परम्परागत बाली छाडेर ओखर खेती

बलेवा, ११ असार (रासस) : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखर खेतीका लागि अनुदान दिएपछि यहाँका किसानले परम्परागत खेती छाडेर ओखर खेती सुरु गरेका छन् ।

जैमिनी नगरपालिका–३ को नौलाका गोपाल छन्त्यालले परम्परागतरुपमा मकै र कोदो लगाउँदा सोचेजस्तो फाइदा कमाउन नसकेको बताउनुभयो । उहाँले मकै र कोदो लगाए पनि राम्रो उत्पादन नहुँदा मेहनत मात्रै खेर गएको बताउनुभयो ।

स्थानीय प्रेमबहादुर छन्त्याल र खिमबहादुर छन्त्यालले पनि मकै र कोदो उत्पादनबाट फाइदा लिन नसकेपछि वैकल्पिक खेतीको जोहो गर्नुभएको थियो । उहाँहरुले केही बारीमा आलु लगाउनु भएको थियो भने धेरै बारी बाँझो बन्न थालेको थियो । गाउँबाट सहर जाने, बसाइँ सर्ने, गाउँमा गोरु नपाउने, गाईभैँसी पाल्नेको कमी हुँदा मल कम भएकाले उत्पादन घटेको उहाँहरुको भनाइ थियो ।

“दैनिक स्याहार गर्ने खेतीपाती लगाउन नसकेकाले विकल्प खोज्दा ओखर खेती भेटियो । केही वर्षअघि परीक्षणका रुपमा लगाइएको ओखरले राम्रो फल दिएपछि ओखर खेती गर्ने योजना बनाएको हो”, प्रेमबहादुरले भन्नुभयो, “मेरो बारीमा भएका दुई वटा बोटमा लटरम्म फलेको छ । व्यावसायिकरुपमा खेती गर्दा फाइदा हुने देखिएपछि अहिले बिरुवा ल्याएर रोपेका छौँ ।” उहाँका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिरुवामा अनुदानमा दिएपछि दाजुभाइ मिलेर ओखर लगाउनुभएको हो ।

यहाँका किसानले गठन गरेको ‘छन्त्याल कृषक समूह’मा आबद्ध भएका तीन भाईले एकसय रोपनी जमिनमा परियोजनाले उपलब्ध गराएको बिरुवा रोपेका छन् । एक हजार दुई सय बिरुवा रोप्नका लागि रू १७ लाख खर्च भएको परियोजनाले जनाएको छ । खर्चमध्ये परियोजनाले रू १० लाख अनुदान दिएको र बाँकी रकम तीन भाइले खर्च गरेका परियोजनाका प्रमुख सुजित पौडेलले बताउनुभयो । उहाँका अनुसार बिरुवा रोप्न परियोजनाले अनुदान दिएको छ भने खाडल खन्ने, मल, घेराबारको सुरक्षा, सरसफाइ र सिञ्चाइलगायत कामका लागि तीन भाइले रू सात लाख खर्च गरेका छन् ।

परियोजनाले कृषि फसलको ब्लक र जोन बनाएर ओखर उत्पादनलाई जोड दिएको पौडेलको भनाइ छ । “परम्परागत कृषिभन्दा फरक खेती गरेर धेरै उत्पादन आउने काममा हामीले साथ दिएका छौँ”, उहाँले भन्नुभयो, “सात वर्षसम्म ती ब्लक र जोनमा समूह र व्यक्तिगत फार्ममा साथ दिने परियोजनाको योजना छ ।” थप चार वर्ष प्राविधिक सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

जुम्लाबाट झिकाइएका ओखरका बिरुवा रोपेर अहिले नौलाको बाँझिएको खरबारी र बस्न छाडेको घरबारीसमेत हरियाली भइसकेको छ । ओखरका बिरुवा तीन वर्षमा फल्न सुरु गर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द शर्माले बताउनुभयो । “कलमी बिरुवा भएकाले यो वर्ष पनि एक÷दुई दाना लागेको थियो, तर टिपेर फालिदिनु भनेका थियौँ”, उहाँले भन्नुभयो, “तीन वर्षपछि मात्र फल राखियो भने गुणस्तरको फल्छ ।” छन्त्याल समूहमा आबद्ध धेरै किसान छन् ।

उहाँहरुमध्ये तीन जनाले ओखर खेती सुरु गर्नुभएको राखिएको शर्माले जानकारी दिनुभयो । “अरु किसानमध्ये केहीले बाख्रा पालनमा र केहीले आलु खेतीमा अनुदान पाएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार बाख्रामा परियोजनाले सहयोग गरेको छ भने आलुमा नगरपालिकाले लगानी गरेको हो ।

आलु खेतीका लागि नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिनुका साथै किसानको बीउ, बजारीकरणलगायत काममा नगरपालिकाबाट प्राविधिक सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ ।

हाल लगाएको ओखरका एक हजार दुई सय बिरुवामध्ये एक÷दुई वटा मात्र मरेको, सबै सरेर हरियाली बनिसकेकाले अरु बिरुवा पनि थप्ने योजना रहेको खिमबहादुर छन्त्यालले बताउनुभयो । नौला गाउँको माथिल्लो बस्तीको जमिन ओखर खेतीका लागि उपयुक्त रहेको कृषि प्राविधिकको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।