भोजपुरको हतुवागढीमा पदमार्ग निर्माण गरिँदै

भोजपुर, ३ साउन (रासस) : भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो ।

रु एक करोड ३४ लाख लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत महेश निरौलाले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा यो पदमार्गको थप विकास तथा विस्तारको लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा रु एक करोड ५० लाख बजेट विनियोजन भएको उहाँको भनाइ छ ।

“गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पदमार्ग निर्माण गरिरहेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “हालसम्म करिब छ किलोमिटर निर्माण अन्तिम चरणमा रहेको छ । यसको थप विस्तार तथा विकासको लागि बजेट विनियोजन गरेका छौँ । यसलाई गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ ।”

पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । हतुवागढी भविष्यभक्ता पोखरीलाई आधार मानेर पदमार्ग निर्माण भइरहेको उहाँको भनाइ छ । दूधकोशी चुहारमा पक्की पुल बनेपछि धरान, इटहरी विराटनगरबाट ६५ किलोमिटर दूरीमा घोडेटार रहेकाले यहाँ आउने पर्यटकको आवगमन बढ्ने उहाँले जानकारी दिनुभयो । “यो पदमार्गलाई हामीले गाउँपालिकाको गौरवको आयोजनाभित्र राखेका छौँ”, उहाँले भन्नुभयो, “चुहारमा पक्की पुल बनेपछि यो क्षेत्र तराईका जिल्लाबाट ६५ किलोमिटर मात्र छ । भविष्यमा आन्तरिक तथा बाह्य पर्यटनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”

हरियालीसँगै फाटिला पहाडका चौरले पर्यटकको मन लोभ्याउने गरेको छ । दक्षिणी क्षेत्रबाट तराई जिल्लाबाट नजिक पर्ने भएकाले दूधकोशी नदीमा पक्की निर्माणपछि यहाँ पर्यटकको सङ्ख्या अझ बढ्ने गाउँपालिकाको भनाइ छ । यहाँ आउने पयर्टकलाई प्राकृतिक दृश्यको अवलोकन गर्दै एकदेखि दुई दिन पूर्णरुपमा बिताउन सक्ने गरी पदमार्गलाई विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो । किरात राजाहरुले शासन गरेको ऐतिहासिक क्षेत्रमा रहेको यो पदमार्गमार्फत यहाँको विकासमा थप टेवा पुग्ने उहाँको भनाइ छ । हतुवा क्षेत्रका सम्पूर्ण धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई समेट्ने गरी योजनाबद्ध विकासमा ध्यान दिएको अध्यक्ष राईको भनाइ छ ।

“हतुवागढी आफैँमा एक ऐतिहासिक क्षेत्र हो”, उहाँले भन्नुभयो, “यहाँको छुट्टै विशेषता छ । हामीले यो पदमार्गसँगै यहाँका ऐतिहासिक क्षेत्रको विकासमा ध्यान दिएका छौँ । यसलाई पर्यटकीय क्षेत्र बनाएर गाउँपालिकाको आर्थिक पक्षमा जोड्न लागि परेका छौँ ।” यो पदमार्गलाई एक ऐतिहासिक पदमार्गको रुपमा विस्तार गर्ने लक्ष्य लिइएको छ । घोडेटार बजार क्षेत्रबाट नजिक रहेको मदमार्गमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढेको छ । आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने अध्यक्ष राईको भनाइ छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको यो पदमार्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताउनुभयो । पदमार्गसँगै हतुवा क्षेत्रको ऐतिहासिक महत्वलाई विश्वभर चिनाएर पदमार्गलाई गाउँपालिकाको आर्थिक स्रोतको रुपमा स्थापित गराउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

हतुवागढीको सबैभन्दा अग्लो शङ्खामचुली डाँडा हुँदै पदमार्ग निर्माण भइरहेको यो पदमार्गबाट तराईका फाँटसँगै विभिन्न हिमशङ्खलासँगै सगरमाथा पनि देख्न सकिने स्थानीयको भनाइ छ । शङ्खामचुली डाँडाको उचाइ समुद्री सतहबाट एक हजार आठ सय ६५ मिटर उचाइमा रहेको छ । पदमार्ग निर्माणले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयवासी प्रकाश बस्नेतले बताउनुभयो । पदमार्ग निर्माणपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको उहाँको भनाइ छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।