चिया किसानलाई दिइएको प्राविधिक तालिम प्रभावकारी

फिक्कल, ७ असार (रासस) : राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामका किसानलाई दिइएको गुणस्तरीय चिया टिपाइसम्बन्धी तालिम प्रभावकारी देखिएको छ । दुई हजार सात सय ९० चिया किसानलाई गत मङ्सिरमा तालिम प्रदान गरिएको थियो ।

चिया टिपाइको मध्य मौसममा आएर उक्त तालिमको प्रभावकारिता महसुस गरिएको सूर्योदयका किसान रमेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “हामिलाई चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाइ, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा प्रयोगात्मक सीप सिकाइएको थियो ।”

परम्परागतरुपमा चियाको टिपाइ गर्दै आएका किसान प्राविधिक तालिम पाएपछि काममा सहजता भएको बताउँछन् । “विगत वर्षमा भन्दा यस वर्ष सहज तरिकाले चियाको काम गर्न सकिरहेका छौँ”, तालिममा सहभागी किसान रोहित सापकोटाले भन्नुभयो, “तालिमकै कारण चियाको गुणस्तर र उत्पादनमा समेत १० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ ।”

तालिम पाएपछि किसानलाई चिया टिप्न मात्र नभएर मलखादको व्यवस्था, गोडमेल, काँटछाँट जस्ता कामको शैलीमा परिवर्तन भएको छ । उनीहरुले अहिले प्राविधिक उपकरणको प्रयोगसमेत बढाएका छन् । चिया श्रमिकको प्रत्यक्ष अभाव भोग्दै आएका किसानले यही झन्झटबाट मुक्ति पाउन मेसिनको प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चरणबद्धरुपमा किसान लक्षित प्रयोगात्मक कार्यक्रम सञ्चालन गरिरहेको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि पनि चियाका लागि धेरै कार्यक्रम भए तर उद्योगसम्म पुगेका कारण चिया किसानले केही जानकारी नपाएको गुनासो आयो, गएको मङ्सिरमा भने किसानसँगै प्रत्यक्षरुपमा रहेर पूर्ण प्रयोगात्मक प्रशिक्षण गराएका थियौँ, किसानले व्यावहारिक ज्ञान र सीप एकैपटक सिक्नुभएछ खुसी लाग्यो ।”

पन्ध्रदेखि ३० जनाका ११ वटा समूह बनाएर प्रत्येक समूहमा दुई चिया प्राविधिकबाट तालिम सञ्चालन गरिएको थियो । तालिम जिल्लाका फिक्कल, मङ्गलबारे, इलाम, शान्तिडाँडा, जस्विरे, साँखेजुङलगायतमा फिल्डमा नै सञ्चालन गरिएको थियो । बोर्डले तालिका बनाएर जिल्लामा छरिएका सबै समूहमै पुगेर प्राविधिकमार्फत चियाको कटिङसहित मौसमअनुसारका काम सिकाउँदै आएको छ ।

चियालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाली चियाको गुणस्तर अभिवृद्धि गर्न, जैविक प्रमाणित भएको चिया निर्यात अभिवृद्धि गर्न, अर्थोडक्स चियाको निर्यात मूल्यवृद्धि गर्न, चिया उत्पादकको आम्दानीमा दिगो सुधार तथा चिया क्षेत्रमा लगानी वृद्धि र थप रोजगारी सिर्जना गर्ने मुख्य लक्ष्य रहेको निर्देशक भट्टराईले जानकारी दिनुभएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।