पेट्रोल र डिजेलको मूल्य १० रुपैयाँसम्म बढ्ने

काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लागेको हो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ ।

नेपाल आयल निगमललाई मंगलबार भारतीय आयल निगमबाट प्राप्त १५ दिनको मूल्य अनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ७ रुपैयाँले बढेर प्राप्त भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा साढे ८ रुपैयाँले बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

उनकाअनुसार असार ३१ गतेबाट लागू भएको स्वचालित मूल्य प्रणालीअनुसार नै मंगलबार नै इन्धनको मूल्य समायोजन हुनेछ । निगमको परल मूल्यमा सो मूल्यमा भ्याट हिसाब गरेर पेट्रोल र डिजेल तथा मट्टीतेलमा निगमले स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार नै मूल्य तोक्ने तयारी गरेको उनले बताए ।

जसअनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँ हाराहारीले महँगो हुनेछ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले डिजेल पेट्रोलमा लिटरमा २ प्रतिशत मात्रै नाफा राखेर मूल्य तोक्न पाउँछ । यस्तै, खाना पकाउने ग्याँसमा भने नाफा नराख्ने कार्यविधि छ ।

जसअनुसार घटेर आएको प्रति सिलिण्डर एक सय रुपैयाँ मूल्य नै घटाएर मंगलबार मूल्य समायोजन गरिने ठाकुरले बताए । हवाई इन्धनमा भने स्वचालित मूल्य प्रणाली लागू हुने छैन ।

गोप्यता नराख्दा चुहियो मूल्य सूची

३१ असारमा आयल निगमले स्वालित मूल्य प्रणाली लागू गर्‍यो । स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार डिजेल, पेट्रोल र मट्टीतेलमा भारतबाट घटेर वा बढेर आएको मूल्यमा कर थपेर निगमले २ प्रतिशत मात्रै नाफा राखेर नयाँ मूल्य तोक्न पाउँछ ।

जसका कारण इन्धनको भारतबाट खरिद मूल्य अग्रिम चुहियो भने बजारमा इन्धनको मूल्य घट्ने वा बढ्ने पहिल्यै जानकारी पुग्छ । तर, प्रणाली कार्यान्वयन घोषणा भएको पहिलो पटकै निगमले इन्धनको परल मूल्यमा गोप्यता अपनाउन नसक्दा बजारमा इन्धनको मूल्य पहिल्यै अनुमान गर्न सक्ने अवस्थामा पुगेको छ । निगमले स्वाचालित प्रणालीअनुसार मूल्य तोकिसकेको छैन तर व्यवसायी र ग्राहकमा इन्धनको मूल्य लिटरमा कति बढ्छ वा घट्छ भन्ने यकिन भने पहिल्यै भइसकेको छ जसले इन्धन बिक्रीको आपूर्ति श्रृङ्‍खलालाई नै असर गर्ने छ ।

निगमका प्रवक्ता मनोज ठाकुर इन्धनको परल मूल्य निगममा मात्रै निर्भर नरहेका कारण यस्तो अवस्था आएको बताउँछन् । ‘भारतबाट घटेर वा बढेर आउने इन्धनको मूल्य हामीलाई भन्दा पहिले इन्धन ढुवानी गर्ने चालकलाई थाहा हुन्छ,’ प्रवक्ता ठाकुर भन्छन्, ‘भारतको डिपोबाट इन्धनको बिलमै मूल्य हुने हुँदा यो सूचना निगमले गोप्य खोज्दा पनि राख्न सकिने अवस्था छैन् ।’
स्वचालित मूल्य प्रणाली लागू भएपछि इन्धनको परल मूल्यमा गोपनियता राख्नु पर्ला नि भन्ने प्रश्नमा उनले भने, ‘यो निगमको मात्रै बसमा छैन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।