खोटाङमा बुबाले आत्महत्या र आमाले अर्कैसँग विवाह गरेपछि आशिष र अङ्कुको बिचल्ली

केदार मगर/खोटाङ (रासस) : केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवा/गिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आशिषको घरमा आठ वर्षीया बहिनी अङ्कुमात्र छिन् ।

आमाले दोस्रो विवाह गरेर गएपछि लालनपालन गर्दै आएका बुबाले समेत आत्महत्या गरेपछि विश्वकर्मा दाजु/बहिनी आशिष र अङ्कु बिचल्लीमा परेका छन् । बुबा र आमा दुवै नभएपछि अभिभावकविहीन बनेका आशिष र अङ्कुको लालनपालन तथा शिक्षादीक्षाको व्यवस्थापनमा गम्भीर समस्या सिर्जना भएको छ । आमाले छाडेर अर्कैसँगै पोइल गएको केही समयपछि बुबा दीपेश विश्वकर्माले पनि २०७९ साल चैतमा आत्महत्या गरेको स्थानीयवासीले बताएका छन् । अङ्कु चन्द्रोदय आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत रहेकी छन् भने आशिष सोही विद्यालयको कक्षा ३ मा अध्ययन गर्दागर्दै ट्र्याक्टर पछ्याउन थालेका हुन् ।

बाबुआमा दुवै नभएपछि अभिभावकत्वको अभावमा अनाथ बनेका ती बालबालिका नियमित विद्यालय आउन छाडेको विद्यालय प्रशासनले जनाएको छ । बुबा बितेपछि केही समय बालाबेँसीमा रहेका काका लेखनाथ विश्वकर्माको घरमा आश्रय लिन पुगेका उनीहरू पुनः आफ्नै घरमा फर्किएको स्थानीय बासिन्दाले बताएका छन् । दीपेश वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेका समयमा श्रीमतीले दोस्रो विवाह गरेर हिँडेको जनाइएको छ । श्रीमतीले अर्कैसँग विवाह गरेर पोइल हिँडेपछि घर आएर कान्छी श्रीमती ल्याएका दीपेशले पुनः विदेश गएर घर फर्किएको वर्ष दिन नबित्दै आत्महत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

दुवैजना बुबाआमाविहीन बनेका विश्वकर्मा दाजु/बहिनीलाई व्यवस्थापन गर्न चुनौती रहेको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताउनुभयो । “वडामा सीमित बजेट हुन्छ । वडा कार्यालयका तर्फबाट केही सम्बोधन गर्न सकिने अवस्था छैन । फेदीमा उनीहरूजस्तै धेरै बालबालिका समस्यामा छन्”, उहाँले भन्नुभयो, “बुबाआमा दुवै भएका बालबालिकाका लागिसमेत उपयुक्त ठाउँमा विद्यालय नहुँदा पठनपाठनमा समस्या छ । उनीहरू (आशिष र अङ्कु)को हकमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

ज्यालादारीको कामसमेत गर्न नसक्ने आशिष र अङ्कु अहिले अरूले दिएको खाना तथा खाजाको भरमा दिन कटाउन बाध्य छन् । अरूको भरमा जीवन धान्दै आएका उनीहरू कतिपय समयमा भोकै रहनेको गरेको पाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।