ककनीको पानी हङकङ र मकाउ निर्यात

काठमाडौँ, २३ असार (रासस) : ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गर्नुभएको हो ।

गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो ।

हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको उहाँले जानकारी दिनुभयो । “हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल रु ९० देखि रु एक सय पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ”, उहाँले भन्नुभयो । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय हुने कम्पनीको भनाइ छ ।

“कम्पनी हङकङ र मकाउमा पानी निर्यातका लागि स्वीकृत पाइसकेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको छ ।” उहाँका अनुसार तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना छ ।

सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ । अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उहाँले जानकारी दिनुभयो । यद्यपि माग बढेको अवस्थामा क्षमता विस्तार गर्नेसमेत योजना रहेको उहाँले सुनाउनुभयो । सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ ।

“हङकङ र मकाउपछि बङ्गलादेशमा पानी निर्यातका लागि प्रक्रिया निकै अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियमा पनि पानी निर्यातका लागि काम भइरहेको छ ।” कम्पनीले काठमाडौँको तारकेश्वर नगरपालिका–३ मा करिब रु १२ करोड लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ । कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुङ्गाना पुनकाजी महर्जन र राजु रिमाल हुनुहुन्छ । चार जना मिलेर सन् २०१७ देखि वेभ नेपाल प्रालि सञ्चालन गर्नुभएको थियो । यसअघि उहाँहरु छुट्टाछुट्टै प्रोसेस पानीको व्यापार गर्दै आउनुभएको थियो ।

कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ । पानी शुद्धीकरणमा ‘ह्युमन ह्याण्ड’ कतै पनि प्रयोग नहुने र प्रोसेस सकिएपछि प्रत्येक बोतल र जारमा भरिने पानीको ल्याबमा परीक्षणसमेत गरिने उहाँको भनाइ छ ।

“एक कन्टेनर पानी हङकङ निर्यातका लागि प्रतिकन्टेनर २८ सयदेखि तीन हजार डलर पर्ने अनुमान छ । बीस फिटको कन्टेनरमा ११ सय कार्टुन पानी अट्ने गर्छ । विदेशमा पानी निर्यात गर्दा तीन सय, पाँच सय र एक लिटरको बोतलमा हाल निर्यात भइरहेको छ”, उहाँले भननुभयो ।

कम्पनीको प्रयोग गर्ने पानीको स्रोत छ हजार छ सय ७० फिट उचाइमा रहेको ककनीमा पर्छ । स्प्रिङ वाटरको महत्व बुझाउन सक्ने हो भने भारतमा मात्रै पनि ठूलो परिमाणमा पानी निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको बुझाइ छ । कम्पनीले हाल निर्यात गरिरहेको पानी ट्राउट जातको माछापालनका लागि पनि योग्य मानिन्छ ।

उहाँका अनुसार नेपालमा बिक्री गर्ने पानीको तुलनामा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्छ । “हङकङ निर्यातका लागि सोहीअनुसारको बोतल आवश्यक पर्छ, जसले पानीको मूल्य बढी पर्छ”, उहाँले भन्नुभयो । कम्पनीमा हाल प्र्रत्यक्ष ३३ र अप्रत्यक्ष करिब पाँच सय जनालाई रोजगारी पाइरहेको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।