व्यावसायिक लिची उत्पादनमा कृषक

– जर्नादन घिमिरे
गुल्मी, १५ असार (रासस) : गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् ।

बारीका डिल र छेउछाउका बगैँचामा बोटैभरि राताराता दाना लिची लटरम्म फलेका देखिन्छन् । बोटमा पाकेका राता दानाले सिङ्गो गाउँ नै यतिबेला राताम्य देखिएको छ । कृषकलाई बोटमा भर्‍याङ ठड्याएर पाकेका लिचीका दाना टिप्न भ्याइनभ्याइ छ ।

आजभोलि थोर्गा गाउँमा पुग्ने व्यक्ति बगैँचा वरिपरि घुम्ने, तस्बिर खिच्ने र टिकटक बनाउनमा व्यस्त देखिन्छन् । लिची खेती गर्न थालेपछि आम्दानी मनग्य हुन थालेको र जीविकोपार्जनमा सहज भएको यहाँका किसान बताउँछन् ।

गाउँमा एक घरमा न्यूनतम दशदेखि एक सयसम्म लिचीका बोट रहेको स्थानीय सामाजिक अगुवा घनश्याम ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार यहाँका कृषकलाई जीविकोपार्जनका लागि लिची मुख्य आम्दानीको स्रोत बनेको छ ।

“व्यापारी लिची लिन कृषकको बारीमै पुग्छन् । यहाँको लिची गुलियो र स्वादिलो भएका कारण बजारमा थोर्गा र च्युरेकको लिची भनेपछि उपभोक्ताले पनि खोजी खोजी किन्ने गरेका छन्”, उहाँले भन्न्ुभयो । ज्ञवालीका अनुसार यहाँ उत्पादन गरिएका लिची गुल्मीको सदरमुकाम तम्घासदेखि रिडी, पाल्पा र बुटवलको बजारसम्म पुग्ने गर्दछ । यस क्षेत्रका एक सयभन्दा बढी कृषक व्यावसायिक लिची उत्पादनमा लागेका उहाँले जानकारी दिनुभयो ।

स्थानीय कमल ज्ञवाली, ओम ज्ञवाली, मोतीराज ज्ञवाली, परमानन्द ज्ञवाली, कृष्ण विक, युवराज ज्ञवाली लिचीका व्यावसायिक कृषक हुन् । कृषक कृष्ण विकले लिचीबाट सबैभन्दा बढी आम्दानी गरिरहनुभएको छ । उहाँले वार्षिक रू दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

विगत चार वर्षको तुलनामा यस पटक धेरै लिची फलेको स्थानीय परमानन्द ज्ञवालीले बताउनुभयो । “पछिल्लो समयमा लिचीमा समस्या देखिएको छ । बोटमा पात डल्लो पर्ने, दानाको भेट्नामा किरा लाग्ने, पाक्ने बेला दाना फुट्नेजस्ता समस्या देखिएको छ”, उहाँले भन्नुभयो । बाँदर र अरिङ्गालबाट लिची जोगाउन समस्या भइरहेको स्थानीय राधिका ज्ञवालीले बताउनुभयो ।

गाउँबाट लिची बिक्री वितरण गरी यहाँका किसानले वार्षिक रू एक करोड ५० लाखसम्म कारोबार गरिरहेका कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । व्यावसायिकरुपमा लिची उत्पादनलाई थप व्यवस्थित र आकर्षित गराउन केन्द्रले बगँैचाको व्यवस्थापनमा जोड दिएको उहाँले बताउनुभयो । आगामी वर्षदेखि ज्ञान केन्द्रले अभियानको रुपमा बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भण्डारीले जानकारी दिनुभयो ।

सन् १९९१ मा समाजसेवी स्व पण्डित डिल्लीराम ज्ञवालीले भारतको कलकत्ताबाट बोकेर ल्याएको लिचीको बोट लगाएर च्युरेकमा उहाँले लिची खेतीको सुरुआत गर्नुभएको थियो । उहाँकै प्रेरणाले सुरुमा खानको लागि बोट रोप्दै जाने क्रममा अहिले च्युरेक क्षेत्र सिङ्गो लिची गाउँमा परिणत भएको छ । बगैँचाबाट प्रतिकिलो रू ७० मा लिची बिक्री हुँदै आएको छ । बोटमा लिची हरिया छँदै व्यापारी घरघरमा पुगेर थोक मूल्यमा किनेर राख्ने गरेका किसान बताउँछन् ।

तत्कालीन अवस्थामा जिल्ला कृषि विकास कार्यालय गुल्मीले थोर्गाको च्युरेकमा लिची गाउँ घोषणा गरी लिची महोत्सवसमेत गरेको थियो । कार्यालयका तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत नरहरि शर्मा घिमिरेले पहिलोपटक गाउँमा लटरम्म फलेका लिचीका राता बोट देखेपछि उक्त गाउँलाई लिची गाउँ घोषणा गर्नुभएको थियो ।

कार्यालयले लिची गाउँ घोषणा गरेर व्यावसायिक लिची खेती गर्न सहयोग गरेपछि यहाँका कृषक लिची उत्पादनतर्फ थप आकर्षित बनेका हुन् । हाल जिल्लामा एक सय ७० हेक्टर क्षेत्रफलमा लिची उत्पादन गरिँदै आएकोमा यस वर्ष सात सय २० मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖