फष्टाउँदै केरा खेती

भजनी, २३ असार (रासस) : कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुआतमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउनुहुन्छ । यहाँ केराका लागि सुहाउँदो माटो भएका कारण हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केरा खेती गर्दैआउनुभएको छ । हमाल भन्नुहुन्छ, “त्यो बेला केराको व्यवसाय गर्ने म एक्लो थिए । अहिले धेरै किसान यसमा लागेका छन् ।”

हमालले केरा खेतीलाई पर्यटन व्यवसायसँग जोड्नुभयो । केराको मात्रै परिकार पाइने बनानाज रिसोर्ट निकै चर्चित छ । यहाँ उत्पादन भएको केराको चिप्स देशभर बिक्रीका लागि पठाइन्छ । उहाँ उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसक्नुभएको छ ।

टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढीमा केरा खेती हुँदै आएको तथ्याङ्क छ । बर्सेनी केरा खेती विस्तार हुँदै गएको केरा व्यवसायी टेकेन्द्र धामी बताउनुहुन्छ । “किसान केरा खेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या छैन, एकपटक खेती गर्दा तीन पटकसम्म आम्दानी लिन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “टीकापुरमै सहजै केराको बेर्ना उपलब्ध हुन्छ ।”

धामीले केराको बेर्ना टीकापुरमै उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले सात वर्षदेखि टिष्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर किसानलाई बिक्री गर्दै आउनुभएको हो । केही वर्ष पहिले भारतबाट बेर्ना मगाउनुहुने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर किसानलाई बिक्री गर्नुहुन्छ । गत वर्ष करिब दुई लाख केराको बिरुवा बिक्री गरेको उहाँले बताउनुभयो ।

केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन । टीकापुरमा उत्पादन भएको केरा कैलालीका अन्य ठाउँका साथै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ । व्यवसायी राजकुमार चौधरी व्यापारी बारीमै आएर केरा खरिद गर्ने गरेका बताउनुहुन्छ ।

केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानलाई सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरणहरु ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालू आर्थिक वर्षमा मात्रै केरा खेतीका लागि आयोजनाले रु ६० लाख विनियोजन गरेको बताउनुभयो । कार्यान्वयन इकाइले टीकापुरमा विषादीरहित केराको बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ । च्याम्बर पूर्णरुपमा सञ्चालनमा भने आउन सकेको छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।