पर्यटन विकासको नाममा धरातल भुल्नु हुँदैन : मन्त्री किराती
फिक्कल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताउनुभएको छ । कोशी प्रदेशको पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको आव २०८०/८१ को बजेट सार्वजनिकीकरण कार्यक्रममा उहाँले पर्यटन प्रवर्द्धन गर्न निर्माण गरिने संरचनाले पूर्खाको झल्को दिनुपर्नेमा जोड दिनुभयो ।
“विदेशीको नक्कल गर्ने बानीले हामी बिग्रिरहेका छौँ”, उहाँले भन्नुभयो, “यहाँको प्रकृति आफैँमा सुन्दर छ । डाँडाडाँडामा भ्युटावर जरुरी छैन । श्रमबाट संरक्षण गरौँ, डोजरबाट होइन ।” नेपालको पर्यटन विकासले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार गरेर अगाडि बढ्नुपर्ने तर्क गर्नुभयो ।
सांसद महेश बस्नेतले इलाम जिल्लाको पर्यटन विकासका लागि थुप्रै कार्यक्रम गर्न आवश्यक भए पनि यस वर्ष बजेट विनियोजन नहुनु दुःखत रहेको बताउनुभयो । उहाँले सम्भावना नै सम्भावना भएको इलामको राजमार्ग अस्तव्यस्त अवस्थामा रहेको बताउँदै यसलाई व्यवस्थित गर्न आफूले जोड दिइरहँदा पनि बजेटको व्यवस्थापन हुन नसकेको जानकारी गराउनुभयो ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले नगरको विकासका लागि कति पनि कञ्जु्याइ नगरी काम गरिरहेको बताउनुभयो । उहाँले हरेक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यस आवका लागि लम्पी स्किनले किसानका गाईवस्तुमा पुर्याएको क्षतिपूर्तिका लागिसमेत बजेट विनियोजन गरेको बताउनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा साहित्यकार, पत्रकार, किसान उद्यमी, जग्गादाता, कर्मचारी, उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, विद्यार्थी, उपभोक्ता समिति, टोललगायतका क्षेत्रमा काम गरेका २६ जनालाई सम्मान गरियो । सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि रु एक अर्ब २६ करोड २६ लाख ७९ हजार बजेट विनियोजन गरेको छ ।


