सुशासनमा सघाउँदै पत्रकारिता

विपुल पोख्रेल/काठमाडौँ, २८ वैशाख (रासस) : निकै सकसपूर्ण तरिकाबाट वर्तमान सरकार गठन भएको थियो । चुनावमा एउटा गठबन्धन थियो, चुनावलगत्तैको सरकार निर्माणका क्रममा फेरि अर्को गठबन्धन बनिदियो । त्यो गठबन्धन पनि निरन्तर रहन सकेन । राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा फेरि चुनाव अगाडिको गठबन्धन ब्युँझियो । छोटो समयमा सत्ता समीकरणका खेल तीव्ररुपमा खेलिइरहँदा सरकारले आफूलाई कसरी जोगाउने भन्ने भन्दाबाहेक केही पनि सोच्न सकेको स्थिति थिएन ।

उपचुनावको मतपरिणामको व्याख्या गर्ने क्रममा प्रायःसबैको एउटै धारणा पाइयो कि यो मतपरिणामले नागरिकको सुशासनको उत्कट चाहनालाई उजागर गरिदिएको छ । यो निष्कर्षमा विमति राख्ने ठाउँ पनि थिएन । नयाँ दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको मतलाई पुराना दलसँगको निरासाको मत भनेर पनि परिभाषित गरियो भने नयाँ दलसँगको आशाको मत भनेर पनि परिभाषित गरियो । परिभाषित जसरी गरिएको भएता पनि रास्वपाले चुनावमा सुशासनको कुरा चर्कोरुपमा उठाएको थियो र त्यसबाट मतदाताको ध्यान खिच्न सकेको मान्न सकिन्छ ।
वर्तमान सरकार गठनसँगै सुशासनको मुद्धालाई प्रमुखताका साथ उठायो । तर, त्यसको प्रारम्भ कहाँबाट र कसरी गर्ने भन्ने अन्योलतामा सरकार हराई पनि रह्यो ।

निर्माणाधीन आयोजनाको मन्त्री प्रधानमन्त्रीवाट निरीक्षण, काठमाडौँका सडकका खाल्डाखुल्डी पुर्न निर्देशन, यातायात कार्यालयमा अनलाइन सेवाको प्रतिबद्धतामा सरकार दौडदै थियो । सुशासनप्रतिको आफ्नो प्रतिबद्धतालाई व्यावहारिक रुप दिनका लागि थिए र चल्दै छन् पनि यस्ता गतिविधिहरु । तर, भ्रष्ट प्रवृत्तिलाई नै तरङ्गित हुने गरी अनि नागरिकहरुमा पनि आशाको सञ्चार हुने गरी सुशासन लक्षित कुन काम गर्ने भन्ने निस्कर्षमा नपुगेको सरकारलाई अहिले मिडियाले एउटा बाटो देखाइदिएको छ र त्यस आधारमा आफ्नो कामको प्राथमिकीकरण गर्नका लागि प्रेरित गरेको छ ।

पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अङ्ग भनिन्छ । सन् १८२१ मा जर्मन सांसद एडमन वुर्कले राज्यलाई चौथो अङ्ग भनेर सम्बोधन गरेका थिए । उनको त्यो सम्बोधनपछि पत्रकारिताको महत्वमाथि चर्चा सुरु भयो र यसलाई चौथो अङ्गका रुपमा सम्बोधन गर्न सकिने तर्कमा सबै सहमत हुँदै आए ।

खासगरी सरकारले के गरिरहेको छ भन्ने सन्देश जनतालाई दिने तागत मिडियाले राख्छ । भ्रष्टाचारमाथि प्रकाश पार्दै जनता तथा सरकारलाई त्यसबारेमा सचेत बनाउँछ र गलत हुँदै गरेका गतिविधिका बारेमा पनि जानकारी गराउँछ । यी तीन वटा महत्वपूर्ण कार्य गर्नसक्ने भएकाले नै पत्रकारिताको चौथो अङ्गका रुपमा स्वीकार्यता बढ्दै गएको हो । आज पनि राज्यको चौथो अङ्गका रुपमा मिडियाको चर्चा परिचर्चा गरिन्छ । यसरी चर्चा गरिए झँै मिडियाले काम गर्दै जाँदा त्यसबाट लाभान्वित हुने भनेको राज्य नै हो । अर्थात् नागरिकहरुले अपेक्षा गरेको जस्तो समाज वा परिवेश निर्माण हुने हो ।

यहाँ चर्चा गर्न खोजिएका सन्दर्भ पनि आफ्नो प्राथमिकतामा अलमलमा परिरहेको सरकारलाई मिडियाले आफ्नो दायित्व निर्वाह गर्दै जाँदा त्यो अलमल हट्छ भन्ने नै हो । सुशासनका सन्दर्भमा कहाँबाट काम थाल्ने भन्ने अन्योलमा रहेको सरकारलाई नेपाली मिडियाले त्यो अन्योलता हट्ने गरी प्रेरित गरिदिएको छ । यस बीचमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई मिडियाले उजागर गरिदिएको छ । योसँगै मिलोमतोमा प्रक्रिया नै नपु¥याइ ठेक्का दिनका लागि कार्यविधि निर्माण गरेको खुलासा पनि भर्खरै भएको छ ।

मिडियाले निर्भिकताका साथ आफूलाई प्रस्तुत गर्दा सरकारलाई आफ्ना एजेण्डाको प्राथमिकीकरणमा सघाउ पुग्छ भन्ने दृष्टान्त यी सन्दर्भ हुन् । मन्त्री, सचिव भइसकेकाहरुलाई नै कारवाहीको दायरामा ल्याएर सुशासनका क्षेत्रमा काम गर्न थालेको आभास दिन सरकारले अवसर पाएको छ ।

मिडियाको निर्भिकतापूर्ण उपस्थिति र अनुसन्धानमा आधारित सामग्रीले सरकारले काम गर्न मार्ग पहिल्याउन सक्दो रहेछ भन्ने तथ्य पुुनःस्थापित भएको छ । त्यस्ता घटनाहरुलाई लुकाउन खोजे सरकार बद्नाम भएर रसातलमा पुग्नेछ भने सत्यको अनुसन्धान सही ढङ्गले गरेर त्यसलाई निष्कर्षमा पुराउने हो भने सरकारको हाइहाइ बढ्ने हो । अब कुन बाटोमा जाने भन्ने विषयमा सरकार आफैँ गम्भीर बन्न आवश्यक छ । जुन ढङ्गले काम गर्ने आकाङ्क्षा राखिएको थियो, आम अपेक्षा पनि थियो, अब त्यो बाटोमा हिँड्नका लागि सिङ्गो जनमतले नै साथ दिने परिवेश मिडियाले बनाइदिएको छ ।

मिडिया सबल भयो भने, त्यसको प्रभावले नयाँ तरङ्ग ल्याउन सक्छ । अमेरिकी पत्रकारको अनुसन्धानले राष्ट्रपति रिचर्ड निक्सनको राजीनामा निम्त्यायो, वाटरगेट काण्डले त्यो घटना परिचित छ । पत्रकारिताले आफ्नो सामथ्र्यको पहिचान गरी सुशासनका पक्षमा खेलेका तमाम भूमिकाको स्मरण गर्दै अब नेपालमा पनि शुसानका लागि पत्रकारिताको अभ्यास प्रारम्भ भएको कालखण्डका रुपमा यो समयलाई स्मरण गर्ने गरी अगाडि बढ्न सकिन्छ । निरन्तर फलोअप सामग्रीमार्फत निष्पक्ष छानबिनका लागि सरकारलाई सहज बनाइदिँदा नागरिकको अपेक्षा पूरा गर्ने सन्दर्भ पनि जोडिएर आउँछ ।

अहिले जुन ढङ्गले भ्रष्टाचारका विपक्षमा मिडियामा विषयवस्तु आइरहेका छन्, त्यसले नागरिकको ध्यानाकर्षण पनि भैरहेको छ । इन्टनेट प्लेटफर्म सबैलाई पत्रकारिता हो कि झै मानिदै गरिएको बेलामा पत्रकारिता अलग हो भन्ने बुझ्न बुझाउन पनि यस्ताखाले अनुसन्धानमा आधारित र जनचासोका विषयलाई मिडियाले प्रवाह गर्नुपर्ने हुन्छ । मिडियाको बिश्वसनीयतालाई अभिवृद्धि गर्नका लागि पनि अनुसन्धानमा आधारित सामग्रीको अत्यधिक प्रवाह आवश्यक पर्दछ ।

एक जना विद्ववानले भनेका छन्,–जुनकुरा देखाउन खोजिन्छ, त्यो विज्ञापन हो, जुन कुरा दबाएर राख्ने प्रयास हुन्छ, त्यो समाचार हो । यो तर्कलाई स्वीकार गर्दै अगाडी बढ्ने हो भने पत्रकारितले दबाउने इच्छाका साथ राखिएका विषयहरुको गर्तमा गएर खोजेर ल्याृउने शाहस गर्दछ । यो तर्कले पत्रकारलाई त्यसैगरी अभिप्रेरित पनि गर्दछ । अमेरिकाको वाटरगेट काण्डको अनुसन्धान गर्ने पत्रकारद्वय बब वुडवार्ड र कार्ल बर्नस्टिनको भूमिकाले त्यहाँको अपराधिक र भ्रष्टाचारको काण्ड जुन ढङ्गले बाहिरियो, त्यसले संसारभर तरङ्ग ल्याइदियो । आज संसारभर अनुसन्धानात्मक रिपोर्टिङको चर्चा गर्दा वाटरगेट काण्ड अनि त्यसको अनुसन्धान गर्ने पत्रकारद्वय बव वुडवार्ड र कार्ल बर्नस्टिनको नाम आइहाल्छ । हाम्रो अभ्यास र पत्रकारिताप्रतिको समर्पण भावले नेपालमा पनि बव बुडवार्ड र कार्ल बर्नस्टिन जस्ता पत्रकारहरुको जन्म नहोला भन्न सकिँदैन ।

पत्रकारितामाथि प्रश्न उठाइँदै गर्दा, पत्रकारिताको विश्वसनीयतामाथि शङ्का गरिदै गर्दा फेरि पनि सही सूचना दिने माध्यम पत्रकारिता नै हो । नागरिकको चाहना बुझेर त्यसका लागि बिभिन्न चुनौतीको सामना गर्दै अनुसन्धान गरेर निरन्तर सूचना प्रवाह गर्ने भनेको पत्रकारिता मात्रै हो । पत्रकारिताको अभावमा नागरिकले सूचना पाउने प्रणाली नै खत्तम हुनपुग्छ र एउटा अकल्पनीय अन्धकारमा समाज धकेलिन्छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति थोमस जेफर्सनले भनेका छन् कि, यदि मलाई सरकार र पत्रकारितामध्ये एक रोज्न प¥यो भने मैले एक मिनेट पनि नसोंचेर पत्रकारिता रोज्नेछु । जेफर्सनको यो रोजाइले समाजमा पत्रकारिताको अनिवार्य आबश्यकतालाई दर्शाउँछ । विभिन्न कालखण्ड र सन्दर्भमा पत्रकारितामाथि प्रश्न उठाइन्छ पनि, लाञ्छना नै लगाइन्छ पनि । आक्रमणको प्रयास पनि हुने गर्दछन् । तर पत्रकारिता त्यसबाट रत्तिभर विचलित हुनु हुँदैन । त्यस्ता प्रतिक्रियालाई अझ राम्रो गर्ने प्रेरणाका रुपमा लिँदै आफ्नो दायित्व निर्वाहको पथमा हिँडिराख्नु नै पत्रकारिताको धर्म हो ।

गल्तीलाई ग्रहण गर्ने र सच्चिन तत्परता देखाउने चरित्र हो पत्रकारिताको । आलोचना र लाञ्छनाले पत्रकारिता कमजोर हुँदैन, बरु थप सशक्त हुन प्रेरित गर्दछ । नेपालको सुशासनका सन्दर्भमा नेपाली पत्रकारिता क्षेत्रले प्रारम्भ गरेको अध्यायलाई एउटा यस्तै प्रेरणाको प्रवाहका रुपमा लिन सकिन्छ । पत्रकारलाई सूचना दिनका लागि र तथ्य दिनका लागि नागरिक पनि जागरुक भइदिने हो भने अझ सहज हुने छ र असल नागरिकको कर्तव्य निर्वाह गरेको मानिने छ भन्ने बुझाई आमनागरिकमा हुन सक्यो भने अझ राम्रो परिणामतर्फ अग्रसर हुनेछौँ । (लेखक नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।