रुट बिरुवा किनेर खेती थालेको उहाँको भनाइ थियो । “सुरुमा बीउ किनेर ल्याएर बिरुवा उत्पादन गरे पनि राम्रो फल नलाग्ने भएपछि बिरुवा नै किनेर लगाएको छु”, उहाँले भन्नुभयो ।

ड्राइगन फ्रुट एक पटक लगाएपछि सोहीबाट अरु बिरुवा उत्पादन गर्न सकिने गौतमले बताउनुभयो । एउटा पिलरमा चार वटा बिरुवा लगाउन सकिने र सोबाट ५ देखि ४० केजीसम्म ड्राइगन फ्रुट फल्ने उहाँको भनाइ छ ।

जिल्लामा छिटफुट रूपमा सुरु भएको ड्राइगन फ्रुट यतिबेला करिब ५० बिघा क्षेत्रफलमा फैलिइसकेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “एकै जनाले आठ बिघासम्म खेती गरिररहेका छन्”, उहाँले भन्नुभयो, “झापामा पछिल्लो समय ड्राइगन फ्रुट खेती फस्टाउँदो छ ।”

झापाको गौरीगञ्ज, मेचीनगर, दमक, बाह्रदशी, भद्रपुर, अर्जुनधारालगायत स्थानमा किसानले ड्राइगन फ्रुटको व्यावसायिक खेती गरिरहेका छन् । पानीमा नडुब्ने डोमट माटोमा यसको खेती राम्रो हुने प्रमुख विष्टले बताउनुभयो । मल र सिँचाइ राम्रो भएमा बिरुवा लगाएको एक वर्षदेखि उत्पादन सुरु हुने र वर्षौंसम्म फल्छ । ड्राइगन फ्रुटको सिजन चैतदेखि असोजसम्म मानिन्छ । चैतमा फुल फुल्न थालेपछि असोजसम्म उत्पादन हुन्छ । कृषि ज्ञान केन्द्र झापाले ड्राइगन फ्रुट खेती प्रवद्र्धनका लागि सिँचाइ र पिलरका लागि अनुदान दिइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।