प्रधानमन्त्रीसँग बार एशोसिएसनका पदाधिकारीको छलफल
काठमाडौँ, ३० चैत (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।
भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । छलफलमा बारका पदाधिकारीले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
संसदीय सुनुवाइ समिति गठन गर्ने विषयमा पनि बारका पदाधिकारीले प्रधानमन्त्रीसँग छलफल गरेका बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीसँग परामर्श गरी तत्काल बैठक बोलाएर आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कर्मचारी अभावले सेवाग्राही मारमा
बाजुरा, ३० चैत (रासस) : डिभिजन वन कार्यालयमा कर्मचारी अभावका कारण दैनिक कामकाजमा सकस हुने गरेको छ । सरकारले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा सेवाग्राही मारमा परेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको डिभिजन वन कार्यालयमा मागअनुसार कर्मचारी नहुँदा एक अधिकृतको भरमा कामकाज हुँदैआएको छ । डिभिजन वन मातहतका छ सबडिभिजन वन कार्यालयमा अधिकृतस्तरको दरवन्दी भए पनि वन रक्षकले कार्यालय सञ्चालन गर्दै आएका डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले जानकारी दिनुभयो ।
सबडिभिजन वन कार्यालयमा छ अधिकृतको दरबन्दी भए पनि दुई जनाको भरमा छ । दरबन्दीअनुसार जनशक्ति नहुँदा दैनिक प्रशासनिक काम प्रभावित हुने गरेको अयडीको भनाइ छ । उहाँले भन्नुभयो, “छ इलाका वन कार्यालयका लागि २८ वन रक्षकको दरबन्दी छ । तर १८ वनरक्षकले इलाका वनको प्रशासन चलाउँदै आएका छन् ।”
अधिकृतस्तरको दरबन्दी आठ जनाको भए पनि दुई जना मात्र कार्यरत छन् । इलाकामा भने अधिकृत तहका कर्मचारी नै छैनन् । वनरक्षकले काम गर्दैआएका छन् । “दुई जनाले काम भ्याउनुपर्ने बाध्यता छ”, अयडीले भन्नुभयो ।
भौगोलिक विकटताका कारण वनका लागेको डढेलो नियन्त्रण र चिसो मौसममा वन्यजन्तु चोरी सिकारीका घटना न्यूनीकरण गर्न जनशक्ति अभावका कारण सकस हुने गरेको वन अघिकृत भोजराज पाठकले बताउनुभयो । जनशक्ति अभावले कामको चाप बढेको छ । वनमा हुने आगलागी र वन्यजन्तु चोरी सिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीको सहयोग लिनुपरेको पाठकको भनाइ छ ।


