पर्यटक लक्षित बेगनास ताल संरक्षण अभियान

–वासुदेव पौडेल/ऋषिराम बराल
गण्डकी, २२ जेठ (रासस) : तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसार सूचीमासमेत सूचीकृत भइसकेका छन् । सात तालको बाटिका भनेर चिनिने पोखराको लेखनाथ क्षेत्रमा अवस्थित सबैभन्दा ठूलो ताल हो बेगनास । बाह्रै महिना कञ्चन पानी टल्पलाइरहने यो ताल अझै पनि पर्यटकको पर्खाइमा छभन्दा अत्युक्ति नहोला ।

पोखरामा फेवा तालमा दैनिक ठूलै सङ्ख्यामा पर्यटक पुगे पनि बेगनास तालमा भने आइपुग्नेको सङ्ख्या कम नै हुने गर्दछ । पछिल्ला समयमा यहाँ पर्यटकको आगमन बढाउन लेखनाथ उद्योग वाणिज्य सङ्घसहित बेगनास ताल डुङ्गा व्यवसायी समिति, मत्स्य व्यवसायी सङ्घ लेखनाथलगायतका सङ्घसंस्था क्रियाशील बनेका छन् । बेगनास तालको संरक्षणसँगै यसको पर्यटकीयरुपमा अधिकतम् उपयोग होस् भन्ने कुरालाई लेखनाथ उद्योग वाणिज्य सङ्घले सधैँ आफ्नो प्राथमिकतामा राखेको सङ्घका अध्यक्ष छत्रधर आत्रेय बताउनुहुन्छ ।

पोखरा र आसपासका सञ्चालन हुने महोत्सवमध्ये सबैभन्दा ठूलो सङ्ख्यामा सर्वसाधारणको जमघट हुने लेखनाथ महोत्सवका अवसरमा वर्षेनी यसको संरक्षण र उपयोगलाई जोड दिदै विभिन्न कार्यक्रमहरू समेत सञ्चालन हुने गर्दछ । महोत्सव सुरु भए यता नै तालको संरक्षण र पर्यटकीय उपयोग गर्ने विषय प्राथमिकतामा रहँदै आएको उहाँको भनाइ छ । लेखनाथ महोत्सव २०५८÷५९ देखि नै सुरु भएपनि औपचारिक र व्यवस्थित रुपमा २०६० सालबाट सुरु भएको हो ।

अध्यक्ष आत्रेयले ताल किनाराको रातमाटा क्षेत्रमा करिब रु १३ लाखको लागतमा अङ्ग्रेजी अक्षरमा ‘बेगनास लेक’ लेखिएको ठूलो बोर्ड राख्ने तयारी गरिएको बताउनुभयो । बेगनास ताल आउने पर्यटकले टाढैबाट देख्न सक्ने गरी बनाउन लागिएको बोर्ड ७० फुट लम्बाई र १७ फुट उचाइको हुनेछ । बोर्डमा प्रयोग हुने प्रत्येक अक्षर १० फुटको हुने जनाइएको छ । सङ्घले २०७९ मा सम्पन्न १८ औं लेखनाथ महोत्सवमा बेगनास ताल र यहाँका गतिवधिलाई बुझ्ने गरी डेमो पनि प्रदर्शन गरेको थियो ।

लेखनाथको समृद्धिको महत्वपूर्ण आधार बेगनास भएकाले ताल र यहाँ हुने गतिविधिलाई समेटेर तयार गरिएको उक्त दृश्यका अवधारणाकार एवं लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व सदस्य विश्वगोपाल श्रेष्ठले १० जना सहयोगी लिएर एक हप्तामा उक्त डेमो तयार गर्नुभएको थियो । बेगनास तालको दृश्यमा ताल र आसपासका स्थान, तालको मुहान स्याङ्खुदीदेखि कपासे, बेगनास मौरी उद्योग, तालको सबैभन्दा गहिरो भाग रहेको कुसुन्डे, जिमिरे कुना, पिप्ले जलारी बस्ती, ड्याम साइड आदि विषय समेटिएको थियो ।

त्यस्तै ताल वरपरका बस्ती मन्धरे पार्क, अलैँचे, बाँस कुना, देउराली मन्दिर, कहेरे, रुपा बेगनास भ्यु टावर, काउरे, माझिकुना दृश्यमा समेटिएको थियो । पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको माझीकुना, मलादी, ठूलो सालको रुख, बराह क्षेत्र, राते टूडो, सुमिको रुखआदि दृश्यसँगै ठाउँठाउँमा घर तथा बस्तीले यहाँको सम्भाव्य विकासको अवस्थालाई पनि चित्रण गरिएको थियो ।

पछिल्लो समयमा बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न पहल थालिएको छ । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको हो । साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको रु एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष एवम् बेगनास ताल बराह संरक्षण समितिका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिनुभयो ।

बराह क्षेत्रमा बेगनासताल बराह क्षेत्र पर्यटकीय पूवर्पाधार निर्माण योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारबाट रु ५० लाखको सहयोग प्राप्त भई निर्माण कार्य अघि बढाइएको समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताउनुभयो । योजनाअन्तर्गत बेगनास ताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण थालिएको हो । योजनाका लागि कुल ५५ लाख ७६ हजार ९१७ रुपैयाँ लागत लाग्नेमा गण्डकी प्रदेश प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र श्रमदानबाट रु पाँच लाख ७६ हजार ९१७ विनियोजन गरिएको छ ।

बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेका थिए । बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमा समेत पु¥याउने लक्ष्यका साथ मन्दिरलगायतका संरचना निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

प्राचीनकालदेखि अत्यन्त आस्था विश्वासका साथ पूजाआजा गरिंदै आइएको यस तीर्थस्थलमा डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्दै आएका छन् ।

बराह मन्दिरबाट बेगनासकोटसम्म तीन किलोमिटर दूरीको पदमार्ग बनाउने काम सुरु भएको वडाअध्यक्ष कंडेलले जानकारी दिनुभयो । पदमार्गका लागि अघिल्लो वर्ष महानगरबाट १५ लाख रुपैयाँ सहयोग प्राप्त भएकोमा यस वर्ष नौ लाख नौ हजार रुपैयाँ प्राप्त भएको छ ।

त्यस्तै तालको किनारामा पैदल मार्ग(फुट ट्रयाक) बनाउनका लागि नेपाल पर्यटन बोर्डको रु १५ लाख र पोखरा महानरपालिकाको रु तीन लाख ७५ हजार गरी १८ लाख ७५ हजार रुपैयाँको लागतमा डुङ्गाघाटबाट फुट ट्रयाक निर्माण सुरु गरिएको छ । महानगरपालिकाले बेगनास सेरोफेरो कार्यक्रमअन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको कंडेलले जानकारी दिनुभयो ।

बेगनास बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म यस स्थानमा महायज्ञ गरिएको थियो । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रवनाथ अधिकारीका अनुसार महायज्ञमा कूल रु एक करोड चार लाख आम्दानी भएकामा सबै खर्च कटाएर रु ७६ लाख बचत भएको थियो । बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ ।

बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने लक्ष्य रािखएको थियो ।

महायज्ञपश्चात् उक्त क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जानकारी दिँदै अधिकारीले बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताउनुभयो । तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण गरिएको जानकारी दिँदै उहाँले बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको बताउनुभयो ।

बेगनास तालमा डुङ्गा व्यवसाय सञ्चालनमा २५६ जना व्यवसायी आवद्ध रहेको बेगनास डुङ्गा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलले बताउनुभयो । डुङ्गा व्यवसायीसँगै वर्षौदेखि माछा मारेर जीविकोपार्जन गर्दै आएका जलाहारी समूदाय पनि एकाकार हुँदै तालको संरक्षण, विकास र उपयोगमा सहकार्य गर्दै अघि बढ्ने कंडेलले जानकारी गराउनुभयो ।

बेगनास ताल आसपासका व्यवसायीको व्यावसायिक क्षमता अभिबृद्धिका लागि समितिले गत चैतमा अवलोकन भ्रमण गराएको थियो । समितिले ९० जना व्यवसायीलाई पछिल्लो समयमा चर्चित भरतताल, जनकपुर, सहिद स्मारक, सौराहा, सिजी धाम आदिमा अवलोकन भ्रमण गराउँदै त्यहाँबाट पर्यटकको आतिथ्यता लगायतमा प्रत्यक्ष बुझ्ने अवसर प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

बेगनासतालमा हाल २५६ वटा डुङ्गाले पर्यटकलाई सेवा दिइरहेका छन् । पर्यटकको आगमन बढाउने उद्देश्यका साथ समितिले हालै ५० लाख रुपैयाँको मोटरबोट खरिद गरेको छ । समयानुकल रुपमा पर्यटकलाई स्तरीय छिटो छरितो सेवा दिने उद्देश्यका साथ डुङ्गा व्यवसायीले सामुहिक रुपमा रकम उठाएर मोटरबोट ल्याएको जानकारी दिदै अध्यक्ष तिवारीले यसका माध्यमबाट शेयर सदस्यको आर्थिक क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

जल विहारसँगै माछाका विभिन्न परिकारको स्वाद लिन पाउनु बेगनास तालको अर्को विशिष्टता हो । बेगनास तालमा मात्रै विभिन्न ४६ रैथाने प्रजातिका माछा पाउने गरिएकामा पछिल्ला समयमा टिलापिया जस्ता मिचाहा प्रजातिका कारण उक्त सङ्ख्या घट्दो क्रममा रहेको छ । यस क्षेत्रका ५६ घरपरिवार अधिकांशले मत्स्य व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

तालको उत्तरी किनारमा रहेको पिप्लेगाउँमा ४२ परिवारको बसोबास भएकामा ३२ परिवार जलारी समुदायका छन् । बाँकी छ परिवार विक र चार अन्य छन् । वर्षौदेखि माछा मारेर जीवीका गर्दै आएका उनीहरूको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । माछा बिक्री गरेरै प्रत्येक परिवारले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्दै आएको वेगनास ताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारी बताउनुहुन्छ ।

तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु एक सय ८० देखि रु एक हजारसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत विभिन्न प्रजातिका माछा पाइन्छन् ।

कोरोनाअघि माछाको स्वाद लिन ठूलै संख्यामा पर्यटक आउने गरेकोमा त्यसयता भने केही कमी आएको स्थानीयवासीको तर्क छ । पछिल्ला समयमा विस्तारै पर्यटकहरू आउने क्रम बढ्ेका कारण आशा जगाएको उनीहरू बताउँछन् । बेगनास तालमा पर्यटक लक्षित पूर्वाधार एवम् गतिविधि बढ्दै जाँदा यसले यहाँको पर्यटनमा विशिष्ट योगदान पुग्ने उनीहरूको विश्वास छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।