भोजपुर श्यामशिलावासीको दैनिकी किवी खेतीले फेरिँदै

युवराज विष्ट/भोजपुर, १३ जेठ (रासस) : पराम्परागत खेती गर्दै आएका भोजपुरको श्यामशिलावासीको दैनिकी फेरिँदै गएको छ । आलु, मकैलगायत बाली लगाउँदै आएका यहाँका किसानले किवी खेती गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको हो ।

पौवादुङमा गाउँपालिकाले यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भू–भागमध्ये उपयुक्त जमिनलाई लक्षित गरेर किवीको पकेट क्षेत्र घोषणा गरेपछि यहाँका स्थानीयवासी व्यावसायिक किवी खेतीमा जुटेका छन् । बहुवर्षीय बालीका रूपमा मानिएको किवीबाट अन्य बालीको तुलनामा कम मेहनतमा राम्रो आम्दानी लिन सकिने भएपछि यहाँका एक सय बढी कृषकले किवी खेती गर्दै आएका छन् ।

यस क्षेत्रको तीन सय बढी रोपनीमा किसानले किवीको खेती गर्दै आएको वडा कार्यालयले जनाएको छ । यो क्षेत्रलाई किवीको ‘ब्लक’ नै बनाएर लैजाने योजनाका साथ काम भइरहेको पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । “हामीले श्यामशिला क्षेत्रमा किवी खेतीको विस्तारमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “पकेट क्षेत्र घोषणा गरेर किसानलाई आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ । अब यस क्षेत्रलाई किवी ब्लकका रूपमा विस्तार गर्ने भावी योजना छ ।”

एक पटक विस्तार गरेपछि वर्षौैंसम्म राम्रो आम्दानी लिन सकिने भएपछि व्यावसायिक किवी खेतीमा जुटेको स्थानीय कृषक मधु सुब्बाले बताउनुभयो । अहिले करिब पाँच रोपनी क्षेत्रमा किवी विस्तार गरेको उहाँको भनाइ थियो । “अहिले हाम्रो क्षेत्रमा धेरै किसानले व्यावसायिक किवी खेती गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “थोरै मेहनतमा अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान यसमा आबद्ध भएका हुन् ।” उहाँले गाउँपलिका र वडाले आवश्यक सहयोग गरेपछि किसानलाई थप हौसला मिलेको बताउनुभयो ।

करिब छ रोपनी जमिनमा आलु, मकैलगायत खेती गर्दै आएको भन्दै उक्त जमिनमा अहिले व्यावसायिकरूपमा किवी खेती गरिरहेको स्थानीयवासी दालकी शेर्पाले बताउनुभयो । अहिले उहाँले तीन सय बोट किवी लगाउनुभएको छ । “आलु, मकैको विकल्पमा किवी खेती गरिरहेकी छु”, उहाँले भन्नुभयो, “यसको खेतीबाट वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी लिने लक्ष्य छ । किवी लगाएर बाँकी रहेको ठाउँमा तरकारी खेती गर्ने योजना छ । यसबाट पनि थप आयआर्जनमा टेवा पुग्छ ।”

गाउँपालिकाको सहयोगले व्यावसायिक किवी खेतीमा लाग्न सहज भएको स्थानीयवासी देवराज राईले बताउनुभयो । गाउँमा किवी खेती अभियानका रूपमा सञ्चालन भइरहेको भन्दै उहाँले पालिकाले निम्न आयस्तर भएका कृषकलाई प्रोत्साहनस्वरूप सहयोग गरेकाले खेतीमा लाग्न मद्दत मिलेको बताउनुभयो । “किवीको खेती गर्ने मेरो पहिलादेखि नै सोच थियो”, कृषक राईले भन्नुभयो, “धेरै ठाउँमा खेती विस्तार गर्न ठूलो लगानी लाग्ने हुँदा अलिअलि लगाएको थिएँ । अहिले गाउँपालिकाले सहयोग गरेकाले मलगायत गाउँका धेरैले व्यावसायिक खेती गरिरहेका छौँ ।”

किवी खेतीको लागि उपयुक्त भूगोल रहेकाले श्यामशिला क्षेत्रलाई किवी पकेट क्षेत्र निर्धारण गरी आवश्यक सहयोगको कार्यक्रम सञ्चालन गरिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । विभिन्न आर्थिक वर्षमा गरी किवी खेतीका लागि रु ५० लाख बढी गाउँपालिकाले लगानी गरेको उहाँले जानकारी दिनुभयो । यहाँ विस्तार गरेको किवीले उत्पादनसमेत दिन थालेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ थियो । “यस क्षेत्रलाई किवीको उपयुक्त क्षेत्रका रूपमा लिएका छौँ । यहाँको हावापानी किवीका लागि निकै उपयुक्त छ । गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि किसानमा उत्साह बढेको पाएका छौँ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रममा जोड दिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । माटो सुहाउँदो खेतीमा प्रोत्साहन गर्दै पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने नीतिका साथ काम गरिरहेको उहाँको भनाइ थियो । सामूहिकरूपमा कृषि गर्ने र बाँझो रहेका जमिनमा ठूलो कृषि फर्म सञ्चालन गर्ने किसानलाई थप प्रोत्साहन गरिने अध्यक्ष राईले बताउनुभयो । “जमिनको उत्पादकत्व र माटो सुहाउँदो बालीमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “किसानलाई आधुनिक कृषिमा जोड्दै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ ।”

गाउँपालिकाले यहाँको भूगोल निर्धारण गरेर विभिन्न बालीको खेतीमा जोड दिएको छ । माथिल्लो भेग श्यामशिलालाई किवी पकेट क्षेत्र, गाउँपालिका–३ च्याङ्ग्रे, ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठूलोदुम्मालाई अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरिएको छ । गत वर्ष अकबरे खुर्सानीबाट रु छ करोड बढी आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।

वडा–२ तिवारी भञ्ज्याङको सडकभन्दा माथिदेखि श्यामशिलाको १ नं वडा कार्यालय मुनिको भूगोललाई आलु, बन्दागोभी र काउली खेती गर्न पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथका काम भइरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । “गाउँपालिकामा हामीले कृषिलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न ठाउँमा भूगोल अनुसारका खेती भइरहेका छन् । अबको पाँच वर्षमा यस गाउँपालिकालाई पूर्णरूपमा कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार काम भइरहेको छ ।”

किवी प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयसम्ममा बिक्री हुने गरेको छ । यसलाई एक हजार पाँच सय मिटरदेखि दुई हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।