हतुवागढीमा महिनाको एक दिन श्रमदान

भोजपुर, १४ साउन (रासस) : यहाँको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित चार सय बढी बिरुवा रोपिएको छ । गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो ।

प्रत्येक महिनाको एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । यो निर्णयसँगै अब वडाहरूले पनि महिनामा एक दिन श्रमदानको कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ ।

“श्रमदान अभियान सञ्चालन गरेर यहाँको पर्यटकीय क्षेत्रमा चार सय बढी बिरुवा रोप्ने काम सम्पन्न गरेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ । अब महिनामा एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गछौँ ।”

अभियानको यहाँ निर्माण भइरहेको पदमार्गलाई लक्षित गरेर सुरुआत गरिएको उहाँको भनाइ छ । पैदलमार्गमा पर्यटकलाई आकर्षित गर्ने खालका बिरुवा रोपिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

“घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ पैदलमार्ग हाम्रो गौरवको योजनाका रूपमा रहेको छ”, उहाँले भन्नुभयो, “यसलाई यहाँको मुख्य पर्यटकीय पदमार्गका रूपमा स्थापित गर्ने लक्ष्य छ । पर्यटकलाई लक्षित गरेर विभिन्न जातका ‘अर्नामेन्ट प्लान्ट’ रोपेका छौँ ।”

पदमार्गलाई वडा नं ३ मा करिब १४ रोपनी क्षेत्रमा निर्माण भइरहेको दिमालुङ स्मारक उद्यान र त्यही नजिकै वडा नं २ मा रहेको करिब ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ उद्यानसम्म विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । दिमालुङ स्मारक उद्यान र दिमालुङ उद्यानलाई गाउँपालिकाको योजना र प्रदेश सरकार तथा गाउँपालिकाको रु दुई करोड १३ लाख लागतमा संरक्षण तथा विकास गरिएको अध्यक्ष राईको भनाइ छ ।

यो रकममध्ये रु ७५ लाख लागतले दिमालुङ उद्यानमा सिमेन्ट र तारजालीसहितको घेराबारा, शौचालय, गेट निर्माणलगायत संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । बाँकी रहेको रकमबाट दिमालुङ स्मारक उद्यान निर्माण गरिएको उहाँको भनाइ छ । यो स्मारक उद्यानलाई अझ विस्तार गर्नका लागि केन्द्र र प्रदेश सरकार तथा सम्बन्धित निकायसँग बजेट माग गर्ने गाउँपालिकाले जनाएको छ ।

“यहाँ निकै ठूलो क्षेत्रमा दिमालुङ स्मारक पार्क र दिमालुङ पार्क निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “उपलब्ध बजेटमध्ये दिमालुङ पार्कको संरक्षण तथा विकास गरेका छौँ । खास गरेर यहाँ पर्यटकलाई लक्षित गरेर बगैँचासँगै वनभोजस्थल निर्माण गर्ने लक्ष्य छ । निर्माणाधीन दिमालुङ स्मारक पार्कलाई अझ विकास तथा विस्तार गर्न सम्बन्धित निकायसँग बजेट माग गर्ने योजना छ ।”

श्रमदान अभियानमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सुनिता किराती, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णकुमार लिम्बू, सम्पूर्ण वडाका वडाध्यक्ष, टोल विकास संस्था, गाउँपालिकाका कर्मचारी, स्थानीयवासीलगायतले श्रमदान गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।