गुगलले बनायो समाचार लेख्ने एआई टुल, अमेरिकाका प्रमुख मिडियामा परीक्षण
काठमाडौं । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित समाचार लेख्न सक्ने उपकरण बनाएको छ । गुगलले अमेरिकाका प्रमुख मिडियामा यो एआई टुलको परीक्षण गरिरहेको न्युर्योक टाइम्स्ले उल्लेख गरेको छ ।
गुगलले न्युर्योक टाइम्स, वासिङ्गटन पोस्ट र वाल स्ट्रिट जर्नलका कार्यकारीलाई यो एआई टुलको परीक्षण प्रस्ताव गरेको छ ।
गुगलले आन्तरिक रूपमा जेनेसिस नाम दिएको यस उपकरणले वर्तमान घटनाहरूको सूचना संकलन गरी समाचार सामग्री बनाउन सक्छ । यससँग जानकार तीन अधिकारीहरूलाई उद्धृत गर्दै टाइम्सले यो रिपोर्ट सार्वजनिक गरेको हो ।
यो एआई टुल पत्रकारका लागि एक प्रकारको व्यक्तिगत सहयोगीका रूपमा काम गर्न सक्ने बताइएको छ । प्रकाशन गृहहरूलाई जेनेरेटिभ एआईको कमजोरीबाट टाढा राख्न सक्ने भन्दै यो टुललाई कम्पनीले महत्त्वपूर्ण प्रविधिका रूपमा हेरेको छ ।
गुगलकी प्रवक्ता जेन क्राइडरले साना प्रकाशकका पत्रकारहरूलाई मद्दत गर्ने एआई उपकरणको विकास गर्ने प्रारम्भिक चरणमा कम्पनी रहेको बताएकी छन् ।
उनले भनेकी छन्, “यी उपकरणले पत्रकारहरूको तथ्य जाँच, रिपोर्टिङ र क्रिएटिभिटीलाई प्रतिस्थाप गर्न खोज्दैन र सक्दैन पनि । यसको सट्टा हेडलाइन र अन्य लेखन शैलीका लागि विकल्प प्रदान गर्छ ।”
न्युयोर्क टाइम्सबाट ।


