सहिद भिमनारायण गोल्डकप फुटवल प्रतियोगिता बैशाख २७ देखि हुने
धनकुटा ,२० बैशाख ।धनकुटाको तल्लो टुडिखेलमा बैशाख २७ गतेदेखि १५ औ सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । गोल्डकप आयोजक समितिले आज पत्रकार सम्मेलन गर्दै बैशाख २७ देखि जेठ २ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।
२०५५ सालबाट सञ्चालन हुन थालेको भीमनारायण गोल्डकपको यो १५ औं संस्करण हो । २०६३ सालयता बर्षेनी गोल्डकप सञ्चालन भइरहेपनि २०७६ यता प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । प्रतियोगितामा आयोजक टिम सहित पेमा युवा क्लव विराटनगर ,प्लानिङ ब्वाईज क्लब काठमाण्डौ,कञ्चनजंगा फुटवल क्लव सिलगुडी भारत, राष्ट्रिय जागृती फुटवल क्लव सुनसरी, झापा फुटवल क्लव झापा,एपिएफ काठमाण्डौ र विरगञ्ज युनार्यटेड विरगञ्ज गरि आठ टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
यस पटकको विजेताले ५ लाख र उप विजेताले २ लाख ५० हजार पाउँने गोल्डकप आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि ४१ लाख ५० हजार रुपैया खर्च हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सहिद भिमनारायण स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले भीमनारायण गोल्डकपलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि २ करोड रुपैयाको अक्षयकोष सञ्चालन गर्ने तयारीमा प्रतिष्ठान रहेको जानकारी दिनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि १० वटा उपसमिति समेत निर्माण गरेको प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिनुभयो ।


